शैक्षिक सुधारको बाटोमा पनौती नगरपालिका

काभ्रे । पनौती नगरपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत सुचना प्रविधि प्रयोशाला निर्माण गर्नै भएको छ । यसमा छनौट भएका विद्यालयमा प्रोजेक्टर, स्मार्ट वोर्ड, टिभी सेट खरिद तथा डिजिटल लाईबेरी निर्माणको लागि प्रति विद्यालय ६ लाख ५० हजार रुपैया प्रदान गरिने बताइएको छ ।

पनौती नगरपालिकाको शिक्षा शाखाका शाखा अधिकृत पुष्पा शर्मा अर्यालले यो कार्यक्रमले गुणस्तरीय, प्रविधिमैत्री शिक्षा प्रदान गर्न सहयोग पुगेको बताईन् । उनले आधुनिक प्रविधिको प्रयोग गरि पठनपाठन गर्दा विद्यार्थिहरुलाई अझ सहज हुनुका साथै शिक्षकहरुलाई पनि शैक्षिक सामाग्रीहरु संकलन गर्न सजिलो हुने गरेको बताइन् ।

उनले विद्यालय र विद्यार्थीको गुणस्तर सुधारको लागि गत वर्ष पनौती नगरभित्र रहेको श्रीराम मावि, पुण्य मावि, इन्द्रेश्वर मावि, शान्ति निकेतन मावि र भालेश्वर मावि गरि पाँच वटा विद्यालयमा सूचना प्रविधि प्रयोगशाला निर्माणको लागि बजेट आएको बताइन् । प्रदेश सरकारको तर्फबाट पनि पनौती नगर क्षेत्र भित्रको भालचन्द्र मावि र बाल आदर्श मावि दुई वटा विद्यालयमा सूचना प्रविधि प्रयोगशाला निर्माणको लागि बजेट आएको थियो ।

यो कार्यक्रमअन्तर्गत प्रदेशबाट भने प्रति विद्यालय १२ लाख रुपैयाँ आएको उनले बताइन् । उनका अनुसार गत वर्ष शान्ति निकेतन मावि र बालप्रकाश मावि दुई विद्यालयलाई साइन्स ल्यावको लागि पनि बजेट आएको थियो ।

शिक्षा शाखाका स्रोत व्यक्ति महेश्वर जंगमका अनुसार आइसिटि कार्यक्रमअन्तर्गत नगरपालिकाले प्रस्ताव आव्हान गर्ने र आएको प्रस्तावलाई प्राथमिकिकरण गर्ने र सिफारिस गर्ने कार्य गर्छ भने कार्यक्रम आएपछि संवन्धित विद्यालयले नै खरिद प्रक्रिया अघि बढाउने छ । यो कार्यक्रमको बजेटले प्रोजेक्टर, स्मार्ट वोर्ड, टिभी सेट खरिद तथा डिजिटल लाईबेरी निर्माण बाहेक अन्य काम गर्न नपाइने श्रोत व्यक्ति जंगम बताउँछन् । पनौतीको शैक्षिक क्षेत्रको सुधारको लागि नगरले समेत आन्तरिक बजेट विनियोजनमा पहिलो प्राथमिकता राखेर अगाडि बढिरहेको छ ।

‘पनौती शैक्षिक हवको रुपमा विकास हुँदैछ’, स्रोत व्यक्ति जंगम भन्छन्, ‘पनौती नगरमा काठमाडौं विद्याविद्यालय हाइस्कुल (कुप्स), मल्पी इन्टरनेशनल, सिद्धार्थ वनस्थली जस्ता देशभरी नाम चलेको विद्यालय संस्थागत तर्फका विद्यालय पनि छन भने भलेश्वर मावि, भालचन्द्र मावि जस्ता सामुदायीक तर्फका नमुना विद्यालय पनि छन् ।’

सामुदायीक तर्फ आम अभिभावकहरुको आकर्षणको केन्द्र बनेको पनौतीमा श्वेत गणेश आधारभूत विद्यालय जस्ता विद्यालय पनि पनौती नगरमा रहेको छ । शैक्षिक गुणस्तर बढाउनको लागि विद्यालयको प्रध्यानाध्यापकको पनि उत्तिकै भूमिका रहने भन्दै श्वत गणेश विद्यालयका प्रअ इन्द्रलाल मानन्धरको चर्चा पनि हुने गर्दै आएको छ ।

मानन्धरले शिक्षा सेवा आयोगमा मावि तहमा नाम निकालि सिफारिस समेत भए पनि आफ्नै गाउँको विद्यालय सुधार गर्छु भनि राहत शिक्षकको रुपमा बसेर कार्य गरिरहेका छन् । पनौती नगरका स्रोत व्यक्ति जंगमका अनुसार प्रअको इच्छा शक्ति भयो भने पनि शैक्षिक गुणस्तर बढ्नेछ ।

यो विद्यालयमा अहिले नयाँ विद्यार्थि मात्र एक सय जनाको हाराहारीमा भर्ना भएका छन् ।
शिक्षिकाहरु मात्र रहेको धनेश्वर प्रविमा पनि अहिले विद्यार्थिको चाप बढेको छ । पहिला बन्द भएको यो विद्यालय दुई वर्षअघि पुनः सञ्चालनमा आएको थियो । पनौती नगरमा ३३ वटा सामुदायीक र १९ वटा संस्थागत विद्यालयमा करिब १३ हजार विद्यार्थी अध्ययनरत छन् ।

पनौती नगरभित्र पढ्न काभ्रे जिल्लाकै अतिविकट मानिँने खानीखोला, महाभारत लगायतका भूगोलका विद्यार्थी पनि यहाँ उच्च शिक्षा र प्रारम्भीक शिक्षा समेत अध्ययन गर्न आउने गर्दछन् । नगरले ग्रामीण भेगलाई लक्षित गरि शिक्षा नीति अवलम्बन गरि अगाडि बढिरहेकाले शैक्षिक गुणस्तर सुधारमा उल्लेख्य नतिजा हासिल गर्न सकिएको नगरपालिकाकी उपप्रमूख गीता बञ्जराले बताइन् ।

प्रतिक्रिया