सिजी पोलिटेक्निकल सीपले दियो सयौँलाई रोजगारी

नवलपुर । चौधरी ग्रुपको सीपमूलक तालिम सञ्चालनले स्थानीय युवाहरुको दैनिकीमा परिवर्तनसँगै ठूलो संख्यामा रोजगारी सिर्जना भएको छ ।

पूर्वी नवलपरासीको देचवुली नगरपालिका–२ मा रहेको चौधरी उद्योग ग्राम परिसरमा २०६६ सालमा सुरु गरिएको सीप प्रशिक्षण तालिम सञ्चालन भएसँगै सिंगो नवलपुर र यसबाहेकका अन्य जिल्लाका युवायुवतीहरुले पनि तालिममा सहभागी भएर सीप आर्जन र सिकेका सीपलाई व्यवहारमा उतारी आफ्नो दैनिकी चलाइरहेका छन् ।

०६६ सालमा मेकानिकलबाट सुरु गरेको सीपमूलक तालिम २०६७ सालमा सिटिइभिटीसँग समन्वय गरी सिटिइभिटीकै मान्यताका अनुरुप सिजी पोलीटिक्नकल सञ्चालन गरिएको हो ।

उद्योग परिसरको छुट्टै भवनमा हुने तालिममा इलेक्ट्रोनिक, उद्योगमा सञ्चालन हुने विभिन्न हेभी मेसिन मर्मतलगायतका धेरै प्रकारका विशेष गरी उद्योगसँग सम्बन्धित सीप प्रशिक्षण प्रदान गर्दै आएको छ ।

सिजी पोलिटेक्निकलको मुख्य उद्देश्य उद्योग र आफूलाई दैनिक जीवनमा आवश्यक पर्ने सामान्य सीपको विकास र स्वदेश तथा विदेशमा रहेका ठूला उद्योगमा आवस्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नु नै हो ।

‘हाम्रो मुख्य उद्देश्य भन्नु नै उद्योगका लागि आवस्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नु हो,’ पोलिटेक्निकल तालिमका प्रिन्सिपल शिवहरि ढकालले भने । उनका अनुसार चौधरी उद्योग ग्राममै सञ्चालित तालिममा सहभागी विद्यार्थीहरुलाई प्राविधिक विषयमा आवस्यक प्रयोगशाला, औजारहरु पर्याप्त मात्रामा उपलब्ध गराइएको छ ।

‘तालिममा सहभागी हुन आउने विद्यार्थीहरुलाई आवस्यक सबै औजार र सीप विकासका लागि आवस्यक पर्ने शिक्षकदेखि प्रयोगात्मकका लागि आवस्यक पर्ने सबै विषय वस्तुहरु हामी नै दिन्छौँ,’ ढकालले भने ।

१२ वर्षअघिदेखि सञ्चालन हुँदै आएको उक्त सीप विकास तालिममा सहभागी विद्यार्थीहरुका लागि ६ महिनासम्म सीप सिकाइन्छ । सिटीइभिटी र चौधरीको लोगो अन्तर्राष्ट्रियस्तरमा परिचित भएको हुँदा हरेक वर्ष प्रदान गरिने तालिममा विद्यार्थीहरुको संख्या बढ्ने गरेको ढकालले बताए ।

‘यहाँ तालिम लिन आउने विद्यार्थीहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सजिलै रोजगार पाउने गरेका छन्, चौधरी ग्रुपको लोगो र सिटीइभिटी मान्यता भएकै कारण तालिम लिन आउनेहरुले सहज महसुस गरेका छन,’ ढकालले भने । उनका अनुसार आर्थिक वर्ष २०६६–०६७ देखि हालसम्म दुई हजार दुई सय ६३ जनाले तालिम लिइसकेका छन् ।

सिजी पोलिटेक्नीकलको तालिममा सहभागी हुने विद्यार्थीहरुले विशेषतः सीपमूलक तालिम नै सिक्ने गरेका छन् । जसमा क्षमता विकास, विकासात्मक, पूर्वाधार विकास, अनुसन्धान विकास, बजार विकास र व्यापार विकासलगायतका विषयमा तालिम प्रदान गर्ने गरेको पोलिटेक्निकल सीप प्रदान गर्ने टोलीले जनाएको छ ।

तालिम लिएपछि १५ सय युवायुवती स्वरोजगार

सिजी पोलिटेक्नीकलबाट सीप सिकेका दुई सय जना हाल सोही चौधरी उद्योगमा कार्यरत छन् । चौधरी ग्रुपकै सीपमूलक तालिम केन्द्रमा सीप लिएकाहरु अहिले दुम्कौलीस्थित चौधरी उद्योग ग्राममा दुई सय, दुम्कीबासस्थित सिजी सिमेन्ट उद्योगमा र अन्य उद्योगमा सजिलै रोजगार गरी आफ्नो दैनिकी चलाउँदै आएका छन् ।

देवचुली नगरपालिका–२ का दिनेश पौडेलले २०७१ सालमा मेसिन सञ्चालनसम्बन्धी सीप सोही सिजी पोलिटेक्नीकलमा सिके । सीप सिकेको करिव एक वर्षमा उनले सोही चौधरी उद्योगको कार्टुन उत्पादन गर्ने क्षेत्रमा रोजगार पाए र अहिले सोहि रोजगारबाट मासिक ३५ हजारसम्म आम्दानी गरेका छन् ।

‘२०७१ सालमा चौधरी उद्योगकै परिसरमा सीप सिके, सीप सिके पछि मेसिन चलाउन सकियो अहिले सोही सीपअनुसारको काम पाएको छु,’ सीप सिकेर स्वरोजगार बनेका दिनेश पौडेलले भने । उनी मात्र होइन, उनी जस्ता धेरै विद्यार्थीहरु सीप सिकेर देश र विदेशका विभिन्न प्रतिष्ठित उद्योगहरुमा रोजगार गरी आर्थिक आयआर्जन गर्दै आएका छन् ।

आगामी दिनमा युवायुवतीहरुका लागि अहिले आवश्यक पर्ने र बढी माग भएको सीपअन्तर्गत हाउसकिपिङ, मोबाइल, कम्प्युटर मर्मत, मोटर साइकल मर्मत, वेटरलगायतका तालिमहरु प्रदान गर्ने योजना छ । सिजी पोलिटेक्निकलले आयुर्वेद, योगालगायतका विषयमा पनि तालिम प्रदान गर्ने बताइएको छ ।

प्रतिक्रिया