साथीले छुरी प्रहार गरी अबुधाबीमा साथीकै हत्या गरे

खोटाङ । रोजगारीका सिलसिलामा दुबई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा दम्कुका मेखराज ढकालको साथीको छुरी प्रहारबाट मृत्यु भएको छ ।

युएईको अबुधाबी अलदाफ्रास्थित एएमबी हेरटेल एलएलसी नामक कम्पनीमा कार्यरत ढकालको बागलुङको निसीखोला गाउँपालिका–६, निसीका दिलबहादुर बुढाको छुरी प्रहारबाट मृत्यु भएको हो ।

सेप्टेम्बर २ को राति बुढाले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका ढकालको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

दुई जनाबीच भनाभन चलेको र सुत्न गएको बेला बाथरुम छेउमा बसिरहेका बुढाले ढकाललाई छातीमा छुरा प्रहार गरेको दाजु बसन्त ढकालले बताए ।

घटनास्थलमा ४६ मिनेटपछि मात्र प्रहरी पुगेको थियो । एम्बुलेन्समा राखेर अस्पताल लैजाने क्रममा करिब ८–१० मिनेटपछि ढकालको मृत्यु भएको थियो । छुरी प्रहार गर्ने बुढालाई घटनालगत्तै प्रहरीले पक्राउ गरेको छ । ढकाल चार वर्षअघि रोजगारीको सिलसिलामा दुबई पुगेका थिए ।

उनी ६ महिनाअघि छुट्टी मनाउन घर आएर दुबई फर्केका थिए । एयर अरबियामार्फत ल्याइएको उनको शवलाई शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको नारायण बस्नेतले जानकारी दिए । उनका घरमा बृद्धावस्थाका आमा बुवा, दाजुभाउजू र दिदी छन्

प्रतिक्रिया