तयार भयो पर्साको तिलावे पुल

वीरगञ्ज । वीरगञ्ज ठोरी हुलाकी मार्गअन्तर्गत पर्साको तिलावे नदीमा पुल तयार भएको छ । पुल सञ्चालनमा आएपछि पर्साको ग्रामीण क्षेत्र र वीरगञ्जको आवागमन सहज हुनेछ । अहिले सोही स्थानमा रहेको पुरानो पुलबाट आवागमन भइरहेको छ । जीर्ण र साँघुरो पुलबाट आवागमन हुँदा सवारी साधनको अधिक जाम लाग्ने गरेको थियो । नयाँ पुल सञ्चालनमा आएपछि सो स्थानमा ट्राफिक जामको समस्या समाधान हुने बताइएकाे छ ।

यो मार्ग पर्साको ग्रामीण क्षेत्रलाई सदरमुकामसँग जोड्ने मुख्य माध्यम हो । निर्माण सम्पन्न पुलको पर्सा क्षेत्र नंं. ३ का सांसद एवम् जनता समाजवादी पार्टी नेपालका केन्द्रीय राजनीतिक समितिका सदस्य हरिनारायण रौनियारले स्थलगत अवलोकन गरेका छन् । यो पुल निर्माणले पर्साको ग्रामीण क्षेत्रको आवागमन सहज हुने विश्वास नेता रौनियारको छ । तराईको लाइफ लाइन मानिएको हुलाकी मार्गमा बनेको यो पुलबाट पर्सा जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उनले दाबी गरे ।

सो पुल निर्माणको जिम्मा पप्पु/लुम्बिनी जेभीले लिएको थियो । १०० मीटर लम्बाइ र ७ मीटर चौडाईको डबल लेन पुल ७ करोड ५० लाख रुपैयाँमा निर्माण गर्ने सम्झौता भएको थियो । प्रक्रियागत, प्राविधक र आर्थिक समस्याका कारण पुल निर्माणमा तोकिएभन्दा बढी समय लागेको बताइएको छ । २०७३ असारमा सम्झौता भएको थियो । ठेक्का लगाएको १८ महीनापछि सडक विभागले पुलको नक्सा दिएको थियो ।

प्रतिक्रिया