३३ देशका १ सय ३३ नागरिक निष्कासित

काठमाडौं । सरकारले पछिल्लो तीन महिनाको अवधिमा विभिन्न गैरकानुनी क्रियाकलापमा सहभागी ३३ देशका १ सय ३३ जना विदेशी नागरिकलाई नेपालबाट निष्काशन गरेको छ । अध्यागमन विभागका अनुसार ०७९ साल वैशाख १ गतेदेखि असार मसान्तसम्मको अवधिमा उनीहरूलाई निष्काशन गरिएको हो ।

नेपालबाट निष्काशनमा पर्नेमा सबैभन्दा बढी चिनियाँ र अमेरिकी नागरिकहरू रहेका छन् । गत वैशाखदेखि असारसम्मको अवधिमा सरकारले २५ जना चिनियाँ र १९ जना अमेरिकी नागरिकलाई देशबाट निष्काशन गर्ने निर्णय गरेको विभागले जनाएको छ ।

चिनियाँ र अमेरिकीपछि नेपालबाट निष्काशित हुनेमा तेस्रो ठूलो संख्या क्यानडेली र फ्रेन्च नागरिक रहेका छन् । उक्त अवधिमा १०–१० जना क्यानडेली र फ्रेन्च नागरिकलाई सरकारले निष्कासन गरेको बताएको छ ।

विभागका अनुसार पछिल्लो तीन महिनामा निष्कासनमा पर्नेमा नौ जना बेलायत, चार जना पाकिस्तान, एक जना अल्जेरिया, चार जना अष्ट्रिया, दुई जना अस्ट्रेलिया, एक जना बेलारुस, दुई जना ब्राजिल, दुई जना चिली, एक जना चेक गणतन्त्र, तीन जना जर्मनी, दुई जना इन्डोनेसिया, पाँच जना आयरल्यान्ड, एक जना इजरायल र तीन जना इटालीका नागरिक रहेका छन् ।

यसैगरी तीन जना जापान, दुई जना दक्षिण कोरिया, एक जना मेक्सिको, दुई जना नेदरल्यान्ड्स, तीन जना फिलिपिन्स, एक जना रोमानिया, तीन जना रुस, एक जना स्पेन, एक जना श्रीलंका, एक जना स्वीडेन, एक जना स्विट्जरल्यान्ड, तीन जना थाइल्यान्ड, तीन जना उज्वेकस्तान र चार जना भियतनामका नागरिकलाई पनि सरकारले निष्काशन गरेको छ । (न्युज कारखाना)

प्रतिक्रिया