
गुल्मी । जिल्लाको कालीगण्डकी गाउँपालिका–७ की ३७ वर्षीया छविकला थापा गत १८ वैशाखमा घरबाट हिँडिन् । उनी आफू मात्रै हिँडिनन् आठ वर्षीया छोरी पूजालाई पनि सँगै लिएर गइन् । छविकला आउने आशामा परिवारले झन्डै १५ दिनसम्म धेरै ठाउँमा खोजतलास गरे पनि फेला पारेनन् ।
४ जेठमा देवर भीम बहादुरले जिल्ला प्रहरी कार्यालयमा भाउजू हराएकाले खोजिदिन निवेदन दिए । भाउजू आफूखुसी भागेर हिँडेको पीडकको निवेदनमा उल्लेख थियो । छविकलालाई परिवार, स्थानीयवासिन्दा एवं प्रहरीले हराएको सूचीमा राखेर खोजी गरिरहे पनि अहिलेसम्म उनी फेला परेकी छैनन् ।
रेसुंगा नगरपालिका–८ की ईश्वरी कार्की पनि गत ८ जेठमा घरबाट हिँडिन् । ३४ वर्षीया उनले पनि दुई वर्षीया छोरीलाई सँगै लिएर गइन् । सोही दिननै श्रीमान् नारायण कार्कीले जिल्ला प्रहरी कार्यालयमा श्रीमतीको खोजी गरिदिन आग्रह गर्दै उजुरी दिए । ईश्वरी हराएको दुई महिना हुँदा पनि अहिलेसम्म अत्तोपत्तो छैन । उनलाई प्रहरी र आफन्तले खोजिरहेका छन् ।
थापा र कार्की त हराएर नभेटिने मध्येका केही प्रतिनिधिमूलक पात्र मात्रै हुन् । पछिल्लो तीन वर्षको अवधिमा जिल्लामा ३ सय ३९ जना हराएका थिए । आर्थिक वर्ष ०७६÷७७ देखि ०७८÷७९ सम्म उक्त संख्यामा महिला, बालक, बालिका र वृद्ध हराएका हुन् । हराएकामध्ये पनि २२ जना अझै भेटिएका छैनन् । बाँकी ३ सय २४ जना सम्पर्कमा आएका थिए । आर्थिक वर्ष ०७६÷७७ मा ६९ महिला, सात बालक, २१ बालिका र वृद्ध गरी कुल १ सय ८ जना हराएका थिए । हराएकामध्ये सबै सम्पर्कमा आएका थिए ।
आर्थिक वर्ष ०७७÷७८ मा ७३ महिला, पाँच बालक, १० बालिका र चार वृद्ध गरी कुल ९२ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये चार महिला, एक बालक र दुई वृद्ध गरी सात जना अझैसम्म पनि नभेटिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । त्यस्तै आव ०७८÷७९ मा ९५ महिला, ११ बालक, ३० बालिका र तीन वृद्ध गरी १ सय ३९ जना हराएका थिए । तीमध्ये १० महिला, नौ बालक र तीन बालिका गरी १५ जना अझैसम्म पनि नभेटिएको उक्त कार्यालयका सूचना अधिकारी (डिएसपी) माधवराज खरेलले जानकारी दिए । हराएकामध्ये अधिकांश १७ देखि ४० वर्षसम्मका महिला थिए ।
श्रीमान् वैदेशिक रोजगारीमा गएका कारण श्रीमती परपुरुषसँग लागेर भागेको घटना धेरै हुने गरेको उनले बताए । त्यसका साथै घरेलु हिंसा, उमेर नपुग्दै प्रेम गर्ने र भागी विवाह गर्नेलगायत कारणले महिलाहरू हराउने गरेको पाइएको छ ।
यस्तो समस्या समाधानका लागि स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने, महिलाहरूलाई आत्मनिर्भर बनाउनेलगायत कार्य गरिए मानिस हराउने संख्यामा कमी आउने सूचना अधिकारी खरेलको भनाइ थियो । । हराएका मानिसहरू पत्ता लगाउनका लागि उनीहरूको मोबाइल, फेसबुक, इन्टरनेटका साथै देशका अन्य ठाउँका प्रहरीलगायत स्रोतहरू परिचालन गरिएको गरिएको पनि उनले जानकारी दिए ।
प्रतिक्रिया