अनुदान नपाउँदा उद्योग बन्द गरी विदेशिँदै युवा

सुर्खेत । सुर्खेतको पश्चिम चौकुने गाउँपालिका–२ लगामका बुद्धिमान बोहरालाई वैदेशिक रोजगारीमा जाने र मनग्य कमाउने सोच नआएको होइन । विदेशमा भन्दा स्वदेशमै केही न केही उद्यम गर्नुपर्छ भन्ने बलियो सोचले नै उनले स्वदेशमै केही गर्ने अठोटका साथ कागज उद्योग सुरु गरे ।
उनले ०७५ सालमा सुर्खेतकै पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा सिर्जना नेपाली हाते कागज उद्योग सञ्चालनमा ल्याए । दुई रोपनी जग्गा भाडामा लिएर सात लाख रुपैयाँमा नेपाली कागज उद्योग सञ्चालन गरेका उनले आठ जनालाई रोजगारीसमेत दिएका थिए । उद्योगका लागि चाहिने कच्चा पदार्थ दैलेख र कालीकोटबाट ल्याउनुपथ्र्यो ।

सुरुआती चरणमा उद्योग राम्रै चलेको बुद्धिमानले बताए । उनले भने, ‘सुरुमा सात÷आठ लाख रुपैयाँ ऋण लिएर उद्योग सुरु गरेँ । उद्योगले राम्रै आम्दानी दिइरहेको थियो । सुर्खेत र नेपालगञ्ज नेपाली कागजको बजार राम्रो थियो ।’ उद्योगबाट मासिक ६० हजारदेखि डेढ लाख रुपैयाँसम्म नाफा दिइरहेको उनले सुनाए । स्थापनासँगै आठ जनालाई रोजगारी दिएको उद्योगले महिनामै दुईदेखि तीन लाख रुपैयाँसम्म कारोबार गर्दै आएको उनले जानकारी दिए ।

लोक्ता हाते कागजको कच्चा पदार्थ हो । लोक्तालाई पकाएर कागज उत्पादन गर्ने गरिन्छ । लेकाली जंगलमा पाइने बरुवा नामक बिरुवाको बोक्रालाई लोक्ता भनिन्छ । यसैबाट नेपाली कागज तयार हुन्छ । पछिल्लो समय सामुदायिक उपभोक्ता समितिले सामुदायिक वन क्षेत्रमा लोक्ता संकलनमा रोक लगाइदिएपछि उनको उद्योग फस्टाउन सकेन । कच्चा पदार्थ अभाव हुन थालेपछि महँगोमा किन्नुपर्ने अवस्था आएको र उद्योगको नाफा विस्तारै घट्दै जान थालेको पनि उनले बताए ।

कच्चा पदार्थ अभाव हुन थालेपछि नेपाली कागज उत्पादनमा समस्या पर्दै जान थालेको बुद्धिमानको अनुभव छ । उनले भने, ‘सुरुआतको दुई वर्षसम्म उद्योगले कच्चा पदार्थ राम्रै पाइरहेको थियो । विस्तारै वन समितिले लोक्ता संकलन गर्न नदिएपछि कच्चा पदार्थ अभाव हुन थाल्यो । कच्चा पदार्थ महँगियो । कच्चा पदार्थ अभावसँगै उत्पादन पनि घट्न थाल्यो । यता कागजको मूल्य भने अहिले पनि बढेको छैन । यसले उद्योग दिनप्रतिदिन घाटातर्फ गइरह्यो ।’

एकातिर कच्चा पदार्थको अभाव छँदै थियो, अर्कोतिर कोरोना संक्रमणले सबैतिर अस्तव्यस्त बनाइदियो । कोरोनाकै कारण उद्योग सञ्चालनमा समस्या पर्न थालेपछि ऋणको जोहोमा चारैतिर भौतारिँदा पनि कहीँकतैबाट ऋण नपाउँदा उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको बुद्धिमानको गुनासो छ । ‘सञ्चालनको सुरुआतमा त ठीकै थियो, कोरोनापछि उद्योग निरन्तर घाटामा जान थाल्यो,’ उनले भने, ‘कोरोनाको दोस्रो लहर सुरु भएपछि कच्चा पदार्थको अभाव, आर्थिक स्रोत र बजारीकरणले उद्योग नै बन्द गर्नुपर्ने अवस्था आयो ।’ उद्योगबाट राम्रै आम्दानी गर्न सकिने सम्भावना रहे पनि लगानीको अभावमा उद्योग बन्द गर्नुपरेको उनले बताए ।

उनले उत्पादित कागज बिक्री गर्न टाढा जानुपर्ने झन्झटिलो प्रक्रिया, लगानीअनुसारको प्रतिफल नआउनु, पर्याप्त मात्रामा औजार नहुनु, समयमा कच्चा पदार्थ नपाइनु, ढुवानीको समस्या लगायतका कारणले उद्योग सञ्चालमा समस्या आएको बताए । उनका अनुसार जाजरकोट, दैलेख, कालीकोटका जंगलमा पाइने लोक्ताको पनि अभाव भयो । उनकोे उद्योगबाट नोटबुक, डायरी, फोटोकपी पेपर, एफोर साइज पेपर, गिफ्ट बक्स, गमलालगायत नेपाली हाते कागजका आकर्षक सामग्री उत्पादन हुने गर्दथ्यो । हाल कागज बनाउनका लागि महँगो र कोरोनाका कारण बजारको व्यवस्था नभएपछि उद्योग बन्द गरेको उनले सुनाए । ‘न चाहिएको बेला कच्चा पदार्थ आउँछ, न कतैबाट अनुदान पाइयो, उद्योग सञ्चालन गर्न मुस्किल परेपछि बन्द गर्न बाध्य भएँ,’ उनले भने । स्थानीय, प्रदेश तथा केन्द्र सरकारले वितरण गर्ने अनुदानसमेत टाठाबाठाले पाउने गरेको उनकोे गुनासो छ ।

स्थानीय तथा प्रदेश तहमा बारम्बर धाइरहँदा पनि उद्योगलाई कुनै सहयोग नभएको उनले गुनासो गरे । स्वरोजगारमूलक तथा परम्परागत लघु घरेलु तथा साना उद्यमलाई सरकारले प्रोत्साहन गर्न नसकेको उनको गुनासो छ । अनुदान र ऋणका लागि सम्बन्धित निकायमा जाँदा पनि कमिसनमा मोलमोलाई हुने गरेको तीतो अनुभव उनले सुनाए । अनुदान माग्दा हाकाहाकी यति र उति प्रतिशत भन्दै कमिसन माग्ने भेटिएको उनले बताए ।

कोरोना महामारीका कारण उद्योगमा परेको प्रभावले अहिले बुद्धिमान विदेशिने तयारीमा छन् । कोरोनाका कारण दोस्रो पटकको बन्दाबन्दीका कारण उद्योग पूर्णरूपमा बन्द गर्नुपरेको उनले बताए । ‘कतैबाट ऋण तथा अनुदान नपाएपछि अहिले विदेश जाने तयारी गरेको हुँ,’ उनले भने । उद्योगको ऋण र परिवार पाल्नकै लागि विदेशिन बाध्य भएको सुनाउँदै गर्दा उनले कागज उद्योग बन्द गरेर रोजगारी दिएका सबैलाई बिदाइसमेत गरिसके । कच्चा पदार्थको भाउ बढ्दा पनि कागजको भने मूल्य नबढ्नुले उद्योग सञ्चालनमा कठिनाइ भएको उनको अनुभव छ । चार वर्ष पहिला र अहिलेको कागजको मूल्य एउटै भए पनि कच्चा पदार्थको मूल्य आकासिएको उनले सुनाए ।

नेपाली कागज उत्पादनका लागि सरकारले दिने अनुदानसमेत वास्तविक उद्यमीले पाउन नसक्दा आफूजस्ता उद्यमी विदेश पलायन हुनुपर्ने अवस्था आएको उनले गुनासो गरे । साना तथा घरेलु उद्योग महासंघका अनुसार कर्णालीमा करिब १७ हजार साना तथा घरेलु उद्योग छन् । तीमध्ये मुस्किलले १० प्रतिशत उद्योग मात्र नियमित सञ्चालनमा छन् ।

प्रतिक्रिया