काठमाडौं महानगरलाई नर्भिकले पठायाे जवाफ (पत्रसहित)

काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालले अस्पताल परिसरमा निर्माण गरिएका संरचना तत्काल भत्काउन सम्भव नरहेको जवाफ काठमाडौं महानगरपालिकालाई दिएको छ । नक्सा पास नै नगराई निर्माण गरिएका भौतिक संरचना भत्काउन काठमाडौं महानगरपालिकाले सोमबार नर्भिकलाई २४ घण्टे अल्टिमेटम दिएको थियो । जवाफमा नर्भिकले आजको आजै संरचना भत्काए गम्भीर अवस्थामा उपचाररत बिरामीको ज्यान खतरामा पर्न सक्ने बताएको हो । महानगरलाई जवाफीपत्र पठाउँदै नर्भिकले बिरामीहरूकाे स्वास्थ्य संवेदनशीलतालाई समेत ख्याल गरेर उचित कानुनी प्रक्रिया अवलम्बन गर्न चुनाैती दिएकाे छ ।

महानगरले भत्काउन आदेश दिएको भवनमा अक्सिजन प्लान्ट लगायत बिरामीका लागि अति महत्वपूर्ण साधन तथा उपकरण राखिएकाले उपचारमा कठिनाइ हुन सक्ने नर्भिकले भनेको छ । काठमाडौं महानगरले भने संरचना भत्काउन आज २ बजेसम्मको अल्टिमेटम दिँदै अन्यथा कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको थियाे ।

हिजो काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सम्झौताविपरीत निर्माण गरेका भौतिक संरचना २४ घण्टाभित्र भत्काउन निर्देशन दिएका थिए । उनले सो अस्पताल भवनको पश्चिमतर्फ बनेका संरचनाहरू (क्यान्टिन भवनलगायत) नेपाल सरकारसँग भएको सम्झौताविपरीत र नक्सा पास नै नगराई निर्माण गरेको भन्दै त्यस्तो आदेश दिएका हुन् ।

नेपाल सरकारको नाममा दर्ता कायम रहेको कित्ता नम्बर २०८५, क्षेत्रफल १–८–१–१ को उक्त जग्गा नर्भिक अस्पतालले लिजमा लिई संरचनाहरू निर्माण गरेर अस्पताल सञ्चालन गरेको हो । नर्भिकले संरचना हटाउन अधिकार महानगरकाे नरहेकाे पनि जिकिर गरेकाे छ ।

प्रतिक्रिया