पन्चेबाजा संरक्षणमा महिलाको सक्रियता

रुकुम पूर्व । महिलाहरू पनि पञ्चेबाजा बझाउँछन, भन्ने खबर सुन्दा तपाईंलाई अच्चम लाग्न सक्छ । तर, सिस्ने गाउँपालिका–५ का महिलाले पञ्चेबाजा बजाउन थालेका छन । परम्परादेखि बाजा बजाउने पुरुषहरू गाउँमा घट्दै गएपछि रुकुमकोटका महिला पञ्चेबाजा संरक्षण अभियानमा जुटेका हुन् । हिजोआज रुकुमकोटका महिलाले पञ्चेबाजा घन्काउन थालेका छन् । सदरमुकाम रुकुमकोटमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा पन्चेबाजासहित उनीहरू नै पुग्ने गरेका छन् ।

विभिन्न सार्वजनिक कार्यक्रम, विवाह, व्रतबन्ध, दाहसंस्कार र अन्य सभा समारोहमा बाजा बजाउने पुरुषहरूको कमि भएपछि महिलाहरू पन्चेबाजा बजाउन सक्रिय भएका हुन् । पुरुषले गर्न सक्ने काम महिलाले पनि गर्न सक्छन्, भन्ने उदाहरण रुकुमकोटका महिलाले दिएका छन् ।

‘बिहान घरको काम सकेर दिउँसो बाजा सिक्न जान्थेँ, घरकाले पनि यसमा साथ दिए’, पन्चेबजा समूहकी अध्यक्ष नविना दमाईले भनिन्, ‘स्थानीय सरकार र घरपरिवारको साथले हामी सबै बाजा बजाउन सक्ने भएका छौँ ।’ पुरुषले मात्र नभई महिलाले पनि बाजा बजाउन थालेपछि पुरानो कला संस्कृति संरक्षणमा टेवा पुग्ने देखिएको छ ।

बाजाको संरक्षण कार्यले आयआर्जनमा पनि सहयोग पुग्ने उनीहरूले विश्वास लिएका छन । सीप भएका युवाहरू विदेश जाने र बुढापाखाहरू हिँडडुल गर्न नसक्ने भएपछि आफूहरूले बाजा बजाउन सिकेको सुशीला नेपालीले बताइन् । ‘गाउँघरमा पुरुषले मात्रै बजाउने बाजा सिक्दै जाँदा हामी पनि बजाउन सक्ने भयौँ’, उनले भनिन्, ‘स्थानीय सरकारको सहयोगमा सिकेको सीपले केही गर्न सक्छौँ भन्ने साहस बढेको छ ।’ सिस्ने–५ का २५ जना महिलाले पञ्जेबाजा बजाउन सिकेका छन् । उनीहरूले दमाहा, ट्याम्को, झ्याली र नरसिंगा बाजा बजाउन जानेका छन् ।

जीवनमा अन्य सीप नसिके पनि सामाजिक आवश्यकता र बाध्यताले पन्चेबाजा बजाउन सिकेको अर्की पुतला दमाईले सुनाइन् । उनीहरूले ४५ दिनसम्म नियमित बाजा बजाउने तालिम लिएका थिए । स्थानीय शितले दमाई र जोखे दमाईले उनिहरूलाई बाजा बजाउन सिकाएका हुन् । महिलालाई बाजा बजाउन सिकाउन गाह्रो हुने भए पनि उनीहरूको सक्रियता र इच्छाशक्तिले अप्ठ्यारो नभएको प्रशिक्षक शितले दमाईले बताए । ‘उहाँहरूको रुचि र उत्साहले सिकाउन सहज भयो’, उनले भने, ‘सीप सिकेका सबैले बाजा बजाउन सक्ने भएका छन् ।’

वडा–५ को दुई लाख बजेटबाट महिलालाई पञ्चेबाजा बजाउने तालिम दिइएको वडाध्यक्ष वीरेन्द्र बस्नेतले बताए । उक्त बजेटबाट सीपसँगै २२ जोडा पोसाक पनि वितरण गरिएको छ । गाउँमै भएका पुराना बाजाबाट सीप सिकेका उनीहरूलाई नयाँ बाजा दिने तयारी वडाले गरेको छ । उनीहरूको मागको आधारमा ६ वटा दमाहा, दुई÷दुई वटा ट्याम्को, झ्याली र सनही खरिद प्रक्रिया अघि बढाइएको अध्यक्ष बस्नेतले बताए । वडाका महिलाले सिकेको सीप र सक्रियताबाट आफू उत्साहित भएको उनले बताए । महिलाहरू पन्चेबाजा बजाएर सांस्कृतिक कार्यक्रममा अग्रसर भएको देख्दा समाजमा नयाँ सन्देश गएको वडाध्यक्ष बस्नेतले बताए । पन्चेबाजासहित विभिन्न कार्यक्रममा महिला पुगेको र बाजा बजाएको देख्नेहरूमा पनि इच्छाशक्ति नै ठूलो कुरा रहेछ, भन्ने सन्देश प्रवाह भएको अध्यक्ष बस्नेतको भनाइ छ ।

प्रतिक्रिया