कुसुन्डा भाषा संरक्षण गर्दै नयाँ पुस्ता

देउखुरी । प्युठान जिल्ला सरुमारानी गाउँपालिका–६ बढीचौरकी १९ वर्षीया हिमा कुसुन्डा महेन्द्र माध्यमिक विद्यालय धर्नामा कक्षा १२ मा अध्ययनरत छिन् । उनको मातृभाषा कुसुन्डा हो । परिवार, छरछिमेक सबैले नेपाली भाषा बोल्ने हुँदा उनलाई नेपाली भाषाकै बानी प¥यो । मातृभाषा बोल्न आउँदैनथ्यो । अचेल उनी कुसुन्डा भाषामा गीत लेख्न र गाउन सक्ने भएकी छन् । भाषा आयोगले सञ्चालन गरेको कुसुन्डा भाषीका नयाँ पुस्तालाई ९० घण्टा (पहिलो सत्र) र ६० घण्टा (दोस्रो सत्र) को प्रशिक्षणमा उनले आफ्नै मातृभाषा सिक्ने अवसर पाएकी हुन् । पहिलो सत्रमा कुसुन्डा भाषामा आफ्नो परिचय दिने र सामान्य शब्द उच्चारण मात्रै सिकेकी थिइन् । दोस्रो सत्र पछाडि नयाँ पुस्ताका बालबालिका गीत लेख्न र गाउन सक्ने भएपछि उनी पनि गीत लेख्न र गाउन सक्ने भएकी छन् ।

कुसुन्डा भाषाको संरक्षण गर्ने र पछिल्लो पुस्तालाई सो भाषा सिक्न सघाउने हिमाको लक्ष्य छ । उनले भनिन्, ‘भाषा बचाउन गीत लेखेकी हुँ । कुसुन्डा भाषामा मात्रै गीत बनाएकी छु । कतै कार्यक्रममा गएँ भने कुसुन्डा भाषाको गीत सुनाउने गर्छु ।’ बढीचौरकै फाली कुसुन्डा पनि दाङको महेन्द्र माध्यमिक विद्यालय धर्नामा नै कक्षा ११ मा अध्ययनरत छिन् । कुसुन्डा भाषाको कक्षा लिइसकेकी उनी घरपरिवारमा कुसुन्डा भाषामा नै बोल्ने अभ्यास गर्छिन् । मातृभाषा सिकेमा लोप नहुने र बोलचालमा ल्याइराखियो भने मात्र भाषालाई बचाइराख्न सकिने भएकाले कुसुन्डा भाषा सिकेको उनले बताइन् ।

कुसुन्डा भाषा सिक्न थालेदेखि उनले भेटेकाहरूसँग ‘नमस्कार’ को सट्टा ‘सोजाक’ भन्न थालेकी छन् । उनले भनिन्, ‘सुरुसुरुमा त बुझिन्नथ्यो । पढ्दै जाँदा सजिलो भएको छ । धेरै कुरा जान्ने भएका छौँ । यो भाषा पढ्ने साथीहरू एकापसमा कुरा गर्दा कुसुन्डा भाषामा नै प्रयोग गर्ने गरेका छौँ ।’
घोराही उपमहानगरपालिका–१८ सुपैलाखुटीका कमला सेन कुसुन्डाले कुसुन्डा भाषा जीवित राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । उनले कुसुन्डा भाषाको एक मात्र जीवित पूर्ण वक्ता हुन् । उनकै सहयोगमा भाषा संरक्षणको काम भइरहेको छ । कुसुन्डा भाषालाई जोगाइराख्न र पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न प्रयास गरिएको छ ।

तीन वर्षअघिसम्म कुसुन्डा समुदायबाट कुसुन्डा भाषाका पूर्ण वक्ता दुई जना मात्रै थिए । तीमध्ये एक जना दाङको लमही नगरपालिका–३ कुलमोर निवासी ज्ञानीमाया कुसुन्डाको तीन वर्षअघि अर्थात् २०७६ पुस ९ गते मृत्यु भएपछि कुसुन्डा भाषा लोप हुने चिन्ता थपिएको थियो । कुसुन्डा भाषाको संरक्षण गर्न र त्यसलाई जीवित राख्न लमही नगरपालिका–५ का अनुसन्धानकर्ता उदयराज आलेले सहयोग गर्दै आएका छन् । भाषा आयोगको सहयोगमा उनले ०७४ सालमा कुसुन्डा भाषाको कुसुन्डा जाति र शब्दकोश प्रकाशन गरे । ०७८ सालमा कुसुन्डा गिपन (कुसुन्डा भाषा कक्षा) र आधारभूत पाठ्यसामग्री (क) र खण्ड (ख) प्रकाशन गरेका छन् ।

त्यस्तै सोजाक (कुसुन्डा पाठ्यसामग्री) प्रकाशन भएको छ । यसै वर्ष उनी कुसुन्डाको वृत्तचित्र तयार गर्दै छन् । उनको गेम्येहाक, कुसुन्डा व्याकरण (कुसुन्डा र नेपाली भाषामा) प्रकासोन्मुख पुस्तक हुन् । आलेको मातृभाषा मगर भए पनि उनले लोपोन्मुख कुसुन्डा भाषाको संरक्षणका लागि काम गरेका छन् । कुसुन्डा भाषा सरक्षणका लागि केही सकारात्मक प्रयासहरू भइरहेका छन् । कुसुन्डा भाषा नेपालको एक प्राचीन आदिवासी भाषा भएको शिक्षा क्षेत्रका अगुवा गिरिराज शर्माले बताए । उनका अनुसार कुनै पनि भाषा परिवारसँग सम्बन्ध नगाँसिएको यो एक महत्वपूर्ण भाषा हो । कुसुन्डा भाषाको दैनिक जीवनमा प्रयोग र विकासमा निकै ठूलो चुनौती देखिएको उनी बताउँछन् । शर्माका अनुसार केही वर्ष अघिसम्म कुसुन्डा भाषा बोल्न र बुझ्न नसक्ने कुसुन्डा समुदायमा अहिले आफ्नो मातृभाषामा कुराकानी गर्न थालेका छन् । यो भाषाको अध्ययन गरेर सजिलोसँग बोल्न र लेख्न सक्ने भएका छन् । कुसुन्डा समुदायको नयाँ पुस्ता भाषा सिक्न, पढ्न र संरक्षण गर्न सक्रिय हुन थालेपछि केही आशा पलाएको उनले सुनाए ।

भाषा कक्षालाई अब परिवार र प्रविधिसँग जोडेर विस्तार गर्ने योजना बनाइएको कुसुन्डा भाषाका अनुसन्धानकर्ता एवं शिक्षक आलेले बताए । उनले भने, ‘कुसुन्डा भाषाका विभिन्न शब्दावली र जानकारी समेटिएका वृत्तचित्र बनाएर गाउँगाउँमा पठाउने र घरघरमा सुन्ने वातावरण बनाउने योजना छ ।’ कुसुन्डा भाषाका अर्का वक्ता कमला सेन कुसुन्डा बोल्न त सक्छिन् तर लेख्न सक्दिनन् । उनलाई लेखनमा आलेले सहजीकरण गरिरहेका छन् ।

दुई वर्षअघिसम्म दुई जनामा सीमित कुसुन्डा भाषा अहिले पठनपाठनमार्फत ३० जनामा फैलिएको छ । सुरुसुरुमा ज्ञानीमैया र कमलाकै सहयोगमा कुसुन्डा भाषाको कक्षा चलाइएको थियो । यो जिम्मेवारीलाई अहिले कमलाले निरन्तर अगाडि बढाइरहेका छन् । कुसुन्डा भाषा बोल्न जान्नेहरूको संख्या बढ्दै गएको र यसलाई निरन्तरता दिएर भाषा जीवित राख्ने उद्देश्य रहेको कमलाले सुनाइन् । भाषा, शब्द निर्माण र भाषिक संरचनासम्बन्धी लोपोन्मुख कुसुन्डा समुदायका लागि तालिम सञ्चालन गरिएको थियो ।

अनुसन्धानकर्ता आलेको दोस्रो पुस्तक ‘सोजाक’ प्रकाशित छ । आलेले तयार गरेका पुस्तक ‘सोजाक’ कुसुन्डा समुदायमा अभिवादन व्यक्त गर्न प्रयोग गरिने शब्द हो । यस पुस्तकमा पाठ्यसामग्रीलाई वर्णमालासहित २१ वटा पाठमा विभाजन गरिएको छ । प्रत्येक पाठमा कुसुन्डा भाषा, व्याकरण र संवादलाई केन्द्रित गरिएको छ । लुप्तप्रायः स्थितिमा पुगेको कुसुन्डा भाषा र संस्कृतिको संरक्षण, विकास र दैनिक जीवनमा कुसुन्डा भाषाको प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यले तयार पारिएको यस पुस्तकमा कुसुन्डा भाषाको शब्द संकलन, वाक्य निर्माण, संवाद र नेपाली अर्थ समावेश गरिएको छ । यसले गर्दा कुसुन्डा भाषा पढ्न, बुझ्न र सिक्न सजिलो भएको पुस्तक लेखक आलेले बताए ।

एकल भाषाका रूपमा मानिएको कुसुन्डा भाषाको छुट्टै महत्व छ । कुसुन्डा भाषा कुनै एक समुदायको मात्र नभई देशकै महत्वपूर्ण सम्पदा हो । पुस्तक पढिसकेपछि अभ्यास, कुसुन्डा शब्दलाई नेपाली, नेपाली शब्दलाई कुसुन्डा, कुसुन्डा वाक्यलाई नेपाली र नेपाली वाक्यलाई कुसुन्डा भाषाको वाक्य बनाउने क्रियाकलाप समावेश गरिएको छ । थोरै जनसंख्यामा रहेका तर विभिन्न जिल्लामा छरिएर बसोबास गरेका र शिक्षामा पछि परेका यस समुदायलाई कुसुन्डा भाषामा साक्षर बनाउन पुस्तक निकै उपयोगी छ । पुस्तकले कुसुन्डा भाषा कक्षामा सहभागीलगायत कुसुन्डा भाषा अध्ययन गर्न चाहने पाठकलाई समेत सहयोग पुगेको छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार, दाङमा कुसुन्डा भाषा बोल्नेमा १४ पुरुष र १४ महिला गरी २८ जना रहेको उल्लेख छ । जनगणना अनुसार, देशभर १ सय २३ पुरुष र १ सय ५० महिला गरी २ सय ७३ जना कुसुन्डा रहेका छन् । कसुन्डा भाषाका अनुसन्धानकर्ता आलेले ०७९ असारमा गरेको अध्ययनमा १ सय ५५ जना कुसुन्डा गरेको जानकारी दिएका छन् । भाषा संरक्षणका लागि संख्या यकिनका लागि अध्ययन गर्दा यस्तो नतिजा आएको उनले सुनाए । दाङ, प्युठान, कपिलवस्तु, अर्घाखाँची, गोरखा, रोल्पा, तनहुँ, सुर्खेत र बर्दियामा मात्रै कुसुन्डाको बसोबास रहेको उनले बताए ।

प्रतिक्रिया