आज ८ सय ६८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा बुधबार थप ८ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ६ हजार ७ सय ५ जनामा गरिएको परीक्षणमध्ये ८ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ८५ पुगेको छ । काठमाडौं उपत्यकामा ३ सय जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा ५३, भक्तपुर १८ र काठमाडौंमा २ सय २९ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

यस्तै आज कोरोना भाइरसबाट निको भइ ४ सय १४ जना घर फर्किएका छन् । साउन १ गतेको संक्रमण दर ४ प्रतिशत रहेकामा आज १३ प्रतिशत पुगेको अधिकारीले बताए । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको निधन भएको छ । हालसम्म ११ हजार ९ सय ७७ जनाको संक्रमणबाट निधन भएको छ ।

५ सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौं र ललितपुर तथा २ सयभन्दा बढी संक्रमित भएको जिल्ला मोरङ रहेको छ । संक्रमित शून्य भएका जिल्ला मनाङ, कालीकोट र हुम्ला छन् ।

हाल होम आइसोलेशनमा ५ हजार ५ सय ७१ जना, संस्थागत आइसोलेशनमा २ सय १४, सघन उपचार कक्ष (आइसियु) मा ६४ र भेन्टिलेटरमा ७ जनाको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा १ लाख ३८ हजार ८ सय ४० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया