रेडपान्डा संरक्षण गर्दे हिमाली संरक्षण मञ्च

ताप्लेजुङ । पहाडदेखि अलि माथि लेकाली क्षेत्रहरूमा अहिले मालिंगोेको टुसा पलाउन थालेको छ । दुर्लभ जनावार रातो हाब्रे (रेडपान्डा) को आहारा मालिंगोेले मुना बलाउन थालेसँगै रेडपान्डाका पोथीले बच्चा जन्माउने र बच्चा हुर्काउने समय सुरुआत भएको छ । यो समय भनेको रेडपान्डाको बच्चा हुर्काउने समय हो । रेडपान्डाले शान्त ठाउँमा बस्न मन पराउँछ । मानव तथा अन्य जनावरले अशान्ति गरेको मन पराउँदैन । त्यसैले ताप्लेजुङको केही सामुदायिक वनहरूले सार्वजनिक सूचना जारी गरेरै दुर्लभ मानिने रेडपान्डा पाइने क्षेत्रका जंगलमा प्रवेशमा रोक लगाएको छ । साउनदेखि असोजसम्म जंगलमा पस्न र घाँस दाउरासमेत ल्याउन नपाइने गरी जंगल पस्न रोक लगाइएको छ ।

रेडपान्डाले बच्चा हुर्काउने समय भएकाले जंगलमा होहल्ला भएमा माउले बच्चा छोडेर हिँड्ने खतरा हुने भएकाले यस्तो सूचना जारी गरिएको पाथीभरा क्षेत्रको देउराली भित्री सामुदायिक वनभित्र प्रवेश निषेध गरिएको समुदायिक उपभोक्ता समितिले जनाएको छ । उपभोक्ता समितिका अध्यक्ष निमा कृपा शेर्पाका अनुसार रेडपान्डाले अशान्त माहोलबाट बच्चा जोगाउन अन्यत्रै लिएर हिँड्न खोज्ने, ठाउँ सार्न खोज्ने र सम्हाल्न नसके छोडेर अन्यत्रै जान्छ । यसबाट स्याहार नपुगेर बच्चाको मृत्यु पनि हुन सक्छ ।

जेठ अन्तिमदेखि साउनभर रेडपान्डाले बच्चा जन्माउँछ । त्यसपछिका दुई महिना नियमित हेरचाह गरेर हुर्काउँछ । यो अवधिमा कुनै अवरोध नभए बच्चाहरू सहजै हुर्कन्छन् । त्यसैले यो अवधिलाई विशेष महत्वका साथ हेरिने रेडपान्डासम्बन्धी काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । सामान्यतया १ सय ३५ दिनको गर्भाधारणपछि बच्चा जन्माउने रेडपान्डाले पुसदेखि फागुनसम्म गर्भाधारण गर्छ । गर्भवती भएको अवस्थामा ठूलो रूखको प्वाल खोजेर जन्माउने र हुर्काउने ठाउँ बनाउँछ । मिहिनेत गरेर बनाउने भएकाले बिनाअवरोध त्यहीँ हुर्काउन पाए बच्चालाई दूध चुसाएरै हुर्काउने भएकाले तीन महिना मात्रै राम्रो वातावरण पाए बच्चा सहजै हुर्कने रेडपान्डा संरक्षाकर्मी बताउँछन् ।

लजालु स्वभावको रेडपान्डा यो अवधिमा चलायमान हुन्छ  । खानेकुरा खोज्न गुँडबाहिर निस्कन्छ । आफूलाई असुविधा महसुस भए ठाउँ सार्ने गर्छ । सन् १९८९ मा लाङटाङ राष्ट्रिय निकुञ्जमा गरेको अध्ययनअनुसार ८६ प्रतिशत रेडपान्डाको बच्चा अवस्थामै मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । गाडीको हर्न बजे, घाँस दाउरा गर्दा ठूलो आवाजले कराए, रूखको हाँगा खसाले वा रूख काटेमा रेडपान्डा त्रसित हुने गर्छ । त्यस्तो अवस्था आए बच्चा सार्नतिर लाग्छ । सार्न थालेपछि बच्चाका लागि उपयुक्त वातावरण दिन नसक्ने भएकाले मृत्यु पनि हुन सक्छ । कुकुरबाट पनि जोखिम हुन्छ । कुकुर नियन्त्रणका लागि बर्सेनि बन्ध्याकरण शिविर सञ्चालन गरिरहेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक राईले बताए ।

मालिंगोेको टुसा, टेंगाको दाना, भालुचिण्डेजस्ता वस्तु खाएर बाँच्ने यसले गुँड बनाउँदा आफूले खाने आहारालाई पनि ध्यान दिएको हुन्छ । यो बेला प्राकृतिक रूपले सबै आहारा पाउने समय भएकाले बाँच्नै समस्या भने हुँदैन । ताप्लेजुङमा १ सय ३५ भन्दा बढीको संख्यामा रेडपान्डा रहेको अनुमान गरिएको मञ्चको तथ्यांकमा उल्लेख छ । रेडपान्डा मुलुकका ताप्लेजुङ, पाँचथर र इलामका वनहरूमा धेरै पाइन्छ । विभिन्न समयमा गरिएको सर्वेक्षणअनुसार मुलुकभर यसको संख्या तीन सयको हाराहारीमा छन् ।

विद्यार्थीलाई पढाइँदै छ रेडपान्डा संरक्षण

लोपोन्मुख अवस्थामा रहेको दुर्लभ रेडपान्डा संरक्षणका लागि ‘रेडपान्डा नेटवर्क’ले विभिन्न संघसंस्थासँगको सहकार्यमा विद्यालयमा पठनपाठन गराउँदै आएको छ । हाब्रे संरक्षणमा क्रियाशील सो नेटवर्कले वातावरण संरक्षणसम्बन्धी पाठ्यपुस्तक तयार गरेर विभिन्न विद्यालयमा अध्ययनअध्यापन गर्दै आएको छ ।

हाब्रे पाइने ताप्लेजुङ, पाँचथर र इलाम गरी २८ विद्यालयमा रातो हाब्रेका विषयमा पठनपाठन भइरहेको रेडपान्डा संरक्षणसम्बन्धी काम गर्दै आएको हिमाली संरक्षण मञ्च ताप्लेजुङका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए । कक्षा ६ र ७ मा पठनपाठन सुरुआत गरिएको हो । विद्यालयस्तरबाटै वातावरण संरक्षणको चेतना जगाउन स्थानीय पाठ्यसामग्री तयार पारिएर अध्ययन हुँदै आएको उनले बताए ।

ताप्लेजुङ, इलाम र पाँचथरका वातावरण, भौगोलिक अवस्था, मानवीय अवस्थाको विषय समेटिएर तयार पारिएको पाठयक्रम भएकाले स्थानीय परिवेश बुझ्न पनि मद्दत पुग्ने विश्वास गरिएको छ । कक्षा ६ को पुस्तकमा संरक्षण, संरक्षित क्षेत्र र संरक्षणका स्थानीय अभ्यास, हाब्रे, मानव र वन्यजन्तुबीचको द्वन्द्व र न्यूनीकरणका अभ्यास, संस्कार, संस्कृति र पर्यटनसम्बन्धी पाठ्यसामग्री समावेश गरिएको छ ।

कक्षा ७ को पुस्तकमा पूर्वी हिमाल, जैविक विविधता, संरक्षणसम्बन्धी ऐन, कानुन, प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जनका अभ्यास र जलवायु परिवर्तन शीर्षकका छन् । ती विद्यालयमा बाल क्लब बनाएर यसअघिदेखि नै वातावरण संरक्षणसम्बन्धी ज्ञान दिइँदै आए पनि त्यति प्रभावकारी हुन नसकेपछि स्थानीयस्तरमै पाठ्यक्रम तयार पारी लागू गरिएको रेडपान्डा नेटवर्कले जनाएको छ ।

लोपोन्मुख हाब्रेको संरक्षण २०६३ देखि हुन थालेको हो । ताप्लेजुङ, पाँचथर र इलाम जिल्लामा करिब दुई सयको हाराहारीमा हाब्रे रहेको अनुमान गरिएको छ । इलाममा उच्च पहाडी संरक्षण संस्था नेपाल, पाँचथरमा दीपज्योति युवा क्लब र ताप्लेजुङमा हिमाली संरक्षण मञ्चले हाब्रे संरक्षण गर्दै आएका छन् ।

प्रतिक्रिया