राप्रपाले फोहोरमा राजनीति गर्दैन् : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले फोहोरमा राजनीति नगर्ने बताएका छन् । उनले काठमाडौंको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गर्ने क्रममा राप्रपाको स्थानीय नेता तथा कार्यकर्ताको संलग्नता रहेको भन्ने प्रचारमा पनि सत्यता नभएको बताएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सत्तारूढ दलहरू र विपक्षी दल एमाले र राप्रपाले पनि सडक अवरोध गरेर फोहोर व्यवस्थापन गर्न नदिएको उल्लेख गर्दै फेसबुकमा स्टाटस पोस्ट गरेका थिए ।

‘फोहोर लैजाने कुरा सहज भएन। सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दल एमाले र राप्रपाका स्थानीय नेताले पनि साथ दिएको देखियो,’ मेयर बालेनले भनेका थिए।

बालेनलाई लक्षित गर्दै राप्रपा अध्यक्ष लिङ्देनले मंगलबार फेसबुकमै लेखे- फोहोरमा राजनीति गर्नेजस्तो फोहोरी काम राप्रपा गर्दैन् । उनले फोहोर व्यवस्थापनमा अवरोध गर्ने क्रममा राप्रपाको संलग्नता नरहेको दाबी पनि गरेका छन् ।

‘फोहर बोकेका गाडी अबरूद्ध गर्ने काममा राप्रपाको संलग्नता छैन् र रहने छैन,’ लिङ्देनले भनेका छन्, ‘यसप्रकारका गतिविधिमा कुनै कार्यकर्ता संलग्न भएमा त्यस्ता कार्यकर्तालाई कारबाहीसमेत गर्नेछ ।’ उनले जिम्मेवार स्थानबाट गलत प्रचार हुनु उचित नहुने बताएका छन् ।

प्रतिक्रिया