बलेवा । अभिभावकले बालबालिकालाई घरबाटै खाजा बनाएर पठाउन् भनेर बजारको बनावटी खाना (जंकफुड) निषेध गरिएको छ । बागलुङ नगरपालिका–७ को गौरीशंकर प्राविमा जंगफुड ल्याएको भेटेमा विद्यालयले दिँदै आएको खाजा खर्च नदिने निर्णय गरेको हो । यो निर्णयले अभिभावकले घरबाटै नियमित खाजा बनाएर पठाइदिन थालेका छन् । विद्यालय छेवैका पसलबाट नियमितजसो चाउचाउ, चकलेट लगायतका जंकफुड ल्याउने, प्लास्टिकजन्य फोहोर जथाभावी फाल्ने क्रम बढेपछि विद्यालयले घरबाटै खाजा ल्याउने निर्णय गरेको थियो । उक्त निर्णय मान्नेलाई सरकारले दिएको खाजा खर्च उपलब्ध गराउने, नत्र नदिने भएपछि नियमित रूपमा घरघरबाट खाजा बनेर आउने गरेको प्रधानाध्यापक सरिता गौतम सापकोटाले बताए ।
नेपाल सरकारले प्राथमिक तहका बालबालिकालाई दैनिक १५ रुपैयाँ खाजा स्वरूप दिने व्यवस्था गरेको छ । ‘विद्यालयले एकमुष्ठ पैसा दिएपछि जे ल्याए पनि कराउनैपर्ने थिएन तर जंकफुडले बालबालिकाको पेट दुख्ने र पैसा नभएका अभिभावक र विद्यार्थीलाई एकरूपता गराउन नसकिने भएपछि यो निर्णय गर्नुपरेको हो,’ गौतमले भने, ‘अहिले बालबालिकाले खाजा खाँदा धनी र गरिबका छोराछोरी भनेर देखिँदैन ।’ विद्यालयले एकमुष्ठ रकम दिएर दैनिक खाजाको क्यालेन्डर पनि घरमा पठाइदिएको छ ।
अभिभावकलाई पनि यो निर्णयले सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र पौडेलले बताए । ‘हरेक दिन फरकफरक खाजा खुवाउन पनि सकिएको छ’, पौडेलले भने, ‘बालबालिका पनि रमाएर खाजा खान तयार हुन्छन् ।’ तोकेको दिन सबैको खाजा एकै प्रकारको हुनुपर्ने प्रावधान छ । उनका अनुसार विद्यालयले हरेक आइतबार रोटी र तरकारी, सोमबार मकैभट्ट र मंगलबार अण्डा तरकारीको व्यवस्था गर्न क्यालेन्डर बनाइएको हो । त्यस्तै बुधबार हलुवा पिठो, बिहीबार चना र शुक्रबार खट्टे घ्यू खुवाउने गरिएको हो । विद्यालयले दिएको तालिकाअनुसार सबै बालबालिकाको खाजा एकै प्रकारको भएपछि मिठोनमिठो भन्ने अवस्था नरहेको गौतमले बताए ।
कतिपय विद्यालयले भने सामग्री किनेरै अभिभावकलाई दिने गरेका छन् । बानपा–८ को सिगानास्थित बौडे चउर माविमा भने विद्यालयले सामग्री खरिद गरेर दामासाही दिएको हो । यसरी दिँदा थोरै खर्चमा धेरै सामग्री किन्न सकिएको अभिभावकले बताए । खाजाको क्यालेन्डर बनाएर नियमित घर घरबाट ल्याएको खानेबानीले बालबालिकाको स्वास्थ्य राम्रो भएको गौतमले बताए । उनीहरूको कामबाट शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कुश्मराज उपाध्याय प्रभावित भएको बताए । ‘विद्यालयले राम्रो काम गरेको रहेछ’, उपाध्यायले भने, ‘खाजाको एकरूपता भएको छ, धनी र गरिबबीचको खाडल पनि पुरिएको देखियो ।’ मिठो मसिनो मात्रै पठउने र जंकफुडमा खर्च गर्नेले पनि तोकिएकै खाजा ल्याउन बाध्य भएपछि बालबालिकामा विभेद नदेखिएको उनले बताए ।
विद्यालयले प्लास्टिकजन्य फोहोरको व्यवस्थापनमा पनि एकरूपता ल्याएको छ । प्लास्टिकजन्य फोहोर ननिकाल्ने, निस्केमा पनि उचित स्थानमा राखेर व्यवस्थापन गर्ने तथा नियमित विद्यालय सफाइ गर्ने व्यवस्थासमेत भएको अर्का शिक्षक नीता गैरेले बताए । ‘सुरुसुरुमा शिक्षकले गर्दा बालबालिकामा पनि बानीको विकास भएको छ’, गैरेले भने, ‘राम्रो आचरण बसाल्दा समाजलाई पनि फाइदा भएको छ ।’
प्रतिक्रिया