उत्तरतर्फको नाका तत्कालै नखुल्ने

नेपाली व्यवसायीको लगानी जोखिममा

काठमाडौं । सरकारले चीनसँग जोडिएका नेपाली नाकाहरू तत्कालै नखुल्ने बताएको छ । चीनको तिब्बतस्थित नेपाली महावाणिज्यदूतावासले सोमबार परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै यस्तो जानकारी दिएको हो । चीन र नेपाललाई जोड्ने विभिन्न सडक खण्डमा कोभिडको संक्रमण बढेकाले ती स्थानमा लकडाउन गरिएका कारण तत्काल नाका खुल्ने अवस्था नरहेको महावाणिज्यदूतावासले जनाएको छ ।


चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका वाणिज्यदूत जिम्सन रुम्दाली राईले सिगात्से, केरुङ, न्यालमजस्ता व्यापारिक मार्गका सहरहरूमा कोभिडको संक्रमण बढ्दै गएकाले ती स्थानमा पूर्ण रूपमा लकडाउन जारि रहेकाले तत्कालै नाकाहरू सञ्चालनमा आउन नसक्ने बताएका छन् ।

‘लकडाउन जारि भएको अवस्थामा कोभिड प्रोटोकल पालना गर्दै ट्रक ढुवानी गर्ने व्यवस्थाका लागि अनुरोध गरिएको छ,’ जारि विज्ञप्तीमा भनिएको छ, ‘तर, हाल कोभिड संक्रमण बढ्ने क्रममा रहेकाले ल्हासा, सिगात्से, न्यालम, केरुङलगायतका स्थानमा पूर्ण रूपमा बन्दाबन्दी रहेकाले नाका तत्काल खुल्ने सम्भावना निकै कम छ ।’
चीनको तिब्बत स्वायत्त क्षेत्रको ल्हासा सहरलगायत विभिन्न स्थानमा विगतको लकडाउन हालसम्म जारि रहेको र प्रत्येक तीन महिनामा लकडाउनको अवधि थपिँदै गएको जानकारी गराउँदै महावाणिज्यदूतावासले चीन सरकारले हाल अनिश्चितकालका लागि लकडाउन गरेको आधिकारिक रूपमा पुष्टि गरेका छन् ।

महावाणिज्यदूतावासका अनुसार लक डाउनका कारण चाडपर्व लक्षित तयारी सामग्री (जुत्ता चप्पल, लुगाफाटोलगायत), जुत्ता चप्पल र लुगा बनाउने कच्चा पदार्थ, विभिन्न बस्तुको कच्चा पदार्थ, स्याउ, लसुन, खाद्यान्न, ओखर, हाइड्रो पावरको सामान, विद्युतीय सवारी साधनलगायत अत्यावश्यक सामग्रीसहितको करिब ५५ ट्रक चीनतर्फको तिब्बतको विभिन्न स्थानमा रोकिएको छ ।

चीनको अन्य सहरमा पनि कोभिड संक्रमण देखिएकाले नेपाल जाने सामानसहितको ट्रक सोही सहरहरूमा रोकिएको अवस्थामा छ । तिब्बतमा अत्यावश्यक स्वास्थ्य क्षेत्रबाहेक भन्सार कार्यालय, व्यापारिक नाकासहित सम्पूर्ण सरकारी कार्यालय बन्दछन् ।

भूकम्पअघिसम्म रसुवा र तातोपानी नाकाबाट दैनिक पाँच सयको हाराहारीमा सामानसहित कन्टेनर नेपाल भित्रिए पनि भूकम्पपछि विभिन्न वहानामा ती दुवै नाका अवरुद्ध हुँदा पछिल्लो समय दैनिक जेनतेन २० कन्टेनर मात्रै नेपाल आइरहेको थियो । भन्सार कार्यालय तातोपानी प्रमुख नारद गौतमका अनुसार भूकम्पपछि ती दुवै नाकाबाट दैनिक ६ देखि १४ वटासम्म मात्रै कन्टेनर आइरहेको थियो ।
परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमण सकेर फर्किएलगत्तै चीनले रसुवा र तातोपानी नाका बन्द गरेको हो । गत साउनमा मन्त्री खड्काले चीन भ्रमण गरेका थिए । चीन भ्रमण सकेर फर्किएलगत्तै उनले कोभिडको संक्रमण सकिएपछि ती दुवै नाका खुल्ने विषयमा सहमति भएको बताएका थिए ।

चीनले पछिल्लो समयमा गत साउन २५ गतेदेखि तातोपानी र रसुवा नाकाबाट सामान पठाउन पूर्ण रूपमा रोक लगाएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष रामचन्द्र पराजुलीका अनुसार आसन्न दसैं तिहार र जाडो यामलाई लक्षित गरी मालसामानसहितको करिब २ सय ५० को संख्यामा कन्टेनर तिब्बतको विभिन्न क्षेत्रमा अलपत्र परेका छन् ।

चाडपर्वकै मुखमा चीनले नाका बन्द गर्दा व्यवसायीहरूको अर्बांै रुपैयाँ डुब्ने अवस्थामा पुगेको पराजुलीले जानकारी दिए । बैंकबाट चर्को ब्याज दरमा ऋण लिएर समान खरिद गरी लोड गरिएको कन्टेनर उतै अलपत्र परेपछि व्यवसायीहरू डुब्ने जोखिममा रहेको पराजुलीले बताए । उनका अनुसार लामो समयसम्म कन्टेनरमै सामान थन्किँदा सामानको गुणस्तर बिग्रिए त्यसको क्षतिसमेत नेपाली व्यापारीले नै उठाउनुपर्छ ।

कोभिडका कारण अघिल्लो दुई वर्षमा सामान नेपालसम्म आइनपुग्दा करिब चार प्रतिशत नेपाली व्यापारी पलायन भएको जानकारी दिँदै उनले भने, ‘यसपटक लोड भएका सामानसहितको कन्टेनर नआउने हो भने करिब २५ प्रतिशत व्यापारी व्यापारबाट पलायन हुने जोखिममा पुगेका छन् ।’ उनका अनुसार करिब २० दिनअघि सामान कन्टेनरमा लोड गरिएको थियो । लोड भएका कन्टेनर उताबाट हिँड्ने सुरसार गरेलगत्तै चीन सरकारले तिब्बतको विभिन्न सहर र नाकाहरू पूर्णरूपमा बन्द गरेको थियो ।

केरुङबाट रसुवा नाका हुँदै र खासाबाट तातोपानी नाका हुँदै सडकमार्ग भएर कन्टेनरहरू करिब २० दिनमा काठमाडौं आइपुग्छन् । तर, पछिल्लो समयमा फेरि सडक मार्ग अवरुद्ध भएपछि ठूलो लगानी भएका व्यवसायीले महँगो भाडा तिरेर पानी जहाजमार्फत चीनको गाञ्जाओ–सिंगापुर–मलेसिया–कोलकाता हुँदै वीरगञ्ज, विराटनगर र भैरहवा नाकाबाट सामान भित्र्याउँदै आएका छन् । पानीजहाजबाट सामान ल्याउँदा सडक मार्गभन्दा झण्डै १५ प्रतिशत बढी ढुवानी खर्च लाग्ने पराजुलीले बताए ।
अर्को वैकल्पिक बाटो भनेको हवाई मार्ग पनि हो । तर, यो मार्गबाट ल्याउँदा सडक मार्गको तुलनामा प्रतिकिलो ढुवानी खर्च १ हजार २ सय रुपैयाँ बढी पर्छ ।

‘सडक मार्गबाट सामान आउँदा आमउपभोक्तालाई उपभोग्य बस्तु सस्तो पर्छ,’ पराजुलीले भने, ‘तर, हवाई मार्ग र पानीजहाजमार्फत ल्याउने सय जना व्यापारीमध्ये एक÷दुई जना मात्रै हुन्छन् ।’ पानीजहाजबाट सामान ल्याउँदा चीनबाट नेपालसम्म आइपुग्दा दुई महिना समय लाग्ने भएकाले पनि निकै कम मात्रामा यो मार्ग प्रयोगमा आउने उनको कथन छ ।

प्रतिक्रिया