व्यापार घाटा बढ्दो

विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सरकारले बस्तु आयातमा कडाइ गर्यो । कडाइका बाबजुद विदेशी मुद्रा बाहिरिने क्रम घटेको छैन । गत असार र साउनमा मात्रै तीन अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा बाहिरिएको छ । यो अंक अघिल्लो वर्षको असार–साउनको भन्दा करिब २७ प्रतिशत बढी हो । विदेशी मुद्रा आउनेभन्दा जाने क्रम धेरै छ । एक वर्षअघि ११ अर्ब अमेरिकी डलर बचत रहेकोमा अहिले ९ अर्ब डलर मात्रै बचत रहेको नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यो अवस्थामा सुधार नआउने हो भने नेपाल कुनै पनि बेला श्रीलंकाको हालतमा पुग्छ । यदि कोरोनाको महामारी कम नभएको हुँदो हो र रुस र युक्रेन बीचको युद्ध थप चर्किएको हुँदो हो भने यतिबेलासम्म नेपाल श्रीलंकाको हालतमा पुगिसक्ने थियो ।

जुन कुरा नेपाल राष्ट्र बैंकको तथ्यांकले नै पुष्टि गर्छ । कोरानाको महामारी कम भएका कारण वैदेसिक रोजगारीमा जाने युवाहरूको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष दोब्बर वृद्धि भयो । विदेशी पर्यटकहरू अघिल्लो आर्थिक वर्ष जम्मा ७५ हजार आएकोमा गत आर्थिक वर्ष तीन लाखको हाराहारीमा आए । पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्य पनि प्रतिब्यारेल १ सय ४० अमेरिकी डलरबाट झरेर ९० डलरमा आयो । जसका कारण नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै गरेर डुब्न पाएन । मासिक डेढ अर्ब अमेरिकी डलर बराबरको बस्तु आयात हुने मुलुकमा नौ अर्ब अमेरिकी डलर सञ्चिती हुनु भनेको अझै पनि धरापको संकेत हो । थोरै तलमाथि हुनासाथ श्रीलंकाको जस्तै हाहाकार मच्चिन सक्छ ।
युवा जनशक्ति निर्यात गरेर बस्तु आयात गर्ने अवस्थामा आमी छौँ । बस्तु आयातबाट उठेको राजस्वले राज्यको खर्च चलाउने वाध्यतामा हामी छौँ । बस्तु आयातकै कारण स्वदेशी रोजगारी कटौती हुँदै गएको छ । निश्चित ब्यापारी मोटाइरहेका छन् । दैनिक उपभोग्य वस्तुहरू खाद्यान्नदेखि पेट्रोलियमसम्म सबै आयातित छन् । आयात गर्न विदेशी मुद्रा चाहिन्छ । यसका लागि युवा जनशक्ति निर्यात गर्न हामी बाध्य छौँ ।

युवा जनशक्तिले पठाएको रेमिट्यान्स बस्तु आयातमै सकिएको छ । अर्थात युवा जनशक्तिले पठाएको रेमिट्यान्स निश्चित व्यापारीलाई भएको छ । ती व्यापारीहरू पनि अधिकांश विदेशी हुन्, उनीहरूले नेपालमा व्यापार गरेर कमाएको रकम विभिन्न बाटोबाट विदेश पु¥याउने गरेका छन् । यस्तो हालतले कति दिन चल्छ नेपालको अर्थतन्त्र ?

अब आमनिर्वाचन आउँदैछ । विभिन्न राजनीतिकदलहरूले घोषणापत्र सार्वजनिक गर्दैछन् । घोषणा पत्रमा के के उल्लेख हुन्छन् ? भन्ने कुरा विगतले पुष्टि गरिसकेको छ । जनतालाई राहत दिने, विकास निर्माण गर्ने तथा आर्थिक संमृद्धि ल्याउने निबन्ध लेख्ने मामिलामा कोहीभन्दा कोही कम छैनन् । तर उत्पादन कसरी वृद्धि गर्ने ? भन्ने कुरामा न दलहरूले अवधारणा ल्याउने गरेका छन् , न त मतदाताले प्रश्न सोध्ने गरेका छन् । अहिलेको युगमा सबै बस्तु स्वदेशभित्र उत्पादन संभव छैन । आवश्यक बस्तु आयात बाध्यता हो । बस्तु आयातका लागि विदेशी मुद्राको जोहो गर्ने भनेको पनि बस्तु निर्यातबाट नै हो । तर बस्तु निर्यातको अवस्था चौपट छ । उदाहरणका लागि गत आर्थिक वर्ष नेपालमा करिब १८ खर्ब रुपैयाँ बराबरको बस्तु आयात भयो । निर्यात केवल दुई खर्ब रुपैयाँ बराबरको मात्रै भयो । व्यापार घाटा करिव १६ खर्ब रुपैयाँ बराबरको भयो । कुन राजनीतिकदल के कति पानीमा छन् ?

कुन राजनीतिकदलसँग के कति अर्थविज्ञहरू छन् ? भनेर जनताले मूल्यांकन गर्नु पर्ने यहीँनिर हो । सस्ता नाराले मलुकको संमृद्धि आउँदैन । जुन देशबाट हामीले धेरै बस्तु आयात गर्छौं, ती देशहरूमा हामीले पनि धेरै बस्तु निर्यात गर्न सक्नुपर्छ । अहिलेको युगमा दुई देशबीचको मुख्य सम्बन्ध भनेको यही हो । उदाहरणका लागि हामीले भारतबाट जति बस्तु आयात गर्छौं लगभग त्यति नै बराबरको भारतीय मुद्रा आर्जन गर्ने स्रोत हामीसँग हुनु पर्छ ।

हामीले चीनबाट जति मूल्य बराबरको बस्तु आयात गर्छौं, लगभग त्यति नै बराबरको चिनियाँ मुद्रा आर्जन गर्ने स्रोत हामीसँग हुनुपर्छ । तर उल्टो भइरहेको छ । गत आर्थिक वर्ष हामीले भारतबाट करिव ११ खर्ब रुपैयाँ बराबरको बस्तु अयात ग¥यौँ, निर्यात जम्मा डेढ खर्ब रुपैयाँ बराबरको ग¥यौँ । चीनबाट करिब तीन खर्ब रुपैयाँको बस्तु आयात ग¥यौँ, तर निर्यात जम्मा ८० करोड रुपैयाँको ग¥यौँ । भारतीय मुद्रा आर्जनका सन्दर्भमा बस्तु निर्यातबाहेक पनि अरू स्रोतहरू छन् । भारतमा लाखौँ नेपालीले रोजगारी गर्छन् । भारतबाट आउने पर्यटकहरूको संख्या पनि उल्लेख्य छ । चिनियाँ मुद्रा आर्जनका लागि हामीसँग अन्य स्रोत छैनन् । एउटा संभाव्य स्रोत भनेको पर्यटन हो । वार्षिक १९ करोड चिनियाँहरू विदेश भ्रमणमा जान्छन् । जसको एक प्रतिशत मात्रै नेपाल घुम्न आउने अवस्था बन्ने हो भने चीनसँगको व्यापार घाटामा उल्लेख्य सुधार आउन सक्छ ।

प्रतिक्रिया