एक बसाइमा सकिने ‘अमेरिकामा ९० दिन’

यशोदा अधिकारी

० अमेरिकी साम्राज्यवादको आर्थिक एकीकरणको शिकार हाम्रोजस्तो मुलुकका ती युवाले भोगिरहेका हुन्छन् जो भिसाका लागि अमेरिकी दूतावासलाई महँगो शुल्क तिर्न बाध्य छन्

कविता विधामा राम्रो दख्खल राख्दै आएका कवि राम विनय नेपाली साहित्यमा कथा र नियात्रा लेखनमा पनि उत्तिकै सफल नाम हो । आफ्नो व्यक्तिगत यात्रालाई संग्रहित गरेर पाठकलाई समेत अनुभव साट्न पोख्न नियात्राकार राम विनयले अमेरिका यात्राका तरङ्गलाई पुस्तकका रुपमा प्रकाशन गरेका छन् । त्यसो त यो उनको पहिलो नियात्रा कृति भने होइन । नियात्रा, कथा र कवितामा उनका थुप्रै कृतिहरु प्रकाशित छन् ।

भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको ‘अमेरिकामा ९० दिन’ शीर्षक रहेको पुस्तकमा नियात्राकारले अमेरिका जाने प्रक्रियादेखि त्यहाँ पुग्दा, रहँदा र नेपाल फर्कदासम्मका अनुभूतिलाई कलात्मक रुपमा शब्दमालामा उनेका छन् ।

अमेरिका आमनेपालीको सपनाको देश बनाइएको छ । नेपालको सामाजिक, आर्थिक, शैक्षिक र राजनीतिक अवस्थाले स्कुलको पढाइ सक्ना साथै पढाइका नाममा विदेशिने सपना देख्नेहरुको पहिलो नम्बरको गन्तव्य हो अमेरिका । यतिसम्म कि अध्ययनका नाममा आफ्ना छोराछोरी विदेश पठाउन पाए आर्थिक सहायता हुने, सन्तानको भविष्य उज्ज्वल हुने र आफूहरुसमेत जान पाउने आशामा अभिभावक पनि छोराछोरीलाई बाहिर पठाउन चाहन्छन् ।

अध्ययन त बहाना मात्रै बनेको छ । तर सोचेजस्तै सजिलो कहाँ हुन्छ र ? अमेरिकी साम्राज्यवादको आर्थिक एकीकरणको शिकार हाम्रोजस्तो मुलुकका ती युवाले भोगिरहेका हुन्छन् जो भिसाका लागि अमेरिकी दूतावासलाई महँगो शुल्क तिर्न बाध्य छन् । शुल्क तिरेर पनि एक पटक, दुई पटक तीन पटक …… सात पटकमा भिसा पाउन सकिने अवस्था छैन । पटपटक भिसा शुल्क तिर्नुपर्दा पनि युवाहरु अमेरिकी दूतावासमा अन्तर्वार्ता दिन धाइरहन्छन् । कारण सपनाको देश पुग्ने तिनका लक्ष्य पूरा जसरी नि हुनैपर्छ । त्यही दृश्यलाई नियात्राकारले प्रस्थानको पहिलो दिन शीर्षकमा शब्दका माध्यमबाट बाहिर ल्याएका छन् ।

० ऊ सायद अब नेपाल बस्दैन । तर, हजुरबा हजुरआमालाई उसले विश्वमानचित्र पल्टाएर नेपाल पत्ता लगाएर देखाउन सक्छ । आफ्नो देश नेपाल हो भन्ने पनि उसलाई थाहा छ । तर नेपाली राम्रोसँग बुझ्न सक्दैन । नेपाली नबुझेकै कारण हजुरआमासँग नातिले राम्रोसँग बोल्न पनि पाइरहेको छैन

अन्तर्राष्ट्रिय विमानस्थलको चेकजाँच प्रक्रियालाई उनले लेखनमा उठाएका छन् । जीवन साथीसँगै यात्रा गरिरहँदा विगत स्मरण गराउने पलहरु पनि लेखनमा भेटिन्छन् ।

सानामा छोरालाई आफूहरुले घुमाएका पल यात्रामा स्मरण मात्रै भएका छैनन् संवादमा पनि जोडिएको छ । हिजो छोरालाई वनपाखा घुमाउँदाका पल आज छोराले लेखक दम्पतिलाई अमेरिका घुम्न बोलाउँदा विस्मृतिमा आएर छताछुल्ल हुनु स्वभाविक पनि हो । हामी अमेरिका लगायतका शक्तिशाली मुलुकसँग हवाइमार्गबाट सिधैं जोडिन सकेका छैनौं । विभिन्न देशमा ट्रान्जिट हुँदै जानुपर्ने अवस्था छँदैछ । नेपालबाट बैकक हुँदै कोरिया पुगेर अमेरिका पुगेका लेखकले त्यसबीचको यात्रानुभव राम्रोसँग प्रस्तुत गरेका छन् ।

जहाजमा रहँदा सँगै यात्रा गर्ने यात्रुहरुको मनोभावलाई समेत लेखनमा समेट्न सक्नु लेखकको सफलता हो । पढेको सुनेको प्रशान्त महासागर पार गरेर अमेरिका अवतरण गर्दाको समय होस् वा अमेरिका पुगेर छोरा नातीसँग बिताएको पहिलो पललाई लेखनमा उतारिएको छ । यहाँसम्म कि प्रत्येक लेखनमा लेखकले आफ्ना दृष्टिकोणसमेत उत्कृष्ट भाषाशैलीमा प्रस्तुत गरेको पाइन्छ ।

विवशता र बाध्यताले जन्मेको ६ महिनामै अमेरिका पुगेको नाति नेपाली हुन खोजिरहेको छ । ऊ सायद अब नेपाल बस्दैन । तर, हजुरबा हजुरआमालाई उसले विश्वमानचित्र पल्टाएर नेपाल पत्ता लगाएर देखाउन सक्छ । आफ्नो देश नेपाल हो भन्ने पनि उसलाई थाहा छ । तर नेपाली राम्रोसँग बुझ्न सक्दैन । नेपाली नबुझेकै कारण हजुरआमासँग नातिले राम्रोसँग बोल्न पनि पाइरहेको छैन । सामान्य बोलचाल गर्न लेखकले दोभासेको काम गर्नैपर्छ । यसरी नै विस्तारै धेरै नातिहरु नेपाली बुझ्न छोड्छन् । नेपाल चिन्न छोड्छन् । अन्त्यमा नेपाली हुनै छोड्छन् । यो वर्तमानमा देखिएको सत्यलाई नियात्राकारले मज्जाले प्रस्तुत गरेका छन् ।

० हामी अमेरिका लगायतका शक्तिशाली मुलुकसँग हवाइमार्गबाट सिधैं जोडिन सकेका छैनौं । विभिन्न देशमा ट्रान्जिट हुँदै जानुपर्ने अवस्था छँदैछ । नेपालबाट बैकक हुँदै कोरिया पुगेर अमेरिका पुगेका लेखकले त्यसबीचको यात्रानुभव राम्रोसँग प्रस्तुत गरेका छन् । जहाजमा रहँदा सँगै यात्रा गर्ने यात्रुहरुको मनोभावलाई समेत लेखनमा समेट्न सक्नु लेखकको सफलता हो

अमेरिकाका विभिन्न ठाउँमा घुमेर देखेका दृश्यलाई पनि शब्दमा सरल रुपमा लेखेर लेखकले अमेरिका नपुगेकालाई अमेरिका यात्रा गराएका छन् । सँगसँगै पाठकलाई लेखकले एटलान्टा, सिएनएन, कोकाकोला केन्द्र, ओलम्पिक पार्कसम्म पु्¥याएका छन् ।

अमेरिका जाँदा, त्यहाँ रहदा छोराबुहारी र नातिसँग बिताएका मायावी पल, घुमेका विभिन्न ठाउँ र नेपाल फर्कदासम्मको अवधि नियात्रामा अनुभव गर्न सकिन्छ । नियात्राकारले जाँदा र आउँदाको अवधिलाई जसरी लेखनमा समय खर्चिएका छन्, त्यहाँ रहँदाको अवधिलाई थोरै स्थान दिएको देखिन्छ ।

प्राविधिक कारण पनि हुन सक्छ कतैकतै भाषिक अस्पष्टता र वाक्य गठनमा त्रुटिहरु पाइए पनि अमेरिकामा ९० दिन नियात्रा कृतिले प्रत्येक पाठकलाई नेपालस्थित अमेरिकी दूतावास पुर्याउँछ, जहाज चढाएर बैंकक र कोरिया हुँदै अमेरिका पुर्याउँछ र त्यहाँका महत्वपूर्ण ठाउँको रोमान्टिक यात्रा गराएर आफ्नै मुलुक फर्काउँछ । नियात्राकार राम विनयको यो नियात्रा कृति नेपाली साहित्यको नियात्रा विधामा महत्वपूर्ण कृतिका रुपमा दर्ज हुन सफल भएको छ ।

कृति : अमेरिकामा ९० दिन

लेखक : राम बिनय

प्रकाशक : भुँडीपुराण प्रकाशन

पृष्ठ : ७८
मूल्य : रु. १८०

प्रतिक्रिया