भैँसीलाई पोषण भत्ता किसानलाई प्रोत्साहन

रुकुम पूर्व । सिस्ने गाउँपालिकाले भैँसीपालन गर्दै आएका ४० कृषकलाई भत्ता वितरण गरेको छ । पछिल्लो समय गाउँपालिकामा भैँसीपालन गर्ने कृषकहरू घट्दै जाँदा उत्पन्न भइरहेको समस्यालाई रोक्न भत्ता वितरण सुरु गरिएको हो । भैँसीपालन गर्दै आएका किसान मध्ये सुत्केरी भैँसी भएका किसानलाई प्रोत्साहन स्वरूप भत्ता वितरण कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताए ।

जिल्लामै पहिलोपटक सुत्केरी भैँसी भत्ता वितरणको थालनी गरेको उनले बताए । किसानले सुत्केरी भएका भैँसीलाई पर्याप्त पौष्टिक दाना खुवाउन सकुन् भन्ने उद्देश्यले भत्ता दिन थालिएको छ । गाउँपालिकाका किसानले प्रतिभैँसी सुत्केरी भत्ता बापत २ हजार ५ सय नगद पाउँदै आएका छन । उनले भने, ‘अहिलेसम्म ४० सुत्केरी भैँसीपालक किसानलाई भत्ता वितरण गरिसकेका छौँ ।’
सुत्केरी भैँसीलाई आवश्यक पर्ने पौष्टिक आहार किन्न सहयोग होस् भनेर किसानलाई भत्ता दिइरहेको गाउँपालिकाका पशु शाखा प्रमुख भीम झाक्रीले जानकारी दिए । ‘भत्ता वितरण गर्न कार्यविधि बनाएका छौँ’, उनले भने, ‘त्यसैमा टेकेर वितरण भइरहेको छ ।’
भत्ता पाउन कृषकले वडामा दिएका निवेदन र अन्य कागजात माथि जाँचबुझ गरी वितरण गर्ने गरिएको उनले सुनाए । सुत्केरीमा पोसिलो खानेकुरा खुवाउँदा लामो समयसम्म धेरै दूध दिने र दूध उत्पादनमा पनि वृद्धि हुने हँुदा किसानलाई प्रोत्साहन र भैँसीलाई पोषण स्वरूप भत्ता वितरण सुरु गरिएको हो ।

गाउँपालिका भित्रका ८ वडा मध्ये अहिलेसम्म ५ वडाका किसानलाई भत्ता वितरण गरिएको छ । जसमा सबैभन्दा बढी ५ नम्बर वडाका १९ किसानले भत्ता पाएका पशु प्राविधिक मीना शाहले जानकारी दिइन् । उनका अनुसार ३ नम्बर वडाका एक, ६ नम्बर वडाका चार, ७ नम्बर वडाका पाँच र ८ नम्बर वडाका ११ किसानले भत्ता बुझेका छन् । मापदण्डअनुसार निवेदन आएमा अन्य वडाका कृषकलाई पनि भत्ता उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।
भत्ता पाउन व्यक्तिगत निवदेनको साथमा कृषकको नागरिकता, सुत्केरी भैँसीको रंगिन फोटो, सम्बन्धित वडाको सिफारिस र सुत्केरी भैँसीका लागि खरिद गरेको दानालाई अनिवार्य गरिएको छ । यस कार्यक्रमले भैँसी पाल्ने कृषकको संख्यामा वृद्धि हुने अपेक्षा गाउँपालिकाले राखेको छ ।

प्रतिक्रिया