‘महापुरुष’ भाइटीकाको भोलिपल्ट

काठमाडौं । हाँस्य अभिनेता हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्र ‘महापुरुष’ को प्रदर्शन मिति तय गरिएको छ । दुईवटा पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी षट्कोण आर्ट्सले ११ कात्तिकदेखि चलचित्र देशव्यापी प्रदर्शन जाने जनाएको छ । भाइटीकाको भोलिपल्टदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको एक पोस्टरमा अभिनेता हरिवंश र अभिनेत्री गौरी मल्ल बेहुला–बेहुलीको रुपमा देखाइएको छ । यस्तै, अर्को पोस्टरमा हरिवंशले पिँजडाबाहिरको सुँगालाई हेरेर मुस्कुराइरहेको दृश्यलाई प्रस्तुत गरिएको छ । निर्माण कम्पनीका अनुसार सो मितिमा ‘महापुरुष’ नेपालसहित विश्वभर प्रदर्शन हुनेछ ।

चलचित्रमा महजोडी र गौरीसँगै राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, अरुण क्षेत्री र अञ्जना बराइली लगायतका कलाकारको अभिनय छ । दिपेश खत्रीले निर्माण गरेको यो चलचित्रमा प्रदीप भट्टराईको लखन तथा निर्देशन रहेको छ । चलचित्रले समाजमा महापुरुष बन्न मानिसले गर्ने संघर्षलाई देखाउँदै समाजले कसरी महापुरुषको निर्माण गर्छ भन्ने कथालाई प्रस्तुत गरिएको छ ।

यसअघि षट्कोण आर्ट्सले ‘टलकजङ भर्सेस टुल्के’, ‘जात्रा’ र ‘जात्रै जात्रा’ लगायतका चलचित्र बनाइसकेको छ । यस्तै, आगामी चलचित्र ‘डाकिनी’ पनि प्रदर्शनको तयारीमा छ ।

प्रतिक्रिया