पूर्वप्रहरीको राजनीति मोह !

काठमाडौं । ‘इन्सपेक्टर हुँदादेखि उहाँको विचारलाई पछ्याएँ, ओली कामरेडको शीतल छहारी पाउने विश्वास छ’, नेकपा एमाले प्रवेश गर्ने क्रममा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राखेको मन्तव्यको छोटो अंश हो यो । लामो समय प्रहरी जीवन बिताएका र नेतृत्व तहमा समेत रहिसकेका खनालको यो भनाइ अर्थपूर्ण छ ।

प्रहरीबाट सेवा निवृत्त हुनासाथ एमाले पछ्याएका खनालले पार्टीभित्र आफ्नो हैसियत नखुल्दै व्यक्त गरेको यो अभिव्यक्तिले प्रहरीभित्र राष्ट्रिय भाव कि राजनीतिक संरक्षण भन्ने प्रश्न उब्जाएको छ । त्यसो त खनाल मात्रै पूर्वप्रहरी होइनन्, सेवा निवृत्त भएपछि राजनीतिकमा प्रवेश गर्ने ।

खनाललाई प्रहरी महानिरीक्षकमा नियुक्ती दिएपछि असन्तुष्ट बनेर राजीनामा दिएका तत्कालीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले त नयाँ पार्टी नै दर्ता गरेका छन् । उनको पार्टीको नाम हो, नेपाल सुशासन पार्टी । गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा उनको पार्टीले पर्सामा एक गाउँपालिकाको अध्यक्ष पनि जित्यो । उनी आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट लड्ने तयारीमा छन् ।

खनाल र खरेलले लामो समय प्रहरी सेवामा जीवन अर्पण गरे । दुवै एक अर्काको खरो विरोधी पात्रको रूपमा चर्चित छन् । खरेल अहिले भएका राजनीतिक दलले देशमा सुशासन नआउने जिकिर गर्छन् । तर, खनाल राजनीतिक दलबाटै सुशासन कायम हुनेमा विश्वस्त हुँदै एमाले प्रवेश गरेका छन् ।

राजनीतिक दलमा प्रवेश गरेर प्रत्यक्ष निर्वाचनबाटै सांसद बने, नेपाल प्रहरीका पूर्वडीआइजी नवराज सिलवाल पनि । ०७४ साल असोजमा एमाले प्रवेश गरेका सिलवालले सोही वर्ष भएको निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

तर, सिलवालले सोचेजस्तो राजनीति भएन । ओलीको प्रधानमन्त्रीकालमा गृहमन्त्री वा गृह राज्यमन्त्रीसम्म पाउने आशामा थिए, सिलवाल । उनको त्यो सपना भने पूरा हुन सकेन । फेरि पनि सिलवाल पुरानै निर्वाचन क्षेत्रबाट टिकट पाउनुपर्ने अडानमा छन् । प्रहरीमा हुँदै सिलवालले ‘मिटरब्याजी’ को गम्भीर आरोपसमेत खेप्नुपरेको थियो ।

प्रहरी नेतृत्वमा पुगेर राजनीतिमा प्रवेश गर्ने अग्रपंक्तिमा धु्रवबहादुर प्रधानको पनि नाम पनि आउँछ । उनी राप्रपा प्रवेश गरेर केन्द्रीय उपाध्यक्ष बने । तर, प्रधानले पदीय लाभ भने अहिलेसम्म पाएनन् । संसद्भित्र उनको अहिलेसम्म पाइला परेको छैन । प्रधानले आगामी निर्वाचनमा जसरी पनि सांसद बन्ने रणनीति अख्तियार गरेका छन् ।

प्रहरीका पुराना नेतृत्वले राजनीति छवीलाई पछ्याइरहेको अभिलेख छ । पूर्वप्रहरी महानिरीक्षक मोतिलाल बोहोरा नेपाली कांग्रेसका पुराना नेतामा चिनिन्छन् । अछामबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका बोहोरा संसदीय खेलमा भने छैनन् ।

तर, उनको कांग्रेससँगको नाता पुरानो हो । ०४९ सालमा तत्कालीन गृहमन्त्री शेरबहादुर देउवाले प्रहरी नेतृत्वबाट रत्नशमशेर जबरालाई हटाउँदै मोतीलाल बोहोरालाई आइजिपी बनाएका थिए । जबरालाई हटाउन त्यसबेला देउवाले प्रहरी नियमावली नै संशोधन गर्दै ३० वर्षे सेवा अवधि लागू गराएका थिए । यो गुन तिर्न बोहोरा प्रहरी सेवाबाट अवकाश पाएलगत्तै कांग्रेसमा प्रवेश गरेका थिए ।

पूर्वडिआइजी भक्तिनाथ माझी नेपाली कांग्रेसमा अहिले पनि सक्रिय राजनीतिमा छन् । प्रहरी सेवामा हुँदै विजयकुमार गच्छदारसँग निकट रहेका माझी अवकाशपछि पनि गच्छदारकै फेरो समाउँदै राजनीतिमा होमिएका छन् । गच्छदारले मधेस केन्द्रित पार्टी खोल्दा उतै प्रवेश गरेका माझी पछि पार्टी कांग्रेसमा मिसिएपछि कांग्रेसमै छन् ।

गएको स्थानीय तहको चुनावमा मेयरमा लड्न नेपाल प्रहरीका एसएसपी गोविन्द साहले बीचमै जागिर छाडेका थिए । नेपाली कांग्रेसबाट धनुषाको विदेह नगरपालिकामा मेयरको टिकट आकांक्षी साहले टिकट नै पाएनन् । पार्टी नेतृत्वले आफूलाई ढाँटेको भन्दै साह अहिले सक्रिय राजनीतिमा छैनन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि भएको दोस्रो संविधानसभाको चुनावमा पूर्वप्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाह माओवादीबाटै समानुपातिक सांसद बने । उनी माओवादी प्रवेश गर्दा धेरैमा अनुत्तरित प्रश्न थियो । तर, शाहले माओवादीमा छिरेर प्रहरीका लागि केही गर्ने अठोट लिएका थिए । उनकै पहलकदमीमा संविधानमा प्रहरीसम्बन्धी व्यवस्थामा नयाँ बुँदा थपियो ।

खुला राजनीतिमा नआएका तर, पार्टी बाहिर बसेर सहयोग गर्ने थुप्रै सुरक्षा अधिकारीहरू अहिले कमल थापा नेतृत्वको राप्रपादेखि कांग्रेस, एमाले र माओवादीभित्र पनि छन् । जो खुला रूपमा भने राजनीतिमा सक्रिय छैनन् ।

पूर्व सुरक्षा अधिकारी राजनीतिमा लाग्नु आफैँमा खराब नभएको तर, राजनीतिमा होमिनुको पछाडि उनीहरूको नियत के हो भन्ने कुरा शंकाको घेरामा रहने विज्ञहरू बताउँछन् । सुरक्षा विज्ञ एवं नेपाल प्रहरीका पूर्वएआइजी राजेन्द्रसिंह भण्डारी प्रहरी सेवामा निवृत्तपछिको जीवनलाई आफूखुसी ढंगले प्रयोग गर्नुलाई अन्यथा लिन नहुने बताउँछन् ।

उनी भन्छन्, ‘आफ्नो जीवनलाई कसरी व्यतित गर्ने भन्ने कुरा सम्बन्धित व्यक्तिको अधिकार र स्वतन्त्रताको कुरा हो । तर, राजनीतिमा आउनुको पछाडि उसको नियत र स्वार्थ के हो भन्ने कुरा मुख्य र गम्भीर प्रश्न हो ।’

प्रहरीले मुलुक र समाजको मनोविज्ञान बुझेकाले पनि निःस्वार्थ राजनीतिमा लाग्दा मुलुकलाई नै फाइदा पुग्ने बताउँछन्, भण्डारी । व्यक्तिगत लाभको अपेक्षाभन्दा पनि राजनीतिमा लाग्ने पूर्वप्रहरी मात्रै होइन जो कोहीले पनि योगदानमा आधारित राजनीति गर्नुपर्ने ठम्याइ उनको छ ।

‘म पदीय दुरुपयोग गर्दिनँ । समाज परिवर्तनमा लाग्छु, नीति निर्माण तहमा लाग्छु र गलत क्रियाकलापविरुद्ध डटेर सामना गर्छु भनेर राजनीतिमा लाग्नु राम्रो कुरा हो,’ भण्डारीले भन्छन्, ‘राजनीतिमा प्रवेश गर्नेको आचरणमा शुद्धीकरणको जरुरी छ ।’ राजनीतिक दलको असल कार्यकर्ताभन्दा पनि पार्टीभित्र स्पेस बनाएर विज्ञताको प्रयोग गर्छु भन्ने मनोभावना लिएर राजनीतिमा जाँदा राम्रै हुने उनको बुझाइ छ ।

बिहीबार प्रवेश गर्दा खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीको ठुलै गुनगान गाएका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले अध्यक्ष ओलीको शीतल छहारी पाउने विश्वासमा पार्टी प्रवेश गरेको बताए ।

आफू प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेर आइजिपीबाट अवकाश पाएको बताउँदै उनले ओली गृहमन्त्री हुँदा आफू इन्स्पेक्टर रहेको जानकारी दिए । आफूले एमाले अध्यक्ष ओलीलाई देश, जनता र सत्यको पक्षमा उभिने नेताको रूपमा पाएको उनले बताए ।

आफूमाथि तत्कालीन प्रहरी प्रमुखले गरेको अन्यायबारे बल्खुस्थित एमाले पार्टी कार्यालयमा पुगेर जानकारी गराउँदादेखि नै ओलीलाई आफूले सत्यको पक्षमा उभिने नेताको रूपमा बुझेको खनालको कथन थियो ।

विभिन्न समूह तथा पार्टीका नाममा भएका आपराधिक गतिविधि नियन्त्रणमा पनि आफू प्रधानमन्त्री हुँदा ओलीले महत्वपूर्ण काम गरेको खनालले बताए । ओलीले सिके राउतलाई पनि शान्तिपूर्ण राजनीतिमा ल्याएको दाबी खनालले गरे । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई पनि शान्न्तिपूर्ण राजनीतिमा ल्याएका ओलीजस्ता नेता अर्काे पाउन नसकिने पनि उनले बताए ।

खनाल जसपाका सांसद सुरेन्द्र यादव अपहरण काण्डमा पनि मुछिएका थिए । जनकपुरबाट यादवलाई खनाल र महेश बस्नेत समूहले गाडीमा हालेर काठमाडौंको मेरियट होटलमा राखेको आरोप जसपाले लगाएको थियो ।

प्रतिक्रिया