दसैँको मुखमा खाद्य पदार्थमा उच्च मूल्य वृद्धि

राज्यको मिलोमतोमा आफूखुसी मूल्य निर्धारण

काठमाडौं । रमा खत्रीलाई दसैँको मुखमै भएको मूल्य वृद्धिले आपत् परेको छ । विराटनगर तिनटोलिया घर भएर पछिल्लो नौ वर्षदेखि राजधानीमा बसोबास गर्दैआएकी खत्री निम्न वर्गभित्र पर्छिन् । निजी चप्पल कारखानामा काम गर्दै आएकी उनी महिनाको १८ हजार रुपैयाँ पारिश्रमिक पाउँछिन् ।

उनको तीन बच्चामध्ये दुई विद्यालयमा अध्ययन गर्दैछन् । दुई वर्षको काखे बच्चा च्यापेर उनी दैनिक काममा जान्छिन् । सवारी दुर्घटनामा परेर एक वर्षअघि उनको श्रीमानको निधन भएपछि घरको सम्पूर्ण जिम्मेबारी खत्रीकै काँधमा आइपरेको हो ।

घरआँगनमै दसैँ आइपुग्दा बजारमा भएको मूल्यवृद्धिले उनलाई नियमित घर कसरी चलाउने र दसैँ कसरी मनाउने चिन्ता परेको छ । दसैँको मुखमै चामलको मूल्यवृद्धिलाई उनलाई निक्कै पिरोलेको छ । खानेतेलको अचाक्ली मूल्यमा नगन्य कमी आए पनि अन्य खाद्य पदार्थको मूल्य अस्वभाविक रूपमा बढ्दा उनलाई परिवार चलाउन धौ धौ परेको हो । नेपालीले प्रमुख खान्कीको चामललाई बढी प्राथमिकता दिएका छन् ।

‘भान्सामा प्रयोग हुने सबै बस्तुको मूल्य अचाक्ली बढेको छ,’ खत्रीले भनिन, ‘तलब थोरै छ । मसहित चार जनाको परिवार पाल्न धौ धौ भयो, अहिले दसैँ आउनै लाग्दा फेरी दाल, चामल, तरकारीलगायत सबैमा मूल्य वृद्धि हुँदा कसरी मनाउने हामी निम्न वर्गले चाडवाड ?’

पछिल्लो समयमा भान्छामा महँगीको मार खत्रीले मात्रै बेहोरेका छैन् । उनीजस्ता लाखौँ गृहणीले चरम महँगीको मार बेहोर्न बाध्य भएका छन् । झन दसैँको मुखमै भएको खाद्य वस्तुको मूल्यवृद्धिले दसैँ तिहार मान्नै धौ धौ भएको गृहणीहरूको भनाइ छ ।

रुस–युक्रेन युद्धलाई बहाना बनाएर गत असारदेखि मूल्य वृद्धि सुरु भएको अत्यावश्यक खाद्य बस्तुको अहिले फेरि नयाँ बहानामा आफूखुसी मूल्य वृद्धि गरिएको छ । आमउपभोक्ताप्रति सरकारको मौनताका कारण ठूला व्यापारिक घरानाले मौका छोपेर आफूखुसी मूल्य वृद्धि गर्दै आएका छन् ।

पछिल्लो समयमा ठूलो व्यापारिक समूहले भारतले चामलको निर्यातमा वृद्धि गरेको कर र आसन्न निर्वाचनलाई बहाना बनाएर आफूखुसी मूल्य वृद्धि गरेका हुन् । व्यापारीहरूले चामल, दाल, चिनी, गहुँ, मैदासम्मको मूल्य वृद्धि गरेका छन् । यसअघि खानेतेलको क्रमिक रूपमा बढ्दै गएको मूल्य वृद्धिले मारमा परेका गृहणीलाई अहिले थोरै राहत दिएको छ । खानेतेलमा अहिले प्रति लिटर अहिले ५ देखि २० रुपैयाँसम्म सस्तो भएको छ ।

खुद्रा व्यापार संघले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो समयमा थोक डिलरबाट चामल, दाल, गहुँ, मैदा, पिठोलगायतमा मूल्य बढेर आएको छ । जसअनुसार जिरा मसिनो चामल, स्टिम जिरा मसिनो चामल, स्टिम सोना मन्सुली चामलको २५ बोराको चामलमा १ सय २५ रुपैयाँदेखि २ सय रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । यस्तै प्रत्येक मसलामा पनि १० रुपैयाँदेखि ५० रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । तरकारीको मूल्य भने झन् छुन नसक्ने अवस्थामा पुगेको छ । माछामासुको मूल्यमा पनि उच्च मूल्य वृद्धि भएको छ ।


गत भदौमा १ हजार ८ सय पर्ने जिरा मसिनो चामलको २५ किलोको बोरालाई अहिले मूल्य वृद्धि गरि दुई हजार पु¥याइएको छ । यस्तै २ हजार १ सय २५ पर्ने स्टिम जिरा मसिनो चामलको बोराको मूल्य अहिले २ हजार २ सय ५० रुपैयाँ पु¥याइएको छ । यस्तै १ हजार ४ सय ५० रुपैयाँ पर्ने प्रतिबोराको मूल्य वृद्धि गरी १ हजार ५ सय रुपैयाँ पु¥याइएको छ । अति निम्न वर्ग, निम्न वर्ग, मध्यम वर्ग र सम्पन्न परिवारले सोना मन्सुली र जिरा मसिनो चामल बढी प्रयोग गर्दै आएका छन् ।

खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार भदौको तुलनामा असोजमा चामल, दाल, गहुँ, मैदा, पिठोलगायतका खाद्य पदार्थमा थोक बिक्रेताले मूल्य बढाएका छन् । ‘भदौको तुलनामा असोजमा थप मूल्य बढेर थोक बिक्रेताबाट खाद्य बस्तु आएको छ,’ महासचिव तुलाधरले भने, ‘सरकार गैरजिम्मेबार भएकाले थोक बिक्रेताले कुनै न कुनै बहानामा आफूखुसी मूल्य बढाएर खाद्य वस्तु उपलब्ध गराउँदै आएका छन् । सरकारले थोक विक्रेतामा अनुगमन गरे अहिले देखिएको बजारको महँगी कम्तिमा ५ देखि १० प्रतिशतसम्म घट्ने थियो ।’ उनकाअनुसार पछिल्लो समयमा थोक बिक्रेताले भारतले चामलमा कर वृद्धि गरेको र निर्वाचनसमेत नजिक आइसकेको भन्दै मूल्य वृद्धि गरी सामान पठाएका हुन् ।

नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष डा. सुवोध गुप्ताकाअनुसार थोक बिक्रेताहरूले आफूखुसी मूल्य बढाएर बजारमा खाद्य बस्तु पठाएको जानकारी दिए । उनले पनि यसको पछाडि सरकार नै दोषी रहेको जानकारी दिए । ‘थोक विक्रेताले विभिन्न बहानामा हरेक बस्तुको मूल्य आफूखुसी वृद्धि गरी बजारमा पठाए पनि त्यहाँ अनुगमन नै हुन्न,’ गुप्ताले भने, ‘यसले गर्दा बजारमा महँगीको मार थपिएको छ । अहिले देखिएको मूल्य वृद्धि उद्योगबाट भएको छैन ।’

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका गुप्ताकाअनुसार उद्योगले अहिले पनि २५ किलो तौल भएको प्रति बोरा १ हजार ८ सय ५० देखि १ हजार ९ सय ५० सम्म विभिन्न जातको जिरा मसिनो चामल बिक्री गर्दै आएको छ । गुप्ताले भारतले नेपालीले बढी खपत गर्ने जिरा मसिनो र सोना मन्सुलीजस्ता चामलको निर्यातमा २० प्रतिशत कर वृद्धि गरेको जानकारी दिए ।

‘तर कर थपिए पनि अहिले नयाँ कर नीतिअनुसार भारतबाट चामल आएको छैन, अहिले बजारमा देखिएको चामल पुरानै स्टक मध्ये हो । पुरानो भएको स्टक सक्न कम्तिमा डेढ महिना लाग्छ,’ गुप्ताले भने, ‘त्यही भएर पुरानै चामललाई भारतको करको बहानामा बढी मूल्य लिन पाइँदैन ।’ गुप्ताले पुरानो चामल सकिएर भारतको नयाँ कर नीतिअनुसार नयाँ चामल आयात हुन अझै करिब दुई महिना लाग्ने बताए । नयाँ चामल आएपछि अहिलेको भन्दा बढी महँगो मूल्यमा चामल उपलब्ध हुने गुप्ताको भनाइ छ ।

‘पक्कै पनि नयाँ चामल वा धान आयात हुँदा भारतले तोकेको नयाँ कर नीतिअन्तर्गत बढी कर बुझाएर ल्याउनुपर्नेछ,’ गुप्ताले भने, ‘नयाँ कर नीतिअन्तर्गत आउने चामल र धान स्वतः रूपमा आफैँमा महँगो भएर आउने भएकाले उक्त चामल निक्कै महँगो हुनेछ ।’


उपभोक्तावादी प्रेमलाल महर्जनले दसैँ र आसन्न निर्वाचनको मुखमा वृद्धि भएको मूल्य वृद्धिलाई अस्वाभाविक मान्नुपर्ने जानकारी दिए । ‘निर्वाचन आउनै लागेको छ, राजनीतिक दलहरूलाई ठूला डिलर र उद्योगपतिले चुनाव खर्च दिनै पर्छ । दलहरूलाई चन्दामा प्रदान गरिने चुनाव खर्च अहिलेदेखि नै आमउपभोक्ताको टाउकोमा थपिएर दसैँको मुखमै महँगी बढाइएको छ,’ महर्जनले भने ।


महर्जनले मिलोमतो र आर्थिक लेनदेनको आधारमा सरकारले थोक विक्रेता र उद्योगमा अनुगमन नगर्दा आमउपभोक्तालाई दुई छाक टार्न नै धौ–धौ परेको जानकारी दिए ।

खुद्रा व्यापार संघले सार्वजनिक गरेको असोजको तथ्यांकअनुसार गत भदौमा १ सय ८५ रुपैयाँ प्रतिकिलो पाइने मासको दाललाई अहिले १ सय ९० रुपैयाँ मूल्य तोकिएको छ । यस्तै १ सय ८० मा पाइने रहर दालको मूल्य अहिले १ सय ८५ तोकिएको छ । ६० रुपैयाँ प्रतिकिलोमा पाइने गहुँको मूल्य अहिले ६५ र ६५ रुपैयाँ प्रतिकिलो पाइने गहुँको पिठोको मूल्य वृद्धि गरी ७५ रुपैयाँ पुर्याइएको छ । यसैगरी ६५ रुपैयाँ पर्ने मैदाको मूल्य ८० रुपैयाँ पुगेको छ ।

खानेतेलमा केही राहत

महँगीको मारबाट पिरोलिएका नेपालीलाई थोरै भए पनि खानेतेलले राहत दिएको छ । गत भदौको तुलनामा असोजमा खानेतेलको मूल्य केही भए पनि सस्तो भएको छ । भदौमा २ सय ६० सम्म पर्ने काँचो तेलको मूल्य अहिले प्रतिलिटर २ सय २० मा झरेको छ । यस्तै २ सय ६० पर्ने भटमासको तेलको मूल्य २ सय ५० सम्ममा झरेको छ । २ सय ९० पर्ने सनफ्लावर तेलको मूल्य २ सय ८० सम्ममा झरेको खुद्रा व्यापार संघले जनाएको छ । यो मूल्य विभिन्न ब्रान्डअनुसार केही तलमाथि छ । प्रत्येक ब्रान्डको तेलमा ५ देखि २० रुपैयाँसम्म मूल्य घटेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गरेको करिब साढे तीन महिनाको अवधिमै करको दरमा हेरफेर गरेको थियो । यसअघि बजेटले तोकेका विभिन्न करका दरहरूमा सर्वसाधारण तथा उद्योगी–व्यवसायीले विरोध जनाएका थिए । उनीहरूका माग तथा सुझावअनुसार सरकारले स्यानिटरी प्याड, एमएस बिलेट, वायर, खानेतेल र त्यसको कच्चा पदार्थ, सहकारीको आयकरलगायत विभिन्न शीर्षकको कर कटौती तथा छुटको व्यवस्था गरेको हो ।

जसअनुसार वनस्पति घिउ–तेल उद्योगहरूले औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग गर्ने कच्चा भटमासको तेल, कच्चा पाम तेल र कच्चा सूर्यमुखी तेलको आयात गर्दा लाग्ने भन्सार महसुल ९० प्रतिशतले घटाएको थियो । यसअघि पाम, भटमास र सूर्यमुखीको कच्चा तेलमा १० प्रतिशत भन्सार लाग्ने गरेकोमा अब एक प्रतिशत मात्रै कायम गरिएको छ ।

सूर्यमुखीको गेडा आयातमा लाग्ने भन्सार महसुलमा ९० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । यस्तै भटमासको गेडाबाट तेल तथा पिना उत्पादन गर्ने उद्योगका लािग भटमासको गेडा आयात गर्दा लाग्ने भन्सार महसुलमा समेत ९० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

खानेतेल उत्पादन गर्ने उद्योगका लागि तोरी, रायो, क्यानोला, रेप्सिडको गेडा, सस्र्युंको गेडा आयात गर्दा लाग्ने भन्सार महसुलमा ९० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सरकारले करको दरमा गरेको हेरफेरका कारण पनि खानेतेल केही सस्तो भएको औल्याइएको छ ।

उपभोक्ता मुद्रास्फीति : भारतमा ७ प्रतिशत, नेपालमा ८ दशमलव २६ प्रतिशत

नेपाल राष्ट्र बैंकले साउन महिनाको हिसाबकिताब विश्लेषण गर्दै भदौ ३० गते प्रकाशित गरेको छ । जसअनुसार आर्थिक वर्ष ०७९/८० को पहिलो महिना साउनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति(महँगी) ८ दशमलव २६ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव ३५ प्रतिशत रहेको थियो ।

साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७ दशमलव ११ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९ दशमलव १८ प्रतिशत रहेको थियो । ०७९ साउन महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८ दशमलव २६ प्रतिशत रहेको थियो । यही अवधि अर्थात सन् २०२२ अगस्ट महिनामा भारतको यस्तो मुद्रास्फीति सात प्रतिशत मात्रै थियो ।

नेपाल राष्ट्र बैकका अनुसार ०७८ साउन महिनाको तुलनामा ०७९ साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, फलफूल, रेस्टुरेन्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र दुग्ध पदार्थ तथा अण्डा उपसमूहको मूल्यवृद्धि क्रमशः १९ दशमलव ५८, १८ दशमलव ७९, ११ दशमलव ८४, १० दशमलव २४ र १० दशमलव१९ प्रतिशत रहेको थियो । बैकअनुसार गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ तथा घरायसी उपकरणहरू, शिक्षा र घरायसी उपयोगका वस्तुहरू उपसमूहको मुद्रास्फीति क्रमशः २३ दशमलव ८८ प्रतिशत, १० दशमलव ५४ प्रतिशत, ९दशमलव शून्य ४ प्रतिशत, ८ दशमलव ११ प्रतिशत र ७ दशमलव ८६ प्रतिशत रहेको थियो ।

साउन महिनामा काठमाडौं उपत्यकामा ७ दशमलव ३९ प्रतिशत, तराईमा ८ दशमलव ७२ प्रतिशत, पहाडमा ८ दशमलव ६४ प्रतिशत र हिमालमा ६ दशमलव ६४ प्रतिशत मुद्रास्फीति रहेको थियो । ०७८ साउन महिनामा यी क्षेत्रहरूमा क्रमशः ३ दशमलव ७० प्रतिशत, ४ दशमलव ११ प्रतिशत, ५ दशमलव ६३ प्रतिशत र ३ दशमलव ५८ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

भारतले द्वैध चरित्र देखायो : डा.गुप्ता

नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष डा.सुवोध गुप्ता

नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष डा.सुवोध गुप्ताले भारतले द्वैध चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन् । भारतका सत्तासीन राजनीतिक दलदेखि विपक्षमा रहेका दलहरूका प्रमुख नेताहरूले नेपाल र भारतको सम्बन्ध ‘रोटीबेटी’ जस्तै रहेको बताए पनि व्यवहारमा त्यस्तो नदेखिएको गुप्ताले बताएका छन् ।

‘भन्ने बेलामा रोटीबेटीको सम्बन्ध भएको भारतीय प्रधानमन्त्रीसम्मले भन्नुहुन्छ, तर व्यवहार ठिक उल्टो गर्नुहुन्छ,’ गुप्ताले भने, ‘रोटीबेटीको सम्बन्ध भएको भए नेपालको हकमा चामल र धानमा भन्सार शुल्क बढाउन मिल्दैन्थ्यो । त्यस्तै चिनी र गहुँको निर्यातमाथिको प्रतिबन्ध नेपालको हकमा लागू हुँदैनथ्यो ।’

उनकाअनुसार भारतले चामलमाथि लगाइएको अत्यधिक करका कारण नेपाली जनता आगामी दिनमा खाद्य असुरक्षामा पर्न निश्चित छ । स्वदेशमा धानको पर्याप्त उत्पादन नहुँदा नेपालका चामल उद्योगहरू ४५ प्रतिशत भारतको कच्चा पदार्थमाथि चलेका छन् । हालै भारतले टुक्रे चामलको निर्यातमा पूर्ण रूपमा रोक लगाएको छ । यस्तै गैर बासमति चामलको निर्यातमा २० प्रतिशत शुल्क लगाएको छ । यसअघि यस्तो चामल शून्य शुल्कमा नेपालमा आयात हुन्थ्यो । भारतको यो नीतिका कारण नेपालको सम्पूर्ण चामल उद्योगको टाट पल्टिने उनको भनाइ छ ।

गुप्ताकाअनुसार गत वर्षमा भारतबाट ५ लाख ७ हजार टन धान र ५ लाख २० हजार टन चामल आयात भएको थियो । भारतले चिनी र गहुँको निर्यातमा प्रतिबन्ध र चामलमा लगाएको करका कारण नेपालमा तस्करी निक्कै मौलाएको उनले बताए । उनकाअनुसार अहिले नेपाली बजारमा पाइने करिब शतप्रतिशत चिनी तस्करी भएर आइरहेको छ ।

प्रतिक्रिया