किन फेल हुन्छन् यतिधेरै डाक्टरहरू ?

डा. कृष्णप्रसाद अधिकारी

नेपालमा अहिले ३० हजारभन्दा बढी डाक्टर दर्ता छन् । तर, नेपालमै कति जना छन् ? कसले के पढेर के काम गरिरहेका छन् ? चिकित्सा सेवामा छन् छैनन् यो जान्न आवश्यक छ तर पूरा सूचना कसैसँग छैन । जस्तो २० वर्षदेखि विदेशमा बसेर काम गरिरहेको चिकित्सक छ हामी भने ऊ नेपालमा छ भनेर गनेको गनै छौँ यहाँ । जसले गर्दा नयाँ योजना पनि बनाउन सकिएन, अनि एनालाइसिस गर्न पनि पाइएन । त्यसकारण दर्ता भएका डाक्टरहरू को कहाँ छन् ? कतिको मृत्यु भइसकेको छ ? कतिले काम छाडे, कुन विषयमा कति विशेषज्ञता हासिल गरेका व्यक्ति छन् ? कति अपुग हुने भए ?

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा किन धेरै विद्यार्थी फेल हुन्छन् ? भन्ने चर्चा पछिल्ला दिनमा अधिक हुने गरेको छ । मेडिकल काउन्सिल भनेको गुणस्तरीय चिकित्सकबाट नागरिकले सेवा पाउने कुराको ग्यारेन्टी गर्ने संस्था हो । त्यसैले यसमा न्यूनतम योग्यता र दक्षता मापनका आधारमा मूल्यांकन गरिएको हुन्छ । पटकपटक विद्यार्थी फेल भएको तथ्यांक हेर्दा मेडिकल कलेजको पढाइको गुणस्तरमा प्रश्न गर्नुपर्ने अवस्था आएको हो कि भनेर बहस गर्ने समय आएको छ । विद्यार्थीको फेल हुने संख्या बढ्दो क्रममा हुनु भनेको या त विश्वविद्यालय, प्रतिष्ठान तथा मेडिकल कलेजको कोर्ष मिलेको छैन या त विद्यार्थीको क्षमता मिलेको छैन ।

मेडिकल काउन्सिलको परीक्षामा अहिले सहभागी भएकाहरू पाँचदेखि सात वर्ष अगाडि भर्ना भएका विद्यार्थीहरू हुन् । त्यतिबेला मेडिकल शिक्षाका क्षेत्रमा चरम बेथिति थियो । त्यसैले त गोविन्द केसी अनसन बसे । मेडिकल शिक्षा सुधार गर्न उनको माग थियो । त्यो समयमा भर्ना गर्दा योग्यताक्रम खासै मेन्टेन हँुदैनथ्यो । विदेश पढ्न जानेले त योग्यता जाँचसमेत दिनु पर्दैनथ्यो । जाँच नभएको हुनाले विद्यार्थी विदेश अध्ययनका लागि पनि धेरै गइरहे । कसरी गए भन्दा प्लसटुमा ५० प्रतिशत अंक ल्याए हुन्थ्यो । प्रवेश परीक्षा दिन परेन । सबै विद्यार्थीलाई भर्नाको अवसर दिएपछि पास÷फेल भन्ने कुरा विद्यार्थीको क्षमता र कलेजमा पनि भर प¥यो ।

अर्को हामीहरूको रिजल्ट २८ प्रतिशतसम्म झरेको छ । यो कहिलेभन्दा ०७५ साल चैत महिनामा हो । त्यो भन्दा अगाडि क्रमशः ३९, ३८, ४७, ७१ र ७२ प्रतिशत पनि छ । लाइसेन्स परीक्षमा जब फ्रेस ब्याच आउँछ, त्यो बेलामा धेरै पास भएको देखिएको छ । बाहिरबाट नतिजा हेर्दा धेरै फेल भएको भनेर देखिनु स्वभाविक हो । अहिलेको परीक्षामा सहभागी भएका १४ सय ६० जनामध्ये ११ सय ६ जना पहिला पनि परीक्षामा सहभागी भएर फेल भएका विद्यार्थी हुन् । त्यसैले एकपटक फेल भएको विद्यार्थी फेरि फेल हुने सम्भावना त हुन्छ नै । यो पटकको परीक्षामा विगतमा पनि फेल भएकाहरूको संख्या धेरै भएकाले नतिजा त्यस्तो आएको होला । त्यसैले पहिलोपटक परीक्षा दिनेको मात्र छुट्टै नतिजा निकाल्न पर्ने हो कि ? त्यस्तो गर्दा झट्ट सुन्दा त राम्रो नतिजा आउँछ । हामी यसतर्फ पनि छलफलमा लागेका छौँ । काउन्सिलबाट उत्तीर्ण भएको डाक्टरले बिरामीको जाँच गर्ने हो नि । त्यसकारण यसको गुणस्तरमा प्रश्न आउने ठाउँ दिनु हुँदैन । जाँचमा कति जना, कति प्रतिशत पास हुन्छन् भन्दा पनि चिकित्सक परीक्षा दिएर लाइसेन्स पाउन योग्य छन्÷छैनन् महत्वपूर्ण हो ।

मेडिकल इन्स्टिच्युटमा फेल हुने भनेको सामान्य हो । बाहिरबाट हेर्दा डाक्टर पनि कहाँ फेल हुन्छन् भन्ने प्रश्न आउन सक्ला तर फेल हुन्छन् । महाराजगञ्ज क्याम्पसमै सुरुसुरुमा एउटा विषय पनि ब्याक नलाई पास हुने मान्छे निकै थोरै हुन्छन् । कतिपय त दोस्रो वर्ष पार लगाउन नसकेर ब्यारिएर्स सिस्टमका कारण कोर्षबाटै निकालिन्छन् । यो कुरो धेरैलाई थाहा हुन्न । भनेको सबै विद्यार्थी सधैँ सबै विषयमा पास हुँदैन । पढाइ पनि अप्ठ्यारो नै छ । जो पायो त्यसले पढ्ने विषय नै होइन यो । त्यसो हुनाले पुरानो रिजल्ट हेर्दा पनि उस्तै छ ।एमबिबिएसमा २०÷२२ विषय छन्, ती सबै विषयका पढाइरहेका ३०÷४० एसोसिएट प्रोफेसर र प्रोफेसरहरूसँग प्रश्नहरू मागिन्छ । त्यसरी मागिएको प्रश्नलाई प्राध्यापक तहको अर्को विज्ञबाट जाँच गराइन्छ र त्यसपछि एकजना मुख्य व्यक्तिले विभिन्न सेट प्रश्न बनाउने गरिन्छ । यसो गर्दा कसैलाई लहड लागेको भरमा अप्ठ्यारो वा सजिजो प्रश्न मात्र पर्छ भन्न मिल्दैन । धेरै शिक्षकहरूको संलग्नतामा प्रश्न सेट बनेको हुन्छ । एक परीक्षामा यसरी कम्तिमा ५०÷६० जना प्राध्यपकको संलग्नता हुन्छ । अर्को महत्वपूर्ण कुरा काउन्सिलका रजिस्ट्रार, अध्यक्ष र सदस्यहरू यो काममा संलग्न हुन पाइन्न केवल परीक्षा सिमितिले निगरानी र व्यवस्थापन मात्र गर्दछ । काउन्सिल पदाधिकारीले प्रश्न बनाउँदैनन् र हेर्दैनन् पनि, यसो भएर नै यो परीक्षाको इज्जत जोगिएको छ ।

शिक्षकले कोर्ष तथा लेबल हेरेर नै प्रश्न बनाउने हो । त्यसकारण प्रश्न कडा भयो, नरम भयो भनेर कसले भनिरहेको छ ? त्यो त विद्यार्थीले भनेको न हो । हामीले लिने परीक्षामा ५० प्रतिशत मिल्यो भने पास हुन्छ । हामीले लिएको परीक्षामा ७० प्रतिशतभन्दा बढी पास भएका पनि छन् । प्रश्न सोध्ने प्याटर्न त त्यही हो । त्यसकारण यसमा प्रश्न उठाउनु गलत हो ।

१ सय ८० वटा प्रश्नमा ५० प्रतिशत मात्र मिलाउने हो नि । हामीले सतप्रतिशत नै मिलाउनुपर्छ भनेको छैन नि । ७० प्रतिशत भनेको छ ? छैन नि । ल गाह्रो प¥यो चार÷पाँच वटा प्रश्न होला । प्रश्न त १ सय ८० वटा छ नि । अनि १ सय ८० वटा नै गाह्रो होइन त ? ५० प्रतिशत पनि नमिलाउने ? ५० प्रतिशत मिलाए त पास भइन्छ । २÷४ वटा प्रश्न गाह्रो हुँदा रिजल्टमा असर पर्छ त ? यो ¥यांकिङ होइन, पास फेल मात्र हो । ५० प्रतिशत ल्यायो पास भयो, ल्याएन फेल भयो । अर्को कुरा प्रश्नको स्तरमा ६० प्रतिशत जति जान्नै पर्ने, २०÷३० प्रतिशत जान्दा राम्रो हुने र १०÷२० प्रतिशत जान्दा उत्तम हुने प्रश्न राखिएको हुन्छ । यसका लागि कुन प्रश्न उपयुक्त हुन्छ, यो विषय शिक्षकको समूहले तय गर्ने हो ।

विगत केही वर्षदेखि कम्प्युटर प्रविधिमा आधिरत परीक्षा लिइने गरिएको छ जहाँ परीक्षा सकेर प्रश्न बुझाउँदा रिजल्ट निस्कन्छ, त्यसलाई पछि एकैपटक सबै परीक्षा सकिएपछि प्रकाशित गर्ने हो । यही प्रविधि प्रयोग गरेर हामी हरेक परीक्षाको आइटम एनालाइसिस गर्दै छौँ र अबको केही समयपछि मूल्यांकन गरिएका प्रश्नहरू मात्र सोधिनेछन् । त्यसपछि त झन् यो सोधियो ऊ सोधियो भन्नै परेन गाह्रो भो साह्रो भो को कुरा पनि परेन ।
पहिला नेपालमा पढेका विद्यार्थी धेरै पास हुन्थे । विदेशमा पढेका विद्यार्थी धेरै फेल हुन्थे । अहिले बराबरजस्तै छ । पढाइमा पनि अलि कम्प्रमाइज भयो होला । नेपालका मेडिकल कलेजमा विभिन्न माथिल्ला कार्यक्रमहरू थप्दै जाँदा तल्लो तहका मेडिकल विद्यार्थीले बिरामी छुन नपाउने वा पहिलेको जस्तो अवसर नपाउने खालको अवस्था पनि आइसकेको देखिन्छ । त्यसकारण कलेजको पढाइ र सिकाइमा सुधार गर्नुपर्ने देखिन्छ । हामीलाई त अहिले सीपमा पनि शंका लाग्न थालेको छ । त्यसकारण अब सीपको पनि जाँच लिनुपर्छ भन्ने निर्णय गरिसकेका छौँ । तर अलिकति भौतिक पूर्वाधार नपुगेको हुनाले अहिले त्यसलाई लागू गरिएको छैन ।

सैद्धान्तिक परीक्षामा पास भएको विद्यार्थी प्रयोगात्मकमा पास हुनुपर्छ । किनकी त्यो डाक्टरले त सिउँछ, पाइप हाल्छ, सुइ लगाउँछ । त्यो सीपमा पारंगत भयो कि भएन भनेर कसैले जाँचेको छैन । अहिले त केबल लिखित मात्र हो । घोक्न सक्नेले सबै उत्तर मिलाउन सक्छ । तर सुई हान्न, तथा उपचारका प्रक्रिया अनुसार गर्न नजानेको पनि हुनसक्छ । त्यसकारण सीपको जाँच हुनुपर्छ भनेर हामी अगाडि बढेका छौँ ।

काउन्सिलमा पटकपटक विद्यार्थी फेल हुने क्रम बढेपछि अब निश्चित समयसम्म पास भएन भने परीक्षा दिन नपाउने व्यवस्था गर्नुपर्छ भन्ने सुझाव आइरहेका छन् तर यस्तो गर्न थाल्यो भने फेरि नारा जुलुस सुरु हुन्छ । जाँचबाट वञ्चित गराउन हुँदैन भन्ने छ । यतिपल्ट वा उतिपल्ट दिन पाइन्छ वा पाइँदैन भनेर सीमा तोक्दा थप समस्या आउन सक्छ । यसको के निकास हुन्छ सक्छ भने धेरै देशमा एमबिबिएस पढिसकेपछि यदि बिरामी जाँच्दैन भने त्यसलाई लाइसेन्स चाहिँदैन । तर हाम्रोमा के बाध्यता छ भने तपाईंले एमबिबिएस पढेपछि लाइसेन्सको जाँच दिनै पर्छ नत्र भने अन्यत्र डेग चल्न दिइँदैन । यो चाहिँ मिलाउनुपर्छ । कोही मान्छे बिरामी जाँच्दैन भने एबिबिएस र बिडिएसको पढाइलाई स्नातक तहको योग्यता मानेर अरू नन् क्लिनिकल विषयको स्नातकोत्तर वा मास्टर्स डिग्री पढ्न बाटो खोल्नुपर्छ । हस्पिटल म्यानेजमेन्ट वा अरू बिरामी नजाँच्ने विषय पढे भयो नि । तर, अहिले त्यो पनि दिइँदैन । एमबिबिएस गरेको छ भनेपछि खै लाइसेन्स भन्ने प्रश्न आइहाल्छ । त्यो खोजिन्छ । विदेश पढ्न जान पनि काउन्सिलकै लाइसेन्स चाहिने भएकाले विश्वविद्यालय र आयोगसँग बसेर यो कुरा गर्नुपर्नेछ । जो मान्छे डाक्टरी गर्दिनँ भन्छ र त्यो मान्छेले थप पढ्न चाह्यो भने स्नातकोत्तर तहमा भर्ना लिने व्यवस्था गर भन्दैछौँ । किनकी तीन÷चार पटक परीक्षा दिँदा पास भइएन वा डाक्टरीमा मन लागेन भने त अब एमए वा अन्य मिल्ने विषय पढ्छु भन्न पाउनुप¥यो नि त ।

नेपाल मेडिकल काउन्सिलले विभिन्न समयमा डाक्टरको डकुमेन्टहरू मागिरहेको छ । यसमा केही सिनियर डाक्टरहरूले काउन्सिलले किन पटकपटक एउटै डकुमेन्ट मागिरहेको छ रेकर्ड राम्रो नभएको हो वा काउन्सिल कमजोर भएर भन्ने आरोप लगाएका छन् । तर हामीसँग प्रमाणपत्रको रेकर्ड नभएर होइन बरू केही व्यक्तिगत सूचनाहरूचाहिँ केही छुटेका छन् । पहिलाको स्क्यान, पहिलाको रेकर्ड हामीसँग पनि छन् । निकै पुराना डाक्टरको त रेकर्डमा एकनासपना र सर्टिफिटेक पनि पूरै नहोला तर अधिकांशको छ । हामीले उहाँहरूलाई हाम्रो सिस्टममा अपडेट गर्नुहोस् भनेको हो । त्यो त उहाँहरूको पनि पोर्टल हो । उहाँहरूले त्यो रेकर्ड जतिबेला पनि डाउनलोड गर्न पाउनुहुन्छ र त्यही पोर्टलबाट थप कागजपत्र नहाली सेवाका लागि आवेदन गर्न र रकम तिर्न पाउनुहुन्छ । अर्को हामीसँग कम्प्लिट डकुमेन्ट छ भन्नका लागि हो यो गरेको । यसमा अब हरेक पटक डकुमेन्ट मागिन्न, केवल थप डकुमेन्ट मात्र हाल्ने हो । यो सजिलो तथा सहज सूचनाका लागि गरिएको हो । रजिस्ट्रारले व्यक्तिगत लहडका कारण यो मागेको होइन । काउन्सिलको ऐनमा तोकिएको व्यवस्थाअनुसार अध्यावधिक सूचनाका लागि मागिएको हो । तर, कसैलाई यसमा समस्या भए हामी सहयोग गर्छौं । यसलाई व्यक्तिगत रूपमा लिनुहुन्न । त्यो गलत बुझाइ हो । काउन्सिलको नियमकानुन अनुसार नै अद्यावद्यिक गर्न विवरण मागिएको हो । अहिले यो काम सहज हुँदै छ ।

अर्को कुरा नेपालमा अहिले ३० हजार भन्दा बढी डाक्टर दर्ता छन् । तर नेपालमै कतिजना छन् ? कसले के पढेर के काम गरिरहेको छ ? चिकित्सा सेवामा छन् छैनन् यो जान्न आवश्यक छ तर पूरा सूचना कसैसँग छैन । जस्तो २० वर्षदेखि विदेशमा बसेर काम गरिरहेको चिकित्सक छ हामी भने ऊ नेपालमा छ भनेर गनेको गनै छौँ यहाँ । जसले गर्दा नयाँ योजना पनि बनाउन सकिएन, अनि एनालाइसिस गर्न पनि पाइएन । त्यसकारण दर्ता भएका डाक्टरहरू को कहाँ छन् ? कतिको मृत्यु भइसकेको छ ? कतिले काम छाडे, कुन विषयमा कति विशेषज्ञता हासिल गरेका व्यक्ति छन ? कति अपुग हुने भए लगायतका विवरणहरू अपडेट गर्नुका साथै नयाँ योजना बनाउन त्यसो गरिएको हो ।

नेपाल मेडिकल काउन्सिल ऐनमा भएको व्यवस्थाअनुसार हरेक डाक्टरले आफ्नो ठेगाना बदलेमा हामीलाई एक महिनाभित्रमा खबर गर्नुपर्छ । गरेनन् भने रजिस्ट्रारले तीन महिना भित्रमा यसबारे सोध्छ । त्यो अवधिमा पनि खबर भएन भने सार्वजनिक सूचना जान्छ र अर्को तीन महिनापछि पनि पत्तो लागेन भने नाम खारेज हुनसक्छ भनेर ऐनमा लेखिएको छ । यो कार्यान्वयन गर्नु हाम्रो कानुनी दायित्व हो । यसका लागि डाक्टरलाई चाहिने आवश्यक सहयोग काउन्सिलले गर्छ । काउन्सिलले विवरण अध्यावधिक गर्न खोजेको हो, नाम हटाउन खोजेको हैन ।
(काउन्सिलका रजिस्ट्रार अधिकारीसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया