कावासोती । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पूर्वी नवलपरासीमा पनि दलहरुले उम्मेदवार सिफारिस गर्न सुरु गरेका छ्न् ।
दुई निर्वाचन क्षेत्र भएको जिल्लामा केन्द्रीय नेतालाई दलहरुले उम्मेदवारका रुपमा आफ्ना माथिल्ला कमिटीलाई नाम सिफारिस गर्न सुरु गरेका हुन् ।
जिल्लाको संघीय निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले २०६४ देखि निरन्तर निर्वाचन जितेका डा. शशाङ्क कोइराला र उद्योगपति विनोद चौधरीसहित ६ जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।
कांग्रेसबाट डा. कोइराला, चौधरी, हेमराज कोइराला, गणेश सापकोटा, ओमकला गौतम र महेन्द्रभक्त अधिकारीलाई क्षेत्रिय समितिले सिफारिस गरेको सभापति अमृत भट्टचनले बताए ।
त्यसैगरी नेकपा (माओवादी केन्द्र) ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ठाकुर चापागाईं, ईन्द्र भुसाल, षडानन्द सापकोटा र पार्वती आचार्यको नाम सिफारिस गरिएको माओवादी केन्द्रीय सदस्य एवं जिल्ला संयोजक धनप्रसाद सापकोटाले बताए ।
नेकपा (एमाले) ले केन्द्रीय सदस्यद्वय कृष्ण पौडेल र रवीन्द्र अधिकारी तथा नारायणप्रसाद तिमिल्सिनाको नाम प्रत्यक्षतर्फ माथिल्लो कमिटीमा सिफारिस गरेको छ ।
जिल्लाको क्षेत्र नम्बर १ मा २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएको कांग्रेसले चौथो पटक डा. कोइरालालाई नै मैदानमा उतार्ने पक्कापक्की भएको बताइएको छ ।
कोइरालासँगै अर्का केन्द्रीय सदस्य एवं उद्योगपति चौधरीले क्षेत्र नम्बर २ मा आकांक्षा देखाएको र त्यही क्षेत्रको दाबीलाई सहज बनाउन पहल भइरहेको बताइएको छ ।
प्रतिक्रिया