बाँकेमा ६ हजारभन्दा बढी नयाँ मतदाता

राँझा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेमा ६ हजारभन्दा बढी नयाँ मतदाता थपिने भएका छन् । गत असार १ देखि साउनको १९ गतेसम्म निर्वाचन कार्यालय बाँकेमा ६ हजार आठ सय १७ जनाले फारम भरेका छन् ।

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बाँकेबाट तीन लाख २९ हजार चार सय ७३ जनाको मतदाता नामवली आयोगले सार्वजनिक गरेको थियो ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि बाँकेमा छ हजार आठ सय १७ जनाले मतदाता नामावलीका लागि आवेदन दिएको जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले जानकारी दिइन् ।

उनका अनुसार गत असार १ गतेदेखि नयाँ मतदाता नामावली आवेदन दिनेका लागि फारम भर्न खुला गरिएको थियो । असारमा चार हजार चार सय ४३ र साउनको १९ गतेसम्म दुई हजार तीन सय ७४ ले मतदाता नामावलीका लागि आवेदन दिएका थिए ।

बाँकेमा इलाका प्रशासन कार्यालय कोहलपुर, जिल्ला निर्वाचन कार्यालय नेपालगञ्ज र जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली आवेदन संकलन गरिएको थियो । प्राप्त भएका आवेदनलाई संकलन गरेर केन्द्रमा पठाउने तयारी भइरहेको निर्वाचन कार्यालयका सूचना अधिकारी युवराज पन्तले बताए ।

आवेदन दिएका सबैले अहिलेनै मतदाता नामावली पाउने निश्चित हुँदैन । कतिपयले १६ वर्षमा नागरिकता पाउनेबित्तिकै मतदाता नामावलीको फारम भरेका हुन्छन् । उनीहरूले १८ वर्ष पुगेपछि मात्र मतदान गर्ने अधिकार प्राप्त गर्ने गर्दछन् ।

जिल्ला प्रशासन कार्यालयमा निर्वाचन कार्यालयले राखेको मतदाता नामावली संकलन केन्द्रमा नयाँ नागरिकता बनाउन आएका अधिकांशले आवेदन दिने गरेका थिए । निवेदन दिएकाको आवश्यक विवरण परीक्षण गरेर केन्द्रले मतदाता नामावलीको अन्तिम टुङ्गो लगाउने निर्वाचन कार्यालयका सूचना अधिकारी पन्तले बताए ।

प्रतिक्रिया