कांग्रेसभित्रको कचिंगलले गठबन्धनलाई खतरा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसमा शेरबहादुर देउवा पक्ष दोहोरो घुर्की, धम्कीको मारमा परेको छ । एकातिर गठबन्धन आवद्ध दल र अर्कोतिर आफ्नै पार्टीको इतर समुहको दवाव । पार्टीमा देउवाको बहुमत भएकाले निर्णय लिन उनलाई कठिनाई त छैन, तर यो पार्टीको आन्तरिक कुरा मात्र होइन आम निर्वाचन हो । निर्वाचनमा एक÷एक भोटको महत्व हुन्छ । यस्तोमा पार्टीभित्रको एकता कायम हुन सकेन भने अपेक्षित परिणाम नआउने मात्र हैन गठबन्धनका अन्य दलका कार्यकर्तामा संशय पैदा हुन्छ । यस्तो परिस्थितिमा भूईँको टिप्न खोज्दा पोल्टाको खस्छ । शनिबार काँग्रेसका प्रभावशाली युवा नेता गुरुराज घिमिरेले यस्तै संकेत गरेका छन् ।

देउवा पक्षलाई दवाव दिने उदेश्यले शनिबार शेखर कोइराला समूहकोे बानेश्वरको भेलाले यस्तै संकेत गरेको छ । भेलामा नेता घिमिरेले भने – म हाम्रो सभापतिलाई मात्र होइन प्रचण्डजी र माधव नेपालजीहरुलाई पनि भन्न चाहन्छु हामी आक्रोशको चरणमा छौँ,यसपछि विद्रोह हुनसक्छ ।

बालुवाटारमा बसेर हिसाब मिलाउँदैमा,सन्देश पठाउँदैमा,घण्टौँ बैठक गर्दैमा मागे जति सीट पाइँदैन र पाएजति सीट जितिँदैन । कांग्रेसभित्रको आन्तरिक आयाम नमिलेसम्म टाउको जोडेर जित्ने सोचेको भए होस पु¥याउनुस् । कांग्रेसको भोटबाट जित्ने सपना देख्नुभएको छ भने त्यो सम्भव छैन । घिमिरेले राजाविरुद्ध छाती खोलेर गणतन्त्रको शंखघोष गर्ने आफूहरु रहेको भन्दै प्रचण्डले जस्तो जंगलबाट चौकी नहानेको बताए । उनले आफूहरूले एक आवाज दिँदा हजारौं विद्रोहमा उत्रिने भन्दै पार्टी सभापतिको मनपरी नचल्ने चेतावनी दिए ।

अर्का नेता भरत खडकाले त गुरुराज घिमिरेभन्दा अझ कडारूपमा प्रस्तुत हुँदै भने ‘यहाँभित्र न्याय हुँदैन । त्यो पर्खाइमा जाने हो भने ढिला हुन्छ । ढिलाइ गरे पार्टी विघटनतर्फ पनि जान सक्छ,’ उनले भने,‘त्यसैले हामीले ७७ जिल्लामै उम्मेदवारी दिने निर्णय गर्नुपर्छ ।’ अहिले पार्टीको टिकट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको हातमा रहेको भनेर नेता खड्काले कटाक्ष गरे ।

‘मेरो टिकट बाँड्ने प्रचण्ड जी वाह । हाम्रो टिकट प्रचण्ड जी बाँड्नुहुन्छ, माधवजी बाँड्नुहुन्छ । हाम्रो टिकट त पार्टी सभापति शेरबहादुर देउवाजीले बाँड्ने हो नि,’ उनले भने । हुन त शेखर पक्षको यो भेलामा सोही समूहका नेताहरूकोसमेत उपस्थिति थिएन । टिकट लगभग पक्का हुने र कार्यदलमा रहेकाहरूको उपस्थिति नरहे पनि उनीहरूसँगसमेत सल्लाह गरेर भेला बोलाइएको बताइएको बताइएको थियो ।
भेलामा उपस्थित नेताहरुले निर्वाचन आयोगमा पेश भएको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सच्याउन र प्रत्यक्षतर्फ शेखर समूहलाई ४० प्रतिशत भाग दिन माग गरेको छ ।

प्रतिक्रिया