काठमाडौं । तीन दशकदेखि नेपाली परम्परागत कला क्षेत्रमा सक्रिय कलाकार राजप्रकाश तुलाधरको कलायात्राका बारेमा परिचर्चा गरिएको छ । नेपाल ललितकला पत्रकार समाज (सोफाज) को नियमित कार्यक्रम ‘कलाका कुरा’ मा कलाकार तुलाधरको एकल प्रदर्शनीको सन्दर्भ पारेर परिचर्चा गरिएको हो । ठमेलस्थित म्युजियम अफ नेपाली आर्ट (मोना म्युजियम) मा अहिले उनको प्रदर्शनी चलिरहेको छ ।
कलाकार तुलाधरले नेपालमा प्रचलित तन्त्रमा आधारित विभिन्न देवदेवी १५ चित्र प्रदर्शनीमा राखेको जनाए । उनले तन्त्र साधनामा प्रयुक्त देवीहरु विशेषतः बज्रबाराही, खडग योगिनी, बिजेश्वरी, गुह्ेश्वरी र आकाश जोगिनीका चित्रले प्रदर्शनीको रौनकता बढाएको छ । उनले पद्मसम्भव, गणेश लगायतका विभिन्न शाक्त देवदेवी चित्रमार्फत आफ्नो कलात्मक क्षमतालाई प्रस्तुत गरेका छन् । कलाकार तुलाधरले प्रदर्शनीमा राखेको ‘चैत्य’ प्रतिस्थापन कलालले नेपालको सांस्कृतिक अवस्था र अतिक्रमणलाई देखाएको छ । उनले हाम्रा सांस्कृतिक सम्पदालाई बचाउन सबैले ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने, ‘नेपाली कलालाई नेपालमै पाउन गाह्रो हुन थालेको परिपेक्ष्यमा विदेशीले अनुसन्धान गरिदिनुपर्ने अवस्था आएको छ ।’
कलाकार तुलाधरले नेपाली कला र संस्कृति बिस्तारै लोप हुँदै गएको र नेपाली कलाको खोज अनुसन्धानका लागि विदेश नै पुग्नुपर्ने अवस्थालाई आफ्नो कला प्रदर्शनीमा समेटेको बताए । उनले भने, ‘नेपाली कला र सम्पदा बिस्तारै अँध्यारोमा बत्ति बालेर खोज्नुपर्ने अवस्था आइरहेको छ । मैले प्रतिस्थापन कलामा त्यही विषयलाई प्रतीकात्मक ढंगले प्रस्तुत गर्ने कोशिस गरेको छु ।’ उनले नेपाली कलाको मौलिकतालाई बचाउने काममा कलाकारसँगै सरोकारी संघसंस्थाले विशेष ध्यान दिनुपर्ने विचार व्यक्त गरे ।
काठमाडौंको नरदेवीमा जन्मिएका कलाकार तुलाधर सानैदेखि नेवार संस्कृति र कलासँग घुलमिल आएका हुन् । काठमाडौं उपत्यकाको मौलिक कला र संस्कृतिको प्रभावले आफूमा कलाप्रतिको रुचि जागेको उनले सुनाए । प्रदर्शनीमा राखिएका उनका कलामा नेपाली सुगन्ध र मौलिकता झल्किएको पाउन सकिन्छ ।
उनले नेपाली परम्परागत थाङ्का/पौभाको माग विदेशमा निकै बढिरहेको सुनाउँदै नेपाली कलाकारका कला नेपालमै पाउन मुश्किल भइरहेको बताए । कलाकार तुलाधरले नेपाली दर्शकका लागि नेपालमै प्रदर्शनी गरिएको जानकारी दिए । प्रदर्शनीमा रहेका उनका १३ थान कलाकृति मोना म्युजियमले संकलन गरेको छ । कलाकार तुलाधरका यसअघि ७ पटक चीनमा एकल प्रदर्शनी भइसकेका छन् । उनका अनुसार रुविन संग्रहालय अमेरिकामा उनका पाँच थान पौभा कला संग्रहित छन् ।
मोनाका निर्देशक राजन शाक्यले दर्शकले कला अवलोकन मात्र गर्न पाउने तर खरिद बिक्रीका लागि कलाकृति नरहेको जानकारी दिए । उनले नेपाली कलालाई बचाउने र नेपालमै रोक्ने अभियानका रुपमा म्युजियमले कार्यक्रम अघि बढाएको बताए । उनले प्रदर्शनी भदौ १५ गतेसम्म रहने जानकारी दिए ।
प्रतिक्रिया