पहिरोले नवलपुरमा पहाडी क्षेत्रको बाटो अवरुद्ध

कावासोती । अविरल वर्षाका कारण झरेको पहिरोका कारण नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्रको बाटो अवरुद्ध भएको छ । नवलपुरको दलदले–कुमसोत– पोखरी हुँदै पहाडी गाउँपालिका बौँदिकाली र बुलिङटार जाने बाटो पहिरोले अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए ।

कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका–५, पांग्रेमा पहिरो खसेको कारण बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । पानी परिरहेको र पहिरो झर्ने क्रमसमेत नरोकिएकाले तत्काल उक्त सडकखण्ड सञ्चालन हुने सम्भावना नरहेको उनको भनाइ थियो ।

जिल्लाको पहाडी क्षेत्रअन्तर्गत पर्ने बौँदिकाली गाउँपालिका र बुलिङटार गाउँपालिकालाई सदरमुकामसँग जोड्ने सडक पहिरोले अवरुद्ध भएपछि दुई गाउँपालिकाको सदरमुकामसँगको यातायात सम्पर्क टुटेको छ ।

यो सडकखण्डको स्तरोन्नति हुन नसक्दा वर्षाको समयमा पहाडी क्षेत्रको यातायात सम्पर्क सदरमुकामसँग टुट्दै आएको छ । पांग्रेसहित पोखरी–डेढगाउँ र पोखरी–बुलिङखण्डमा समेत यातायात सञ्चालन कठिन भएको छ । अन्य स्थानमा समेत ठाउँ–ठाउँमा साना साना पहिरो झरेको छ ।

यसैगरी पहाडी क्षेत्रको वैकल्पिक मार्गका रुपमा रहेको कालीगण्डकी करिडोरसमेत अवरुद्ध भएको छ । गैँडाकोटदेखि बुलिङटार हुँदै डेढगाउँलाई जोडेको कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरो र यस खण्डमा पर्ने खोलाहरूमा आएको बाढीका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पाठकले बताए ।

दुवै तर्फका सडक तत्काल पूर्णरुपमा सञ्चालनमा आउन सक्ने सम्भावना नरहेको उनले जानकारी दिए । पहाडी क्षेत्रलाई जोड्ने सडक अवरुद्ध भएपछि सो क्षेत्रका बासिन्दा सदरमुकाम आउन परे तनहुँको भिमान– खैरेनीटार–मुग्लिन–नारायणगढ हुँदै कावासोती आउनुपर्ने बाध्यता भएको छ ।

यता पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा एकतर्फी यातायात सञ्चालन गरिएको छ । पहिरो पन्छाउने काम चलिरहेको र राजमार्ग पूर्णरुपमा सञ्चालन हुन समय लाग्ने प्रहरी नायब उपरीक्षक पाठकले बताए ।

प्रतिक्रिया