रुस्दीमाथि आक्रमणको निन्दा : जेके रोलिङलाई ज्यान मार्ने धम्की

न्युयोर्क । सलमान रुस्दीमाथि भएको आक्रमणको निन्दा गर्दै ट्वीटरमा सन्देश पोस्ट गरेपछि बेलायती लेखिका जेके रोलिङलाई पनि ज्यान मार्ने धम्की आएको छ । रुस्दीमाथि आक्रमण भएपछि रोलिङले ट्वीटरमा ट्वीट गरेकी थिइन्, ‘डरलाग्दो खबर । अहिले धेरै बिरामी महसुस गरिरहेकी छु । उहाँलाई ठीक हुन दिनुहोस् ।’

उनको पोस्टमा एक ट्विटर प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन्, ‘चिन्ता नगर्नुस्, अब तपाइँको पालो ।’ आफ्नो पोस्टमा यस्तो प्रक्रिया आएपछि लेखिकाले त्यसको स्क्रिनसट पनि पोस्ट गरेकी छिन् । सुरक्षा चिन्ता उठाउँदै रोलिङले यसबारे ट्वीटरलाई रिपोर्टसमेत गरेकी छिन् । ‘सहयोगको कुनै मौका छ ?, उनले सोधेकी छिन् ।
यस विषयमा स्थानीय प्रहरीले पनि अनुसन्धान गरिरहेको छ । जेके रोलिङमात्र होइन, रुस्दीमाथि भएको हमलाको चौतर्फी निन्दा भइरहेको छ । विश्वभरबाट आक्रमणको निन्दा गर्दै रुस्दीको स्वास्थ्य लाभको कामना गरिएको छ ।
अमेरिकामा गत शुक्रबार एक कार्यक्रममा सहभागी हुँदा चर्चित उपन्यासकार रुस्दीमाथि छुरा प्रहार भएको थियो । छुरा प्रहार गर्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । छुरा प्रहार गर्ने ब्यक्तिमाथि प्रहरीले हत्या प्रयासको अभियोग लगाएको छ ।

आरोपित हाडी मटरलाई हत्या प्रयासको अभियोग लगाइएको न्युयोर्क राज्यको चौताउवा काउन्टीका अभियोजकले बताएका छन् । एक कार्यक्रममा मञ्चमा दौडिएर रुस्दी र एक अन्तर्वार्ताकारलाई आक्रमण गरेको आरोप मटरमाथि लगाइएको छ ।

७५ वर्षीय रुस्दीको अवस्था सुधारोन्मुख रहेको बताइएको छ । रुस्दीलाइ भेन्टिलेटरबाट भने बाहिर निकालिएको बताइएको छ । उनलाई भेन्टिलेटरबाट बाहिर निकालिएको समाचारको रुस्दीका एजेन्ट एन्ड्रयू वाइलीले पनि पुष्टि गरेका छन् । उनी बोल्न सक्ने अवस्थामा रहेको पनि अमेरिकी सञ्चार माध्यम वासिंगटन पोस्टले जनाएको छ ।

शुक्रबार न्युयोर्क राज्यको एक कार्यक्रममा छुरा प्रहारमा परेका चर्चित लेखक सलमान रुस्दीप्रति सहानुभूति जनाउँदै अहिले उनको स्वास्थ्य लाभको कामना भइरहेको छ । तर, यही बेला उनीमाथिको हमलालाई प्रशंसा गर्नेहरु पनि देखिएका छन् ।

रोयटर्सका अनुसार दी सटानिक भर्सेसका लेखक भेन्टिलेटरमा उपचार गराइरहेका बेला इरानका केही ‘हार्डलाईन’ सञ्चार माध्यमहरूले उनीमाथिको हमलाको प्रशंसा गरेका छन् । उनीमाथि चक्कु प्रहार भएपछि इरानले कुनै आधिकारिक टिप्पणी गरेको छैन् ।

तर, इरानको क्याहान नामक कट्टरपन्थी अखबारले यस्तो टिप्पणी गरेको छ, ‘न्युयोर्कमा धर्मत्यागी र दुष्ट सलमान रुस्दीमाथि आक्रमण गर्ने साहसी र कर्तव्यनिष्ठ व्यक्तिलाई हजारौं वाहवाही । परमेश्वरको शत्रुको घाँटी च्यात्ने मानिसको हातलाई चुम्बन गर्नुपर्छ ।’ उक्त पत्रिकाका सम्पादकलाई इरानका सर्वोच्च नेता अली खामेनीले नियुक्त गरेका थिए ।

अधिकांश इरानी पत्रिकाले रुस्दीमाथिको हमलाको स्वागत गरेका छन् । अर्को दैनिक पत्रिका खोरासानले उक्त हमलाबारे यस्तो शीर्षक राखेको छ, ‘नरकको बाटोमा सैतान ।’ अर्को कट्टरपन्थी अखबार वतन इमरोजको शीर्षक यस्तो छ, ‘सलमान रुस्दीको घाँटीमा छुरी’ ।
यसअघि रुस्दीलाई इरानले आक्रमणको धम्की दिएको थियो । सन् १९८८ मा उनको उपन्यास द सटानिक भर्सेस प्रकाशित भएपछि उनलाई हत्या गर्ने धम्की आएको थियो । पुस्तकमाथिको विवाद बढ्दै जाँदा बेलायत र इरानबीचको कूटनीतिक सम्बन्ध पनि बिग्रिएको थियो ।

प्रतिक्रिया