सुन तस्करी नियन्त्रणका लागि नेपाल सरकारले ठूलै साधन स्रोत परिचालन गर्न थालेको दशकौँ बितिसकेको छ । सुन तस्करी हुने भनेको देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ प्रहरी, कर्मचारी, सुराकी तथा विभिन्न उपकरण तथा प्रविधिका लागि देशको ढुुकुटीबाट मासिक करोडौँ रुपैयाँ खर्च हुन्छ । तैपनि सुन तस्करी भइरहेकै छ । सुन तस्करीमा राज्यको शक्ति केन्द्रमा पहुँच हुनेहरूको संलग्नतालाई प्रहरीले समेत स्वीकार गरिसकेको छ ।
सुन तस्करीको सिलसिला नयाँ पनि होइन । पञ्चायतकालमा समेत मन्त्री तथा सांसदहरूले सुन ओसारेका कतिपय घटना सतहमा आएका थिए । सुन तस्करीमा प्रहरीले आँखा चिम्लेको पनि देखिँदैन । किनकी हरेक साता केही न केही सुन बरामद भएकै छ । बास्तविक सुन तस्कर उम्के पनि भरियाहरू पक्राउ पर्ने गरेका घटना बाक्लै छन् । भन्सारमा रहेको चेकजा“च प्रविधिले समेत फेला पार्न नसक्ने तरिका अपनाएर सुन तस्करी हुने गरेको प्रहरीको भनाइ छ । प्रहरीभित्र पनि दुई खालका जनशक्ति छन् । एकखाले जनशक्ति साँच्ची नै इमानदार छन्, एकखाले जनशक्ति तस्करसँग मिलेका छन् ।
तस्करसँग मिलेका प्रहरीहरूको गृहमन्त्री तथा प्रधानमन्त्रीसम्म सिधै पहुँच हुने गर्छ । त्यसैले सुन तस्करीलाई ‘ओपन सेक्रेट’ जस्तै मानिएको छ । सुन अत्यावश्यकीय उपभोग्य बस्तु होइन । सामान्य पुँजी हुनेहरूले सुनतस्करी गर्न सक्दैनन् । उदाहरणका लागि सुनको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिकेजी अनुमानित ७५ लाख रुपैयाँ पर्छ । नेपालमा करिव ८० लाख रुपैयाँ पर्छ । भारत पु¥याउन सक्दा ८२ लाख जति पर्छ । एक केजी सुन तस्करी गर्दा नाफा हुने भनेको ५÷१० लाख रुपैयाँ मात्रै हो, तर पक्राउ प¥यो भने ठूलो रकम डुब्छ । यति हुँदाहुँदै पनि सुन तस्करी घटेको छैन ।
सुन तस्करी बढ्नुको मुख्य कारण भनेको हाम्रो संस्कार हो । सुन किनेर राख्ने या सुनका गहना लगाउने संस्कार छ हाम्रो । एकातिर सुनलाई भरपर्दो सम्पत्तिका रूपमा लिने गरिन्छ भने अर्कातिर समाजमा रवाफ देखाउन आफ्नो शरीरमा सुनका गहना प्रदर्शन गर्ने विकृति छ । केही पैसा जम्मा हुनासाथ उत्पादक क्षेत्रमा प्रयोग गर्नुको सट्टा सुन किन्ने प्रवृत्ति नेपालीहरूमा बढ्दै गएको छ । जब जनताले सुन खरिदमा पैसा लगानी गर्न थाल्छन् तब देशको आर्थिक उन्नती संभव छैन ।
त्यसैले सरकारले सुन आयतमा कडाइ गरेको छ । दैनिक १५ किलोभन्दा बढी सुन आयात गर्न नपाइने गरी सरकारले कोटा तोकेको छ । तर दैनिक खपत २५ केजी हुने गरेको तथ्यांक छ । माग र आपूर्तिमा देखिएको यो असन्तुलन नै सुन तस्करीको मुख्य कारक हो । यति मात्रै होइन, नेपाल र भारतबीच खुला सिमाना छ । भारतमा सुनको वैधानिक आपूर्ति वार्षिक आठ सय मेट्रिकटन छ, तर माग भने वार्षिक १२ सय मेट्रिक टन छ । माग र वैधानिक आपूर्तिबीचको यो खाडलका कारण भारतमा ठूलो परिमाणमा सुन तस्करी हुन्छ ।
यसका लागि अन्तर्राष्ट्रिय क्षेत्रका तस्करहरूले नेपाली भूमि प्रयोग गर्न सजिलो ठानेका छन् । नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षाकर्मी तथा कर्मचारीलाई खरिद गर्न सजिलो रहेको ठम्याई अन्तर्राष्ट्रिय क्षेत्रका तस्करहरूको छ । नेपालमा ल्याइसकेपछि भारत पु¥याउन कुनै समस्या छैन ।
पञ्चायतकालमा राजपरिवारको संलग्नतामा सुन तस्करी हुने गरेको थियो । राजपरिवारबाट आशीर्वाद पाउनेबाहेक अरूले सुन तस्करीको हिम्मत गर्दैनथे । प्रजातन्त्र आइसकेपछि ०५४÷०५५ सालतिर सरकारले नै गोप्यरूपमा निश्चित व्यापारीलाई सुन तस्करीको ठेक्का दियो । अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सीमा क्षेत्रसम्म नेपाल प्रहरीको स्कटिङमा सुन ओसारिने गरेका समाचार त्यतिबेला मिडियामा आए । ती समाचार असत्य थिएनन् ।
नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना सुरक्षाकर्मी राख्न पाउनुपर्ने प्रस्ताव भारतले त्यतिबेलादेखि नै राख्दै आएको हो । सुन किन्न भन्दा बैंकमा निक्षेप जम्मा गर्दा बढी फाइदा हुने अवस्था जबसम्म बन्दैन, तबसम्म सुन तस्करी रोक्न सजिलो हुन्न । यो मामिलामा नेपाल–भारत दुबै देशका नीति निर्माण तहमा रहनेहरूको ध्यान जानु जरुरी छ ।
प्रतिक्रिया