संविधानको रक्षाका लागि तालमेल आवश्यक : शशांक कोइराला

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताएका छन् ।

सञ्चारकर्मीसँग शनिबार कुराकानी गर्दै उनले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताए ।

उनले भने, ‘सरकार पनि गठबन्धनको छ, गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ ।’ तालमेल गरेर निर्वाचनमा जाँदा कांग्रेसले एक सय सिट पाउनुपर्ने उनको दाबी छ ।

तालमेलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उनले थपे, ‘एमालेसँग प्रतिस्पर्धा गर्नका लागि एक हुनु पर्यो ।’ अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोहीसँग सहकार्य गरेर मात्रै निर्बाचनमा आउने उनको भनाई थियो ।

संविधान र एमाले अध्यक्ष ओलीको प्रतिगमनको विरुद्धमा एक भएका दलहरु एक ठाउँ भएर निर्वाचनमा जाँदा राम्रो हुने कोईरालाले बताए । यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई कसरी बलियो बनाउने भन्ने विषयमा सोच्ने समय आएको बताए ।

उनले भने, ‘टिकट वितरणदेखि उम्मेदवारलाई विजयी गराउनेसम्मको मार्गचित्र अहिले देखिनै बनाउनु पर्छ ।’ देशलाई स्थिर सरकार दिनका लागि पनि पदाधिकारीहरु जिम्मेवार भएर प्रस्तुत हुनु पर्ने उनको भनाई थियो ।

फरक प्रसंगमा बोल्दै पौडेलले कांग्रेसका भातृ संस्थाहरुले साउन महिना भित्रै पूर्णता पाउने बताए । तत्काल आम निर्वाचनको मिति तोकिएकाले सबै निर्वाचन केन्द्रित हुने भन्दै उनले निर्वाचन पछि भातृ संस्थाहरुको अधिवेशन हुने बताए । उनले भने, ‘भातृ संस्थाहरुले पूर्णता पाउँछ । अनि निर्वाचनमा जान्छन्, भातृ संस्थाको अधिवेशन निर्वाचन पछि मात्रै होला ।’

प्रतिक्रिया