काठमाडौं । मोरङ जिल्लाको सुनवर्षी नगरपालिका– ८ खरेवारी सीमा ईलाकाबाट पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । आइतबार सशस्त्र प्रहरीले दुई वटा पेस्तालसहित सोही ठाउँ बस्ने २८ वर्षीय आरिफ आलमलाई पक्राउ गरेको जनाएको छ ।
को २७ प ४०६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीले एक अटोमेटिक चाईनिज पेस्तोल, सोको एक वटा म्याग्जीन तथा एक राउण्ड गोली र एउटा सिक्सर पेस्तोलसहित पक्राउ गरेको हो ।
आलमले उक्त पेस्तोल सोही जिल्लाको उर्लावारी नगरपालिका– ६ बस्ने २९ वर्षीय नविन धिमालले मगाएको भनि दिएको मौखिक बयानको आधारमा धिमाललाई पनि मोरङको रतुवामाई नगरपालिका– ८ दाम्राभिट्टाबाट पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
धिमालले प्रयोग गरेको को २२ प ६७०७ नम्बरको मोटरसाईकल तथा ४७ हजार ७ सय ७० नेपाली रुपैयाँ र दुई थान मोबाईल सेट समेत बरामद गरिएको उनले बताए । उनका अनुसार पक्राउ परेका दुवै जनालाई बरामद पेस्तोल, म्याग्जिन, गोली, मोटरसाईकल, रुपैयाँ र मोबाईलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीमा बुझाईएको छ ।
यसै गरी सशस्त्र प्रहरी बल नेपाल बिओपी बनैनियाले आइतबार नै सप्तरी जिल्लाको राजगढ नगरपालिका– २ बनैनिया सीमा ईलाकाबाट एउटा कटुवा पेस्तोल तथा सोको एउटा गोली बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै उनीहरुले बोकेको शंकास्पद वस्तु छाडी फरार भएपछि उक्त बस्तु जाँच गर्दा पेस्तोल र गोली बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक थापाले बताए ।
प्रतिक्रिया