बन्दले प्युठान ठप्प

प्युठान । नेपाल बन्दको प्रभाव प्युठानमा पनि परेको छ । जिल्लामा लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन चलेका छैनन् । सवारी साधन नचल्दा गन्तव्यमा हिडेका यात्रुहरुलाई समस्या भएको छ ।

जिल्लामा अप्रिय घटना नघटेपनी चाडपर्वको बेला टाढाटाढाबाट गाउँ आउजाउ गर्ने यात्रुलाई समस्या भएको बताइएको छ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव नेतृत्व) सहित तीन पार्टीले मंगलबार नेपाल बन्दको आह्वान गरेको जनाएको छ ।

जिल्लाको मरन्ठाना, विजुवार, खलंगा, बाग्दुला, भिङ्ग्रीलगायत जिल्ला भरनै सञ्चालित पसल, उद्योग धन्दाहरु प्रायः बन्द छन् । बिहानैदेखि नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यक्रताहरु चोकमा बन्द गराउँदै हिँड्ने गरेका छन् ।

सरकारसँग भएको तीन बुँदे सहमति उल्लंघनन गरिएको, राष्ट्रघाती नागरिकता विधेक पारित गर्ने, पार्टीका नेता कार्यकर्ताहरुमाथि पक्राउ पुर्जी जारी गर्ने, पक्राउ गर्ने दुख दिने,एमसिसी, महंगी र राष्ट्रघाति सन्दिसम्झौताको विरुद्ध संघर्ष सुरु गर्ने भन्दै तीन दलले प्यूठान सहित देशैभर नेपाल बन्दको आह्वान गरिएको नेपाल कम्युनिष्ट पार्टी (विप्लप नेतृत्व) का प्युठान सेक्रेटरी केशव थापाले जानकारी दिए ।

अहिलेसम्म आफूहरुले सडकमा हिँडडुल गर्ने यातायात साधनलाई सोधपुछ गरेको र अत्यावश्यक भएकाहरुलाई गन्तव्यमा छाडिएको र जबर्जस्त गर्नेलाई नियन्त्रणमा समेत लिने गरिएको सेक्रेटरी थापाले बताए ।

बन्दको समयमा अस्पताल, होटल, चिया खाजा घर, एम्बुलेन्स, प्रेस, लगाएतका अत्यावश्यक सवारी साधन संचालनमा भने कुनै रोक नलगाइएको थापाले बताए । बन्दमा सार्वजनिक सवारी साधन, उद्योग धन्दा, स्कुल, कलेज कार्यालय बन्द गरि सहयोग गरिदिन सम्पूर्णलाई जिल्ला सेक्रेटरी थापाले अपिल समेत गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यक्रम अनुसार आज बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने बताइएको छ । यता जिल्ला प्रहरी कार्यालय प्यूठानले मंगलबार बन्दको घोषण भएसँगै सोमबार साँझदेखि नै प्रहरी परिचालन गरेको बताएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया