विश्वकप आयोजना गर्न चार राष्ट्रको संयुक्त दावी

लण्डन । सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि अर्जेन्टिनासहित चार राष्ट्रले संयुक्त रुपमा दावी पेश गरेका छन् । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्त रुपमा २०३० को विश्वकप आयोजनाका लागि दाबी पेश गरेको छ । उरुग्वेले १९३० मा पहिलो संस्करणको विश्वकप आयोजना गरेको थियो । त्यसयता उरुग्वेले विश्वकपको आयोजना गरेको छैन । उरुग्वे एक शताब्दीपछि विश्वकप आयोजना गर्न चहान्छ ।

‘यो महादेशको सपना हो ।’ दक्षिण अमेरिकी फुटबल महासंघ (कन्वेवल) का अध्यक्ष अलेजान्ड्रो डोमिन्गुएजले भने, ‘त्यहाँ धेरै विश्वकप हुनेछन् । तर विश्वकप एक पटक मात्र १ सय वर्ष पुग्छ, यो उरुग्वेमा आउन आवश्यक छ ।’ उरुग्वेली फुटबल संघका अध्यक्ष इग्नासियो अलोन्सोले विश्वकप जहाँबाट शुरु भएको थियो, १ सय वर्षपछि त्यही राष्ट्रमा आयोजना गर्नु राम्रो हुने बताएका छन् । चिलीले १९६२ मा तथा अर्जेन्टिनाले १९७८ को विश्वकप आयोजना गरेको थियो । सन् २०३० को विश्वकप आयोजनाका लागि स्पेन र पोर्चुगलले समेत संयुक्त दाबी पेश गरिसकेको छ ।

सन् २०२२ को विश्वकप एसियाली राष्ट्र कतारमा यसै वर्ष आयोजना हुुँदैछ । यस्तै २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने तय भइसकेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले सन् २०२४ मा २०३० को विश्वकप आयोजना गर्ने राष्ट्रको घोषणा गर्नेछ । पहिलो संस्करणको विश्वकपमा आयोजक उरुग्वेले अर्जेन्टिनालाई फाइनलमा हराएर उपाधि जितेको थियो । बेलायत र रिपब्लिक अफ आयरल्यान्ड सन् २०३० को विश्वकप आयोजनाको दावीबाट पछि हट्दै सन् २०२८ को युरोकप आयोजना गर्न योजनामा रहेको छ ।

प्रतिक्रिया