आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार जवेगूलाई

इलाम । आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट इलामका अग्रज पत्रकार सटेन्द्र जवेगू पुरस्कृत हुने भएका छन् । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) इलामले स्थापना गरेको पुरस्कारबाट जवेगू पुरस्कृत हुने भएका हुन् ।

फोनिज इलामको सोमबार इलाम सदरमुकाममा बसेको बैठकले सो पुरस्कार जवेगूलाई दिने निर्णय गरेको हो । १० हजार राशीको पुरस्कार फोनिजको २३औँ स्थापना दिवसको अवसरमा २७ साउनमा वितरण गरिने फोनिज इलामका अध्यक्ष राम योङहाङले जानकारी दिए ।

विगत दुई दशकदेखि इलामे पत्रकारितामा क्रियाशील जवेगू फोनिज इलामका सल्लाहकार हुन् । स्थानीय इलाम पोष्ट दैनिकका सम्पादक र इलाम आवाज साप्ताहिकका प्रकाशक रहेका जवेगूले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य र इलामका अध्यक्ष भएर काम गरिसकेका छन् ।

फोनिज इलामले स्थापना गरेको पुरस्कार पहिलो पटक वितरण गर्न लागेको हो । पुरस्कार व्यवस्थापन गर्नका लागि फोनिज इलामले गतवर्ष आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार कोष स्थापना गरेको थियो । आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार छनौट तथा व्यवस्थापन कार्यविधि, २०७८ तर्जुमा गरी कोष स्थापना गरेको हो ।

पुरस्कार कोषमार्फत बर्सेनि एक जना आदिवासी जनजाति पत्रकारलाई पुरस्कृत गरिने फोनिज इलामले जनाएको छ । फोनिज इलाम शाखाको साधारण सदस्य भई पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति एवम् अल्पसंख्यक÷लोपोन्मुख आदिवासी जनजातिको व्यक्तिगत र सामुदायिक हक, अधिकार, पहिचान, मातृभाषा, लिपि, कला, सीप, धर्म, संस्कार र संस्कृति सम्बन्धीको समाचार, फिचर, लेख–आलेख, वहस–पैरवी गरी समग्र आदिवासी जनजातिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने इलामेली आदिवासी जनजाति पत्रकारहरुलाई पुरस्कृत गर्ने गरिने अध्यक्ष योङहाङले बताए । जनप्रतिनिधि र कर्मचारीलाई सम्मान गरिने यसैबीच सोही दिन फोनिज इलामले फोनिजमा आवद्ध भई जनप्रतिनिधिमा निर्वाचित र निजामति सेवामा प्रवेश गरेका पूर्व फोनिजकर्मीहरुलाई सम्मान गर्ने भएको छ ।

इलामको सूर्योदयन नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित फोनिज इलामका पूर्व अध्यक्ष ख्याम भुजेल र सन्दकपुर गाउँपालिका ५ मा वडा सदस्यमा निर्वाचित फोनिजका पूर्व सदस्य कुमार गुरुङलाई सम्मान गर्ने भएको छ । त्यस्तै निजामति सेवामा प्रवेश गरेका फोनिजका पूर्वसदस्यहरु सुमन लावती र अशोक लिम्बूलाई सम्मान गरिने फोनिज इलामले जानकारी दिएको छ ।

प्रतिक्रिया