सानु केसीको गीत ‘दशैँ रमाइलो’ सार्वजनिक

काठमाडौं । लोकगायक सानु केसीको ‘दशैँ रमाइलो’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको भिडियो शुक्रबार अनामनगरस्थित संवाद डबलीको हलमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो ।

गीत विमोचन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वरिष्ठ गायक शिवनारायण जोशी, राजु परियारलगायत कलाकारहरुको सहभागिता रहेको थियो ।

गीत विमोचन कार्यक्रमका प्रमुख अतिथि लामाले सम्पूर्ण कलाकारको एकताले लोकदोहोरी क्षेत्रले उच्च गति लिएको बताए । उनले दशैँको माहोलमा बजारमा आएको सो गीत उत्कृष्ट भएको भन्दै कलाकारहरुको हकहितका लागि आफू सधै साथमा रहेर अघि बढ्ने बताए ।

साथै, गायक सानु केसीले आफू लामो समयदेखि कलाकारीतामा सक्रिय हुँदै आएको सुनाउँदै नजिकै आइरहेको महान् चाड विजया दशमीको अवसर पारेर उक्त गीत बजारमा ल्याएको बताए । विमोचन समारोहमा गीतसँग सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै अग्रज कलाकार तथा पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

उक्त गीतमा गायक सानु केसी, जिवन खतिवडा र स्मृति गौतमको आवाज रहेको छ । गायक खतिवडाले शब्द लेखेको गीतमा सानुले संगीत भरेका हुन् । गीतको म्युजिक भिडियोमा भुवन चौलागाईं, लक्ष्मी दर्नाल, प्रविन खत्री, करिष्मा कुँवर, रामकृष्ण घिमिरे र मनोज घोरासैनीको अभिनय रहेको छ ।

उक्त भिडियोमा निर्देशन तथा कोरिग्राफी निरेन श्रेष्ठको रहेको छ भने छायांकन मुकेश हुमागाईं र सम्पादन विनोद बमले गरेका छन् । जुनतारा इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गीत विमोचन समारोहमा वरिष्ठ गायक शिवनारायण जोशी, राजु परियार र सञ्चारकर्मी चन्द्रमणि गौतमलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै गायक राजु परियारले सानु केसी र आफू सँगसँगै सांगीतिक यात्रामा लागेको भन्दै उक्त गीत ‘दशैँ रमाइलो’ले मौलिकता बोकेको बताए ।

प्रतिक्रिया