एक वर्षमा २ हजार ४ सयभन्दा बढी उद्योग थपिए

धनगढी । घरेलु तथा साना उद्योग कार्यालयमा कैलालीमा एक वर्षको अवधीमा २ हजार ४ सय ३७ उद्योग दर्ता भएका छन् । कार्यालयमा आव गत २०७८–७९ मा एक वर्षको अवधीमा उक्त संख्याका उद्योगहरु दर्ता भएका हुन् ।

उद्योग कार्यालयमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी कृषिमूलकमा १ हजार ५ सय ३९ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय कैलालीका प्रमुख नवराज भट्टले जानकारी दिए । त्यसैगरी सेवामूलकमा ६ सय ७, उत्पादनमूलकमा २ सय ८६, सूचना प्रविधिमा आधारितमा ४ र पर्यटन मुलकमा एक उद्योग दर्ता भएको उनले बताए ।

गत आवमा दर्ता भएका उद्योगबाट २ हजार ५८३ जना उद्यमी भएको र ७ हजार ३ सय जनालाई रोजगारी सिर्जना भएको कार्यालयले जनाएको छ । दर्ता भएका उद्योगहरु मध्ये ७८ प्रतिशत उद्योग महिलाको स्वामित्वमा दर्ता भएको कार्यालय प्रमुख भट्टले बताए । महिला,विपन्न,दलितको नाममा दर्ता गर्दा दर्ता शुल्कमा ५० प्रतिशत छुट पाइने भएकाले पनि महिलाको नाममा उद्योग दर्ता गर्ने क्रम बढेको उनले बताए ।

आव ०७८–०७९ मा उद्योग दर्ता, नवीकरणबाट ७९ लाख २२ हजार ४६८ रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख भट्टले जानकारी दिए । आव ०७८–७९ मा १ हजार ६० उद्योग नवीकरण गरिएको, २ सय ६४ उद्योगले पूँजी बृद्धि गरेको, १ सय ४६ उद्योग नामसारी गरिएको, ४६ उद्योगले ठाउँसारी गरेको ८१ उद्योगले नामसारी गरेको र १ सय ७५ उद्योग खारेजी गरेको कार्यालयले जनाएको छ ।

आव ०७७–७८ मा कार्यालयमा २ हजार ९ सय ६८ उद्योग दर्ता भएका थिए । हाल कार्यालयमा १३ हजार ७ सय ४ उद्योग दर्ता रहेको र सो उद्योगहरुबाट १५ हजार २३४ जना उद्यमी बनेको तथा ७२ हजार बढीलाई रोजगारी सिर्जना भएको जनाइएको छ ।

रोजगारीका लागि भारत तथा अन्य मुलुकहरुमा गएका नेपाली नागरिकले कोरोना महामारीका बेला निकै कष्टकर जीवन बिताएर घर फर्केका नागरिकले आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मान्यता लिएका कारण उद्योग दर्ता गर्ने क्रम बढेको कार्यालय प्रमुख भट्टले बताए ।

उनले भने, ‘शिक्षित यूवाहरु प्नि जागिर भन्दा व्यवसायमा आकर्षित भएका छन्, सरकारले पनि उद्यमशिलता,क्षमत अभिबृद्धि तालिम दिने गरेको छ त्यसको प्रभावले पनि उद्योगमा आकर्षण बढेको छ ।’

प्रतिक्रिया