७६ जिल्लामा फैलियो डेंगुको संक्रमण : संक्रमितको संख्या २५ हजार नाघ्यो

काठमाडौं । सरकारको उदासीनताका कारण डेंगुको संक्रमणले देशव्यापी रूपमा महामारीको रूप लिँदै गएको छ । नियन्त्रण तथा रोकथाम कार्य प्रभावकारी रूपमा अगाडि नबढाइएका कारण डेंगु संक्रमण देशका ७७ मध्ये ७६ जिल्लामा फैलिसकेको छ । देशभर डेंगु संक्रमितको संख्या २५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर २५ हजार ५ सय ४३ जना डेंगुका बिरामी भेटिएका छन् । डेंगुका कारण हालसम्म देशभर ३२ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार, डेंगुको सबैभन्दा बढी बिरामी बागमति प्रदेशमा भेटिएका छन् । त्यसमध्ये पनि देशको संघीय राजधानी काठमाडौंमा डेंगुको सबैभन्दा बढी संक्रमित देखिएका छन् ।

काठमाडौंमा हालसम्म ८ हजार ८ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा ६ हजार २ सय १८ जना र भक्तपुरमा ८ सय ८१ गरी उपत्यकामा कुल डेंगु संक्रमितको संख्या १५ हजार नाघेको छ ।

डेंगुको संक्रमण तीव्र रूपमा फैलँदै गएपछि उपत्यकाका अस्पतालहरूमा उपचार गराउन आउनेहरूको भिड बढेको छ । डेंगुका बिरामीको बढ्दो चापका कारण उपत्यकाका कुनै सरकारी अस्पतालमा बेड (शय्या) पाउनसमेत नसकिने अवस्था छ ।

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै २ हजार २ सय ७५ जनामा संक्रमण देखिएको छ । यसैगरी धादिङ, चितवन, दाङ, रूपन्देही, गुल्मी, कैलाली र दार्चुलामा पनि संक्रमितको संख्या दुई सयभन्दा बढी रहेको छ ।

अन्य जिल्लामा भने संक्रमितको संख्या दुई सयभन्दा कम रहेको महाशाखाको तथ्यांकले देखाएको छ । नेपालमा डेंगु संक्रमण नियन्त्रणबाहिर गइसकेकाले सरकार संवेदनशील बन्नुपर्ने विज्ञहरू बताउँछन् । विज्ञहरूका अनुसार, डेंगु नियन्त्रणमा अबको विकल्प भनेको लामखुट्टे निर्मुल अभियान नै हो ।

डेंगु नियन्त्रणमा सरकार उदासीन देखिएको आरोप सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका नेताहरूले नै लगाउँदै आएका छन् । कांग्रेसका महामन्त्री गगन थापा र नेता प्रकाशमान सिंहले पनि डेंगु नियन्त्रणका लागि तत्काल आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा मात्र डेंगुका १ हजार ५१ जना संक्रमित थपिएका छन् । डेंगु संक्रमितको संख्या बढिरहेकाले आवश्यक सतर्कता अपनाउन पनि मन्त्रालयले आग्रह गरेको छ । एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगुको बिरामी नेपालमा पहिलोपटक ०६१ सालमा भेटिएको थियो ।

प्रतिक्रिया