टुकुचा ब्युँत्याउने की, इच्छुमति ?

यतिबेला धेरैले टिप्पणी गर्न थालेका छन्, ‘मकै पोलेर बेच्ने गरिबलाई लखेटेर सुरु गरिएको काठमाडौं महानगरपालिकाको सुधार अभियान टुकुचाको ढलमा पुगेर विसर्जन हुने छाँट देखियो ।’ गत स्थानीय निर्वाचनमा कुल खसेको मतका करिब ४० प्रतिशत पाएर जुझारु युवा बालेन्द्र साहले बाजी मारेका थिए । आआफ्नो मनोकांक्षा पूरा हुने आत्मविश्वास बालेन्द्रलाई मत दिने मतदाताको थियो । गत असारमा उनले काठमाडौंबाट फुटपाथ व्यापारी हटाउने उद्घोष गरे । बालुवाटार तथा महाराजगञ्ज क्षेत्रका सडक पेटीमा मकै पोलेर बेच्नेहरूलाई महानगर प्रहरीले कुटीकुटी लखेटेको, उनीहरूले बेच्न राखेको मकै सडकमा फालिएको भिडियो भाइरल भइरहँदा एकथरीले ताली पिटीपिटी बालेन्द्रको तारिफ गरे । अर्काथरीले गरिबलाई पहिलो लक्ष बनाएर धपाइएको भन्दै विरोध गरे ।

यो अभियान गरिब अतिक्रमणकारीबाट होइनकी धनी अतिक्रमणकारीबाट सुरु गर्नुपर्ने सुझाव धेरैको थियो । यो सुझावलाई ख्याल गर्दै मेयर बालेन्द्रले विश्वको अर्बपतिको सूचीमा रहेका विनोद चौधरीको नर्भिक अस्पतालले अतिक्रमण गरेको सार्वजनिक जग्गा फिर्ता ल्याउने कोशिस गरे । तर यो कोशिसलाई चौधरीले अदालतको जनशक्ति प्रयोग गरेर निस्तेज पारिदिए । तर, मेयर बालेन्द्रले हरेस खाएनन् । गाडी पार्किङका लागि भनेर कर छुट लिएर निर्माण गरिएका भवनहरू अन्य नाफामूलक प्रयोजनमा लगाइएको प्रकरणमा उनले ध्यान दिए । यसका लागि नयाँ बानेश्वरबाट सुरु गरिएको अभियान निकै लोकप्रिय बन्यो । अबैध संरचना हटाउने काम करिव पाँच प्रतिशत सम्पन्न हुँदै गर्दा मेयर बालेन्द्र शाहले टुकुचा खोला अतिक्रमणविरुद्ध हात हाले । तर, टुकुचा अभियान उनका लागि बाघमाथि गरिएको सवारजस्तो बनेको छ । ओर्लौ तुरुन्तै बाघले खाइ हाल्छ, नओर्लौ, गन्तव्यमा अनिश्चित छ ।

महाराजगञ्ज क्षेत्रको चुनदेवी खोल्सोबाट सुरु भएको टुकुचा खोला भाटभटेनी, बालुवाटार, लाजिम्पाट, नारायणहिटि, हात्तीसार, कमलादी, बागवजार, त्रिपुरेश्वर हुँदै करिव ६ किलोमिटर दुरी पार गरेर बागमती नदीमा मिसिन्छ । टुकुचा खोलाको आफ्नै पानीको मुहान छैन । सयौं वर्षदेखि मलमूत्र बग्दै आएको छ । नाराणयणहिटीको दक्षिणी गेट नजिकै पर्ने जयनेपाल हलदेखि कमलादी नजिकैको काठमाडौं प्लाजासम्मको करिव पाँच सय मिटर क्षेत्रमा टुकुचा भूमिगत छ ।

इतिहासविद्का अनुसार ढलको दुर्गन्ध नियन्त्रणका लागि विक्रम सम्वत १९४८ मा तत्कालीन श्री ३ वीरशमशेरले राज्यकोषबाट ठूलो लगानी गरी टुकुचालाई भूमिगत बनाएका थिए । यतिबेला बालेन्द्र शाहको अभियान भूमिगत संरचनालाई भत्काएर त्यसक्षेत्रको टुकुचालाई सतहमा ल्याउनेतर्फ केन्द्रित छ । तर उनको यो अभियानकाविरुद्ध पनि त्यतिकै ठूलो शक्ति लागेको छ । पहिलो कुरा त टुकुचाको यो भूमिगत संरचना पुरातात्विक महत्वको भन्दै पुरातत्व सम्पदा संरक्षण विभागले पत्र काटेको छ । दोस्रो कुरा भूमिगत संरचनामाथि निजी स्वामित्वका घर जग्गाहरू छन् । उनीहरूको हारगुहार सुन्दै आदालतले तत्कालका लागि भूमिगत संरचना उधिन्ने काम नगर्न महानगरपालिकालाई अल्पकालीन आदेश गरिसकेको छ ।

टुकुचा खोलालाई ब्युँत्याउने मेयर बालेन्द्रको योजना निकै आकर्षक छ । खोलाको चार मिटर क्षेत्रमा कलकल पानी बगाउने, त्यस बाहेकको दायाँ चार मिटर र बायाँ चार मिटर क्षेत्रमा हरियाली सहितको फुटपाथ बनाउने योजना निकै लोभलाग्दो छ । तर, दुई÷चार वर्षमा सम्पन्न हुने प्रकृतिको योजना यो होइन । पहिलो कुरा त हात्तीसार क्षेत्रको भूमिगत संरचनामाथि घरजग्गा हुनेहरू अतिक्रमणकारी होइनन् । निजी जग्गा अधिग्रहण संघीय सरकारले मात्रै गर्नसक्छ । त्यो क्षेत्रमा पर्ने १२ रोपनी जग्गाको हालको चलन चल्तीको मूल्यअनुसार करिब दुई अर्ब रुपैयाँको हाराहारीमा मुआव्जा दिनुपर्नेछ । विशाल भवनहरूको मुआव्जा त छुट्टै छ । तर ६ किलोमिटर लामो टुकुचाको पाँच सय मिटर क्षेत्रको मात्रै समस्या सुल्झाएर यो गुरुयोजनाको एउटा सानो अंश पनि पूरा हुँदैन ।

शंखपार्क क्षेत्रदेखि त्रिपुरेश्वरसम्म १२ मिटर चौडाइको जग्गा प्राप्तिका लागि सानो बजेटले पुग्दैन । त्यसबाहेक ढलका लागि छुट्टै संरचना बनाउनु पर्ने हुन्छ । ढलको संरचना निर्माण भएपछि पानी बगाउनु पनि पर्ला । तर टुकुचाको आफ्नै पानीको स्रोत छैन । पानी ल्याउने कहाँबाट ? बुढानीलकण्ठ तथा शिवपुरी क्षेत्रमा ठूला ठूला तलाउ निर्माण गर्ने र हिउँदयाममा तिनै तलाउको पानी टुकुचामा प्रवाह गर्नुपर्ने हुन्छ । मल्लकालमा पनि राजकुलोमार्फत बुढानीलकण्ठको पानी टुकुचामा मिसाइएको किंवदन्ती नभएको होइन । टुकुचालाई पशुपति पुराणामा इच्छुमति भनिएको जानकारहरू बताउँछन् । त्यसैले टुकुचा ब्युँत्याउने होइन कि, इच्छुमति ब्युँत्याउनु पर्छ । तर यो ताकत मेयर बालेन्द्र तथा काठमाडौं महानगर मात्रैको छैन । बालेन्द्रको होस्टेमा बुढानीलकण्ठ नगरपालिका, वाग्मती प्रदेश सरकार र संघीय सरकारले इमानदारीपूर्वक हैंसे गर्ने हो भने इच्छुमति व्युँतिन सक्छ ।

प्रतिक्रिया