आत्महत्याका घटनामा वृद्धि : रोकथामका लागि सचेतना अभियान

विराटनगर । आत्महत्याका घटना बढ्न थालेपछि त्यसको रोकथाम न्यूनीकरण तथा सचेतनाका लागि प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले आइतबारबाट अभियान सुरु गरेको छ । विराटनगरमा आइतबार एक कार्यक्रमको आयोजना गरी प्रदेश–१ का १४ वटै जिल्लामा अभियानको शुभारम्भ भएको घोषणा गरिएको थियो । प्रदेश–१ आन्तरिक तथा कानुन मन्त्रालयको आयोजना तथा प्रदेश–१ प्रहरी कार्यालयको सहयोगमा अभियान सुरु भएको हो ।

अभियानको उद्घाटन गर्दै प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आत्महत्या रोकथाम न्यूनीकरण अभियान सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । आत्महत्याको अवस्था प्रदेश–१ मा विकराल रहेको भन्दै आत्महत्याका घटनालाई पूर्ण रूपमा शून्यमा ल्याउन नसके पनि यसलाई न्यूनीकरण गर्न भने सकिने उनको भनाइ थियो । उनले अभियानलाई सफल बनाउन सञ्चारकर्र्मीको ठूलो भूमिका रहने उल्लेख गरे ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङवोले आत्महत्या न्यूनीकरणका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताए । स्वास्थ्यमन्त्री जयराम यादवले आत्महत्या न्यूनीकरण गर्न स्थानीय पालिकाको समन्वयमा विभिन्न प्रकारका सचेतनामुलुक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । सामाजिक विकास मन्त्री राजन राईले आत्महत्या न्यूनीकरणका विषय पाठ्यपुस्तकमा समावेश हुनुपर्ने उल्लेख गर्नुभयो । प्रदेश–१ प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक डिआइजी सुदीप गिरीले प्रदेश–१ का १४ वटै जिल्लामा एकैसाथ आत्महत्या रोकथाम सचेतना अभियान शुभारम्भ भएको र यो अभियान वर्षभरी सञ्चालन हुने बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल तथा प्रदेश–१ का महान्यायधिवक्ता भोजराज श्रेष्ठ तथा आन्तरिक मामिला तथा कानुन मञ्त्रालयका सचिव उमेश बस्नेतले आत्महत्या न्यूनीकरणका लागि सबैपक्ष गम्भीर हुनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रहरी नायव उपरीक्षक नरेन्द्र कँुवर तथा कोसी अस्पतालका डा.आलोक झाले आत्महत्या न्यूनीकरण, रोकथाम तथा चुनोतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

अभियानअन्तर्गत स्थानीय तह, टोल सुधार समिति, प्रहरी तथा विभिन्न संघसंस्थाबीच समन्वय गर्दै मानसिक रोगीहरूले आत्महत्या गर्ने गरेको पाइएको हुँदा त्यस्ता बिरामीलाई उपचारका लागि पठाउने, आत्महत्या समस्याको समाधान होइन समस्याको सुरुआत हो भन्ने कुरा स्थानीय स्तरमा बुझाउने, तनाव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्ने तथा आत्महत्या गर्न सक्ने लक्षण देखिएका मानिसलाई तत्काल मनोपरामर्शको व्यवस्था मिलाउन पहल गर्नेजस्ता कार्य सञ्चालन गर्ने प्रहरी नायव महाननिरीक्षक गिरीले बताए ।

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार प्रदेश–१ मा गत आर्थिक वर्षमा १४ सय ८९ जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये पुरुष ९ सय २२, महिला ४ सय ४३, बालक ६२ तथा बालिका ६२ रहेका छन् । प्रदेश–१ मा एकदिनमा चार जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांक छ
कार्यालयको तथ्यांकअनुसार गत पाँच वर्षमा प्रदेश–१ मा ६ हजार ७ सय ३ जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये पुरुषको संख्या ३ हजार ८ सय ९७, महिला २ हजार १ सय ५९, बालक तीन सय तथा बालिका ३ सय ४७ रहेका छन ।

बझाङमा आत्महत्या गर्नेमा महिला बढी

जिल्लामा आत्महत्या गर्नेमा महिलाको संख्या बढी देखिएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय बझाङले आयोजना गरेको आत्महत्या रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रमा सो तथ्यांक उल्लेख गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बझाङको तथ्यांकअनुसार आर्थिक वर्ष ०७६÷७७ मा जयपृथ्वी नगरपालिकामा ६ महिला दुई पुरुष, बुगल नगरपालिकामा एक महिला, विथ्थडचिर गाउँपालिकामा एक महिला, केदारस्यु गाउँपालिकामा एक महिला दुर्गाथली गाँउपालिकामा एक÷एक महिला दुई पुरुष छविसपाथिभरा गाउँपालिकामा दुई महिला, खप्तडछान्ना गाउँपालिकामा एक महिला तीन पुरुष, मस्टा गाउँपालिकामा दुई महिला दुई पुरुष सुर्मा गाउँपालिकामा चार महिला गरी जम्म २९ जनाले आत्महत्या गरेका छन् ।

त्यस्तै आर्थिक वर्ष ०७७/७८ मा जयपृथ्वी नगरपालिकामा तीन महिला दुई पुरुष गरी जम्मा पाँच जना, बुगल नगरपालिकामा पाँच महिला दुई पुरुष, विथ्थडचिर गाउँपालिकामा दुई पुरुष केदारस्यु गाउँपालिकामा एक महिला एक पुरुष, थलारा गाउँपालिकामा एक महिला एक पुरुष दुर्गाथली गाउँपालिकामा तीन महिला एक पुरुष, छविसपाथिभरा गाउँपालिकामा एक पुरुष, खप्तडछान्ना गाउँपालिकामा चार महिला तीन पुरुष, मस्टा गाउँपालिकामा एक पुरुष, तलकोट गाउँपालिकामा एक महिला एक पुरुष, साइपाल गाउँपालिकामा एक पुरुष र सुर्मा गाउँपालिकामा एक पुरुष एक महिला गरी जम्मा ३६ जना रहेका छन् ।

त्यस्तै आर्थिक वर्ष ०७९÷८० मा महिला पाँच र पुरुष चार जना गरी जम्मा नौ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । आत्महत्या गर्नुको पछाडि, गरिबी, बेरोजगारी, असफलता, आवेश, मानसिक असन्तुलन, दीर्घ रोग, घरेलु हिंसा आदि हुनसक्ने अनुमान छ । प्रारम्भीक अनुसन्धानको क्रममा घरेलु हिंसा, किशोर अवस्थाको माया प्रेम, सामाजिक सञ्जालका कारण आत्महत्या गर्नेहरू बढेका जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी जागेश्वरी भण्डारीले बताए । ‘धेरैजसो आत्महत्याको घटनापछाडि घरेलु हिंसा जोडिएको छ’, ढकालले भने, ‘पछिल्लो समय इन्टरनेट तथा सामाजिक सञ्जालको दुरुपयोगबाट पनि आत्महत्याका घटना बढेका छन् ।’

प्रतिक्रिया