पानी नपर्दा अझै भएन रोपाइँ

बाँके । जिल्लाको नरैनापुर गाउँपालिकामा बर्सात नहुँदा धान रोपाइँ प्रभावित भएको छ । सिँचाइको व्यवस्था नभएका कारण आकाशे पानीको भरमा धानखेती गर्दै आएका नरैनापुरका किसान अहिलेसम्म पनि रोपाइँ गर्न नपाउँदा चिन्तित भएका छन् । स्थानीय सोहनलाल यादवले नरैनापुर क्षेत्रमा पर्याप्त बर्सात नभएका कारण अहिलेसम्म करिब १५ प्रतिशत मात्र धान रोपाइँ भएको जानकारी दिए । उनले भने, ‘रोपाइँ भएको धान पनि खडेरीले गर्दा सुक्दै गएको छ ।’ यसले यहाँका जनता चिन्तित छन् ।

नरैनापुरमा खडेरीका कारण हालसम्म १५ प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिए । नरैनापुरमा धान खेती हुने क्षेत्रफल करिब ४ हजार २ सय हेक्टर रहेको जनाइएको छ ।

बर्सात नभएर धान रोपाइँ हुन नसकेपछि नरैनापुर गाँउपालिकाले नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा गरेको छ । वैकल्पिक सिँचाइको उपाय गरेर लगाएको धानबालीसमेत खडेरीका कारण नष्ट भइरहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिए ।

गाउँपालिकाले सुक्खा क्षेत्र घोषणा भइसकेकाले किसानका लागि विशेष राहतको प्याकेज ल्याउन प्रदेश र संघीय सरकारसँग गाउँपालिकाले आग्रह गरेको छ । खडेरीले गर्दा कृषिमा आश्रित बहुसंख्ययक जनताको जीवन कष्टकर बन्दै गएको अवस्थाप्रति प्रदेश र सघीय सरकारको यथेष्ट ध्यान पुग्न जरुरी रहेको गाउँपालिका अध्यक्ष साहले बताए ।

बाँकेको अन्य क्षेत्रमा भने धान रोपाइँ भइसकेको छ । जिल्लाका अन्य क्षेत्रमा ८७ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सबैभन्दा धेरै नरैनापुरसँग जोडिएको राप्तीसोनारी गाउँपालिकामा शतप्रतिशत रोपाइँ भएको छ । वैजनाथ गाउँपालिकामा ९९ प्रतिशत, डुडुुुवा गाउँपालिकामा ९८ प्रतिशत, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र जानकी गाउँपालिकामा ९७ प्रतिशत र नेपालगञ्ज उपमहानगरपालिकामा ९६ प्रतिशत रोपाइँ भएको छ ।

प्रतिक्रिया