चर्चा बटुल्दै नविनको ‘हरहर बासना’

काठमाडौं । लोकगायक नवि पौडेलको तिज कोसेली गीत ‘हरहर बासना’ को भिडियो केही दिन अगाडि बजारमा आएको छ । गायक पौडेलको आफ्नै शब्द सिर्जना रहेको गीतमा उनलाई गायिका आशा बिसीले आवाजमा सघाएकी छन् ।

रवि कार्कीले संगीत भरेको उक्त गीतमा कृष्ण केसीले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा गायक पौडेलकी आफ्नै छोरी स्वीकृती पौडेलले नृत्य गरेकी छन् ।

नृत्यंगना स्वीकृतीले कुनै सिकाइ र ट्रेनिङ बिना नै विभिन्न नृत्य प्रतियोगिताहरुमा धेरै ठाउँमा प्रथम स्थान हासिल गरिसकेको गायक पौडेलले जानकारी दिए । जुन भिडियोमा उनको उत्कृष्ट नृत्य देख्न सकिन्छ । स्वीकृतीलाई नृत्यमा सन्तोष शर्माले साथ दिएका छन् ।

विस्तारै उक्त गीतले युट्युबमा चर्चा बटुल्दै गएको गायक नविनले बताए । कुनै पनि गीतले मौलिक पहिचान खोज्नुपर्ने उनको भनाइ छ । ‘कुनै पनि गीतले मौलिक पहिचान खोज्नुपर्छ’, उनले भने, ‘कतिपय बजारमा आएका गीतमा मौलिकता कम पाइन्छ ।’ साथै, उनले आफ्नो उक्त गीत मौलिकतामा रहेको पनि जिकिर गरे ।

नृत्यंगना स्वीकृती रुपन्देहीको देबदह नगरपालिकास्थित देबदह बोर्डिङ हाइ स्कुलमा कक्षा आठमा अध्ययनरत भएको नविनले बताए । उक्त गीतको भिडियोमा विष्णु भट्टराईको निर्देशन र छायांकन रहेको भने उनकै सम्पादन छ ।

गीतको भिडियो गायिका आशा बिसीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गायक पौडेलले यसअघि पनि भ्रष्टाचारविरुद्ध देखि समाजका हरेक विकृति र विसंगतिका विषयमा गीत ल्याउँदै आएका छन् ।

प्रतिक्रिया