ओखलढुंगा । ओखलढुंगाको सुनकोसी गाउँपालिका– ५ मूलखर्कका हस्तबहादुर तामाङले २०६७ सालमा गाउँमा बिजुली बल्ने खुसीयालीमा उपभोक्ता समितिका अध्यक्षलाई ७ हजार ५ सय रुपैयाँ बुझाए । उनले त्यो पैसा सजिलै घरबाट झिकेर बुझाएका होइनन् । दैनिक ज्याला मजदुरी गर्दै बिहान बेलुका बालबच्चालाई आधापेट खुवाएर उनले उक्त पैसा बुझाएका थिए ।
‘बत्ती बल्छ भनेर खाइनखाइ, तत्कालीन समितिका अध्यक्ष चम्पा कार्की र कोषाध्यक्ष सानू तामाङ, सचिव केसर तामाङ लगायतको समूहलाई पैसा बुझाएको १० वर्ष वित्यो, तर अहिलेसम्म बिजुली बलेको छैन’, उनले दुखेसो पोखे, ‘न पैसा फिर्ता आयो, न बिजुली ।’
साविकको मूलखर्क गाविस अर्थात् सुनकोसी गाउँपालिकाको वडा नम्बर ४ र ५ मा स्थानीय मोलुङ खोलाबाट विद्युत उत्पादन गर्ने भनेर काम सुरु गरिएको एक दशक बित्यो तर अहिलेसम्म बिजुली बत्ती बाल्ने स्थानीयको सपना पूरा भएन ।
हस्तबहादुर जस्तै स्थानीय कुमारबहादुर तामाङले पनि बिजुली बाल्ने भनिएपछि परिवारको गाँस काटेर जम्मा गरेको पैसा दिए । उनी अझै बिजुली नबल्दा दिएको पैसा कहाँ गायो भनेर गाउँका अगुवाहरुलाई सोध्ने गर्छन् । तर चित्तबुझ्दो उत्तर पाउँदैनन् । ‘अहिलेका वडाध्यक्षसहित कतिलाई सोधेँ हाम्रो पैसा कहाँ गयो भनेर तर पैसाको हिसाब आजसम्म भएन । बत्ती बालेर गाउँ उज्यालो बनाउने भनेर साविकको मूलखर्क, फेदीगुठ र माधवपुरबाट ६ हजार देखी १० हजारसम्म पैसा उठाएको भए पनि अहिलेसम्म केही काम नभएको उनले बताए ।
मोलुङखोला सिम्लेबेसी लघु जलविद्युत आयोजनाको नाममा सविकका तीनवटा गाविस मूलखर्क, माधवपुर र फेदीगुठका ८ सय ५६ परिवारबाट प्रतिपरिवार ७ हजार ५ सयका दरले उठाएको रकम आज सम्म कहाँ के भयो भन्ने सर्वसाधारणले अत्तोपत्तो पाएका छैनन् ।
विद्युत् उत्पादनका लागि उपभोक्ता समितिले हालसम्म कुलो खन्ने बाहनामा खोला किनारमा केही सय मिटर भत्काएको तर त्यो काम लाग्ने अवस्थामा नरहेको मूलखर्कका स्थानीय तथा पत्रकार दिर्घ बहादुर खत्रीले बताए ।
तत्कालीन उपभोक्ता समितिका अध्यक्षले गाउँमा बिजुली बाल्न हरेक परिवारबाट ७ हजार ५ सय उठाएको र आफू पनि उपभोक्ता भएका कारण पैसा बुझाएको गाउँपालिका प्रमुख प्रशाकीय अधिकृत रामकुमार कार्कीले बताए । उनले भने ‘ म आफु पनि उपभोक्ता भएका कारण मैले पनि अध्यक्षलाई रकम दिएको छु तर काम गरिएको देखिएको छैन ।’
‘पछिल्लो समय जनगुनासो आई रहेका रकाण गाउँपालिका नै समस्या समाधानका लागि लागि परिरहेको छ ।’ तत्कालीन मूलखर्क गाविसका गाविस सचिव समेत रहेका सुनकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्कीले त्यति बेला गाविसबाट पनि रकम विनियोजन गरिएको भए पनि अहिले सम्म बिजुलीको काम नभएको बताए ।
जनताको बिजुली बाल्ने रहलाई गाउँपालिकाले सम्बोधन गर्न लागेको र यो आर्थिक वर्षमा गाउँपालिका केही वडामा विद्युतीकरण भइ सकेको र अन्य स्थानमा पनि चरणबद्धरुपमा काम भएको उनको भनाइ छ ।
मोलुङखोला सिम्लेबेशी लघुजल विद्युत आयोजनाको ७५ लाख आम्दानी भएको देखिए पनि माओवादी केन्द्रकी केन्द्रीय सदस्य समेत रहेकी महिला नेतृ तत्कालीन उपभोक्ता समितिका अध्यक्ष चम्पा कार्कीले ५० लाख ६६ हजार १ सय ७९ रुपैयाँ मात्र हिसाब सार्वजानिक गरेको स्थानीयको गुनासो रहेको छ ।
समितिले हाल २५ हजारमा पाइने एक आना जग्गालाई आजभन्दा १० वर्ष अगावै ६ लाख ५० हजारमा किनेको कागज बनाइएको छ । तर तत्कालीन उपभोक्ता समितिका अध्यक्ष कार्की भने आफूले अनुदान स्वीकृत गराएर तीन वर्षअगाडि नै अर्का अध्यक्षलाई समितिको जिम्मेवारी हस्तान्तरण गरिएको कारण आफूलाई अहिले केही थाहा नभएको बताउँछिन् ।
हाल समितिका अध्यक्ष रहेका पूर्व गाविस अध्यक्ष पञ्चबहादुर तामाङले आफू समितिमा आएपछिको हिसाब प्रष्ट रहेका बताउँदै आएका छन् । आँफु अध्यक्ष भए पछिको हिसाब एक एक रहेको र अगाडीको हिसाब पुरानो समितिले बुझाए अनुसार सार्वजानिक गर्न तयार रहेको उनले बताए ।
योजनामा पूर्व अध्यक्ष कार्कीको मात्रै नाम जोडीने गरेको भए पनि वर्तमान अध्यक्ष तामाङ, पूर्व कोषाध्यक्ष सानू तामाङ, सचिव केसर तामाङ लगायतका गाउँमा अगुवा देखिनेहरु यो विषयमा मौन रहेको स्थानीयको भनाइ छ ।
रकम हिनामिना भएपछि स्थानीयले पटक पटक स्थानीय प्रशासनमा निवेदन हाले पनि सुनुवाइ नभएको भन्दै गत १६ गते पुनः अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौं, कार्यालय बर्दिबास महोत्तरी, जिल्ला समन्वय समिति ओखलढुंगालाई बोधार्थ राखी जिल्ला प्रशासन कार्यालय ओखढुंगामा उजुरी परेको छ । पटक पटक स्थानीयले प्रशासनमा उजुरी हाल्दा पनि सुनुवाइ नभएको निवेदक श्यामबहादुर खत्रीले बताए ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले चुनाव अघि विभिन्न राजनीतिक प्रतिशोध हुने भएका कारण यस विषयमा चुनाव सकिएलगत्तै छलफल गरिने बताए ।
प्रतिक्रिया