‘राष्ट्रपतिले नागरिकता बिधेयक त्यसरी अड्काउन हुँदैनथ्यो’

प्रचण्डको जापान भ्रमणको उपलब्धी फोहोर व्यवस्थापन सहयोग माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने जापान भ्रमण सकेर बुधबार स्वदेश फर्किए । नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा शुक्रबार राति जापान गएका प्रचण्ड स्वदेश फर्किएका हुन् ।

प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री जनार्दन शर्मा लगायत माओवादी नेताहरुको ठूलै लर्को स्वागत गर्न विमानस्थल पुग्यो । ठूलै लर्कोको माझमा स्वागत पाएका अध्यक्ष प्रचण्ड दायाँबायाँ हेरेर मुस्कुराउँदै पत्रकार सम्मेलनमा राखिएको अतिथि मेचमा गजधम्म बसे ।

उनले केही बेर दायाँबायाँ रहेका माओवादीका नेताहरुसँग (कानेखुसी वार्ता) गरे । त्यसपछि प्रसन्न मुद्रामा सञ्चारकर्मीहरुसँग गफिन थाले प्रचण्ड । जापान पुगेर त्यहाँका स्वर्गीय पूर्वप्रधानमन्त्री सिन्जु आवेलाई नेपालमा आफूले तीन पटक भेटेको उनले गफ दिइसकेका थिए ।

जबकी आवे नेपाल भ्रमणमा आएर उनलाई भेटेको कुरा सुनेर कुटनीतिक क्षेत्रमा हाँसो चलेको थियो । बुधबार प्रचण्डले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालको फोहोर मैला व्यवस्थापनदेखि राष्ट्रपति कार्यालयमा अड्केको नागरिकता संशोधन बिधेयकसम्मको चिन्ता व्यक्त गरे ।

उनले जापान भ्रमणका क्रममा फोहोर मैला व्यवस्थापनका लागि जापानसँग माग गरेको ठूलो बिरताका कथा सुनाए । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले फोहोर व्यवस्थापनको लागि जापानसँग सहयोग माग गरेको बताए ।

उनले जापान फोहोर व्यवस्थापनमा संसारकै अग्रणी रहेको दाबी गर्दै नेपालमा फोहोरलाई व्यवस्थानको लागि सहयोग माग गरेको बताए । ‘फोहोर व्यवस्थापनमा संसाररै अग्रणी रहेछ जापान’, उनले भने, ‘कहिँ कतै फोहोर भन्ने देखिँदैन सबै व्यवस्थापन, फोहोर व्यवस्थापनको लागि तत्काल हामिलाई सहयोग चाहियो भन्ने कुरा पनि हामी गर्यौँ ।’

प्रचण्डले नागरिकता बिधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन ढिलाइ भएकामा असन्तुष्टि जनाए । उनले राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण गर्न ढिला नहुनु पर्ने बताए । भ्रमणमा हुँदा प्रचण्ड जापानका कार्यक्रममा सहभागी भएका थिए । प्रचण्डले शनिबार जापानको फुकुओकामा नेपाल फेस्टिभलको समुद्घाटन समेत गरेका थिए भने आइतबार हिरोसिमाको पनि भ्रमण गरेका थिए ।

प्रतिक्रिया