कोशी ब्यारेजका ४६ ढोका खोलियो

सप्तरी । पुर्वी पहाडमा अविरल परेको वर्षाका कारण उदयपुर, सप्तरी, सुनसरीलगायतका तटीय क्षेत्रमा कोशी नदी अनियन्त्रत भएपछि सप्तकोशी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन ।

सप्तकोशी ब्यारेज हुँदै २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहावमा नियन्त्रण नआएपछि कोसी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको हो ।

सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेका अनुसार कोसी नदीले उदयपुरको बेलाका नगरपालिकास्थित डुम्रीबोटेको पश्चिम बस्तीतर्फ सोझिए पनि ब्यारेजबाट पानीको बहाब भने अझै कम भएको छैन ।

उनका अनुसार अविरल तथा तीव्र बहाबका कारण कोसीले उदयपुरमा २ हजार ५ सय भन्दा बढीलाई विस्थापित गरेको छ भने सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १३ गोबरगाढाको सामुदायिक भवन र विद्यालय भवन कटान गरी बगाएको छ । थप क्षतिको विवरण संकलन भइरहेको छ ।

प्रतिक्रिया