लाखौँ डलरको वाइन चोर्ने ‘ब्यूटी क्वीन’ पक्राउ

म्याड्रिड । मेक्सिकोकी पूर्व ब्यूटी क्वीन १७ लाख अमेरिकी डलरबराबरको वाइन चोरी गरेको आरोपमा पक्राउ परेकी छन् । उनीसँगै उनका एकजना रोमानियाली–डच सहयोगीलाई वाइन बोतलहरू चोरी गरेको अभियोगमा क्रोसियामा पक्राउ गरिएको हो ।

विगत ९ महिनादेखि उनीहरूलाई प्रहरीले युरोपभरि लखेट्दै आएको जनाएको छ । स्पेनी राष्ट्रिय प्रहरीले जारी गरेको विज्ञप्तिमा उनीहरूले सन् २०२१ अक्टोबर २७ मा पश्चिमी सहर क्यासेरेसमा १९ औँ शताब्दीको ३ लाख १० हजार युरो पर्ने एक वाइन बोतल लगायत १६ लाख ५० हजार युरो पर्ने अन्य ४५ बोतल वाइन चोरेको बताएको छ ।
उनीहरूले निकै होसियारीपूर्वक पूर्वनियोजित योजनाअनुसार प्रसिद्ध होटेल रेस्टुरेन्ट एल एट्रियोबाट ती वाइन बोतल चोरेका हुन् ।

प्रहरी अनुसन्धानकर्ताहरूका अनुसार ती २९ वर्षीया मेक्सिकन महिलाले सो होटेलका वेटरहरूलाई अन्य काममा अलमलाएर वाइन चोर्न सफल भएकी थिइन् । उनका ४७ वर्षीय सहयोगीले मास्टर कि प्रयोग गरी वाइन राखिएको दराज खोलेका थिए ।

प्रतिक्रिया