पत्नी र सासूलाई आगो, पत्नीको मृत्यु

जलेश्वर । करिब एक साताअघि महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवन गाउँमा एक पुरुषले आफ्नी पत्नी र सासूको जीउमा मट्टितेल छर्की आगो लगाएकोमा गएराति उनकी पत्नीको मृत्यु भएको छ ।

जिल्लाको रामगोपालपुर नगरपालिका– ८ बस्ने शंकर सदाले ससुराली गाउँ कञ्चनवनमा सासू ६५ वर्षीया रेश्मादेवी सदासँगै पत्नी ३५ वर्षीया प्रमिलादेवी सदालाई यही साउन २१ गते राति सुतिरहेको अवस्थामा मट्टितेल छर्केर आगो लगाएका थिए ।

आगलगीबाट सासू रेश्माको हातखुट्टा र पिठ्युँ जलेको र पत्नी प्रमिलाको दुवै हात र दुवै खुट्टासहित जीउको अधिकांश भाग जलेर सख्त घाइते भएपछि दुवै जनालाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो ।

त्यहाँ उनीहरुको उपचार सम्भव नभएपछि प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौं ल्याइएकोमा गएराति ११ बजे प्रमिलाको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताए ।

साथै, सासू रेश्माको उपचार अझै भइरहेको बताइएको छ । यता घटनामा संलग्न शंकरलाई चार दिनअघि प्रहरीले नेपाल–भारत सीमा नजिकै जिल्लाको सम्सी गाउँपालिकाबाट पक्राउ गरी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया