नेपाल टेलिकमको थप वितरण केन्द्रबाट ई–सिम बितरण

काठमाडौ । नेपाल टेलिकमले हाल दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकहरूलाई निःशुल्क ई–सिम वितरण गरिरहेको छ । पर्याप्त मात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि ग्राहकमाझ प्रबद्र्धनात्मक परीक्षणको रूपमा वितरण भइरहेको ई–सिमको लागि कम्पनीसँग यथेष्ट संख्या मौज्दात रहेको पनि टेलिकमले जनाएको छ ।

हाल सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट मात्र वितरण भइरहेको ई–सिम मंगलबार देखी कम्पनीका ग्राहक सेवा केन्द्र नक्साल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालय लगायत ग्राहक सेवा केन्द्र पुलचोकबाट पनि माग बमोजिम वितरण गरिने विज्ञप्तिमा उल्लेख छ ।

मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्युआर कोडमार्फत स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ । त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा ई–सिम चल्ने,नचल्ने यकिन गरेर मात्र ई–सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा जान ग्राहकमा कम्पनीले अनुरोध गरेको छ ।

प्रतिक्रिया