संगीतमा मग्न बजगाई

काठमाडौं । राजेन्द्र बजगाई नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय संगीतकारका रुपमा परिचित छन् । सानैदेखि हजुरआमाको सान्निध्यमा हुर्किएका उनको मन, मस्तिष्कमा कुन बेला संगीतको सुरताल प्रवेश ग¥यो उनैलाई थाहा छैन । उनी त्यसको आभासमा डुब्दै गए र गीत संगीतको प्रवाहमा बेग मार्दै गए । संघर्षले नै मानिसलाई सफलता दिलाउँछ तर उनको संघर्षले निरन्तरता पाउन सकेन । आर्थिक समस्या चुलियो । परिवारलाई अर्थव्यवस्थापन गर्न समस्या प¥यो । जसोतसो आइएको परीक्षा दिएर बर्दिया फर्किए ।

गह्रौं मन बोकेर घर फर्किएका उनको संगीतप्रतिको हुटहुटीले चिमोटिरह्यो । उनीभित्रको लालसाले जागृत गरिरह्यो र, अन्ततः बर्दियामै साधना संगीत प्रशिक्षण केन्द्र सञ्चालन गरे । उनले आफूले नजानेको सिक्ने र जानेको सिकाउने कार्यको थालनी गर्दै अगाडि बढे । संगीतको लयमा २÷३ वर्ष बर्दियामै रहे तर बढ्दो उमेर र थपिँदो जिम्मेवारीले उनलाई जागिर नखोजी भएन । किनकी उनमा पारिवारिक जिम्मेवारी सम्हाल्नु पर्ने बाध्यता थियो । यसै सिलसिलामा हार्मोनियममा रमाएको मनलाई मारेर उनी रोजगारीका लागि चितवन छिरे ।

मानिसको जीवन कति संघर्षपूर्ण छ, आर्थिक अभावले मानिसलाई कतिसम्म लखेटछ त्यो उनको संघर्षले देखाएको छ । स्वास्थ्य अवस्थाबाट त उनी तंग्रिदै गए तर आर्थिक दुरावस्था झाँगिंदै गयो । सबैतिरबाट असफलता र निराशाले उनलाई निचोरिरह्यो । घरको जेठो छोरा जिम्मेवारी छँदै थियो । घरमा बसिरहनु अनुकूल थिएन् र पुनःरोजगारीको बहानामा काठमाडौं हानिए । फरक सपना बोकेर जुन सपनालाई उनले विश्राम दिएका थिए । उनले ‘अब म जे गर्छु गीत संगीतमै गर्छु’ भन्ने संकल्प गरेको सुनाए । संगीतबाहेक उनका दिमागमा केही आएन । संगीतमा थप अध्ययन गर्न शास्त्रीय संगीतज्ञ गुरुदेव कामतसँग जोडिए । संगीतलाई निरन्तरता दिँदै गए ।
करिब डेढ वर्ष संगीत शिक्षापछि आफूमा थप निखारता ल्याउन र मूलधारको संगीतमा भविष्य बनाउन अर्का संगीत गुरु चण्डिप्रसाद काफ्लेसँग थप अध्ययन सुरु गरे । उनी अहिले पनि गुरु चण्डिप्रसादसँगै गीत संगीतका विविध आयाम सिकिरहेका छन् ।

कर्म गर्न नथाक्ने मान्छेले एकदिन सफलता पाउँछ । उ नै बिजेता बन्छ भनेझै उनको संगीतप्रतिको लगाव र मिहिनेतले लोकप्रिय र व्यस्त संगीतकारको परिचय दिएको छ । गीतकार, संगीत संयोजक र संगीतकारको रुपमा करिब आठ सय गीतमा उनले आफ्नो दक्षता देखाएको सुनाए । उनका लोकप्रिय गीतमा ‘यो देशको लागि म’, ‘टेण्डर’, ‘मुसुमुसु हाँसेर’, ‘ट्राफिक जाम’, ‘ओ मेरो परान’, ‘चिनी अमिलो’, ‘जाला जोवन’, ‘डल्ली’, ‘झम्के झम्के साँझमा’, ‘फूल फुल्यो पारी’, ‘सुगर फ्रि’ लगायत रहेका छन् । उनले केही चलचित्रका गीतमा संगीत तथा केही चलचित्रमा पाश्र्व संगीतको जिम्मेवारीसमेत निर्वाह गरेका छन् ।

गीत संगीतलगायत रेडियो जिंगल, विज्ञापन सामग्रीहरुमा समेत उनले संगीत भरेका छन् । साधना र निरन्तर मिहिनेतको फलस्वरुप उनले विभिन्न अवार्ड तथा पुरस्कारसमेत हात पार्न सफल भएका छन् । ‘कालिका म्युजिक अवार्ड २०७२’, ‘कालिका म्युजिक अवार्ड २०७४’, ‘जिनियस म्युजिक अवार्ड २०७५’, ‘नेपाल म्युजिक तथा फेसन अवार्ड २०७७’, ‘विराट म्युजिक अवार्ड २०७८’, ‘क्वालिटी इन्टरटेन्मेन्ट अवार्ड २०७८’, ‘पिम नेपाल फिल्म फेस्टिभल अवार्ड २०७८’, ‘दोस्रो हिमालयन इन्टरनेसनल अवार्ड २०७८’, ‘दशौं नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२२’, ‘नेसनल क्यापिटल अवार्ड २०२२’ लगायत दर्जनौं सम्मान तथा अवार्ड उनले पाइसकेका छन् ।

‘परिवर्तन तारा सम्मान २०७०’, ‘कृष्णसार आइडल सिजन ४–सम्मान २०७१’, ‘परिवर्तन तारा सम्मान २०७३’, ‘युवा स्रष्टा सम्मान २०७४’, ‘बाँके बर्दिया राइजिङ स्टार २०१६, ‘राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८’, ‘संगीत सम्मान २०७८’, ‘राष्ट्रिय संगीतकार योगदान सम्मान २०७८’, ‘मिलाप राष्ट्रिय व्यक्तित्व सम्मान २०७८’, ‘मिक्सडिया फेसन सो संगीत सम्मान २०७८’ लगायतका थुप्रै सम्मान प्राप्त गर्न सफल संगीतकार राजेन्द्र बजगाई प्रतिभा प्रस्फुटन तथा प्रतिस्पर्धात्मक कार्यक्रममा निर्णायक समिति सदस्य भइ काम गरेका छन् । उनी ‘इन्टरनेसनल फिल्म फेस्टिभल २०२२’, ‘थर्ड टयलेन्ट स्टार नेपाल २०२२’ र ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२२’ को निर्णायक रही आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् । उनी ‘बर्दियाली कलाकार समाज’ को सचिव, ‘रोयल्टी संकलन समाज नेपाल’ को सदस्य, ‘गीतकार संघ नेपाल’ को सदस्य, ‘संगीतकार संघ नेपाल’ को सदस्य र ‘प्रस्तोता समाज नेपाल’ को सदस्यको रुपमा सक्रिय छन् ।

प्रतिक्रिया