वास्तविक हत्यारासम्म पुग्न सकेन प्रहरी

निर्मला हत्याको चार वर्ष

काठमाडौं । कञ्चनपुर भीमदत्त नगरपालिकाकी किशोरी निर्मला पन्तको हत्या भएको चार वर्ष पुगिसक्दा पनि प्रहरी अझै अनुसन्धानमै छ । यस विषयमा प्रहरीको जहिल्यै रेडिमेट जफाव आउँछ, ‘अनुसन्धान जारी छ ।’ ०७५ साउन १० मा भीमदत्त–१८, निम्बुखेडास्थित साथीको घर गएकी भीमदत्त–२ उल्टाखामकी निर्मला सोही दिनदेखि बेपत्ता भएकी थिइन् । भोलिपल्ट स्थानीयले घर नजिकैको उखुबारीमा हत्या गरिएको अवस्थामा शव फेला परेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी अनुसन्धानमा उनको बलात्कारपछि हत्या भएको पुष्टी भएको थियो । घटनापछि प्रहरीका चार नेतृत्व फेरिए । तत्कालीन प्रहरी नेतृत्वमा थिए, सर्वेन्द्र खनाल । तत्कालीन प्रहरी महानिरीक्षक खनालले त कञ्चनपुर पुगेरै निर्मलाका आफन्त भेटेर अपराधी पत्ता लगाउने आश्वासन दिएका थिए । उनकै कार्यकालमा दिलीपसिंह विष्टलाई अभियुक्त भन्दै प्रहरीले सार्वजनिक ग¥यो । डिएनए नमिलेपछि विष्ट छुटे । खनालपछि पछि झन्डै ६ महिना ठाकुर ज्ञवालीले प्रहरीको नेतृत्व सम्हाले । उनले निर्मलाको हत्या अनुसन्धानमा ध्यान दिनै पाएनन् ।

सरुवा—बढुवा अन्य प्रशासनिक काममै उनी अवकाशमा पुगे । ज्ञवालीपछि शैलेश थापाक्षेत्रीले प्रहरी नेतृत्व सम्हाले । उनले पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पठाएर अनुसन्धान गर्न लगाए । तर नतिजा हात लाग्यो, शून्य ।

अहिले प्रहरी नेतृत्वमा छन्, धीरजप्रताप सिंह । उनले पहिलो पत्रकार सम्मेलनमै भनेका थिए, ‘निर्मला पन्तको हत्या पत्ता लगाउनु मेरो मुख्य काम हुनेछ ।’ अहिले पनि सिआइबीको टोली जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेर अनुसन्धान गरिरहेको छ । त्यसो त प्रहरीले यसअघि अनुसन्धान नगरेको होइन । तर, प्रहरी वास्तविक हत्यारासम्म पुग्न सेकेको छैन । अनुसन्धानका क्रममा प्रमाण नष्ट गरेको र नक्कली अभियुक्त खडा गरेको आरोपमा डिएसपी अंगुर जिसीसहित केही प्रहरी अधिकारी निलम्बित भए ।

तत्कालीन कञ्चनपुर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी डिल्लीराज विष्ट निलम्बनसँगै बर्खास्तीमासमेत परे । अहिले विष्ट पुनर्वहाली हुँदै एसएसपीमा समेत बढुवा भइसके । तर, निर्मलाको हत्यारा पत्ता लागेको छैन । सिआइबीबाटै खटिएका एक अनुसन्धान अधिकृतले भन्छन्, ‘हिजो के अनुसन्धान भयो, त्यो पनि हेरिरहेका छौँ । तर, अहिलेसम्मका अनुसन्धानले वास्तविक हत्यारा पत्ता लगाउने नजिकको ‘क्लु’ समेत फेला पार्न सकेको छैन ।’

हामी अनुसन्धानमै छौँ : डिआइजी टेकप्रसाद राई (प्रवक्ता, नेपाल प्रहरी)

डिआइजी टेकप्रसाद राई (प्रवक्ता, नेपाल प्रहरी)

अनुसन्धान भनेको नतिजा आएपछि मात्रै शतप्रतिशत हुन्छ । जिल्ला प्रहरीले त अहिले पनि अनुसन्धान गरिरहेकै छ । हामीले केन्द्रदेखि सिआइबीको टोली पठाएका छौँ । जिल्लाको नेतृत्व परिवर्तन भएपछि अनुसन्धान केही प्रभावित हुनु स्वभाविक हो । त्यैपनि अनुसन्धान रोकिएको छैन । हालसम्म नेपाल प्रहरीले निर्मलाकै घटनालाई लिएर ६ सय ३६ जनालाई सोधपुछ गरिसकेको छ । नेपाल प्रहरीको इतिहासमा एउटै घटनामा १ सय ७ जनाको डिएनए टेस्ट गरिएको छ । अहिले पनि तीन जना आशंकित व्यक्तिको डिएनए टेस्ट गरेर स्याम्पल प्रयोगशालामा पठाइएको छ ।

हामीले आशंकित व्यक्तिहरूको स्क्रिनिङ गर्ने काम गरिरहेका छौँ । त्यो बाहेक नेपाल प्रहरीको पूर्वअनुभवीलाई लिएर अनुसन्धान गरिरहेको छ । घटनामा ठूला मान्छेको संलग्नता रहेकाले प्रहरीले अभियुक्त पक्राउ गर्न सकेन भन्ने बाहिरी हल्ला छ । त्यो साँचो होइन । गम्भीर प्रकृतिका अपराधमा जो कोही भए पनि अनुसन्धानको दायरमा आउँछ र ल्याउँछौँ पनि । अनुसन्धानले दोषी प्रमाणित गरे जो कोही पनि कानुनी दायरामा आउँछ । हामी चाँडै नै यो घटनाको दोषी पत्ता लगाउन प्रतिबद्ध छौैँ ।

चार वर्षपछि पनि सांसदमा चर्चा

सांसदहरूले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी पक्राउ नपरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । हत्या भएको चार वर्ष पूरा भइसक्दा पनि दोषी पक्राउ पर्न नसकेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिनिधिसभाको जारी बैठकमा सांसदहरू केदार सिग्देल र गंगा चौधरीले चार वर्ष पूरा भइसक्दा पनि निर्मला हत्या घटनाको दोषी पक्राउ पर्न नसक्नु दुःखद् भएको बताए । तत्कालीन केपी शर्मा ओली सरकारले हत्यारालाई छुट दिन खोजेको आरोप लगाउने तत्कालीन प्रतिपक्षी दलका सांसदहरूको आवाज अहिले सत्तामा पुगेपछि बन्द भएको उनीहरूको आरोप छ ।

सांसद सिग्देलले देउवा सरकारले यो एक वर्षसम्म अपराधी पत्ता लगाउन के के काम ग¥यो भन्दै प्रश्नसमेत गरेका छन् । उनले अपराधी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरे । सांसद चौधरीले निर्मला पन्तले न्याय पाएकी हुन् ? भन्दै प्रश्न गरेकी छन् ।

‘सदनमा चर्कोचर्को आवाज गुन्जिन्थ्यो, त्यो आवाज खोज्दैछु, निर्मला पन्तले न्याय पाएकै हुन् ? हत्यारा पत्ता लागेकै हो ?,’ उनले प्रश्न गरिन्, ‘हत्यारा पत्ता लागेको हो भने कुन कारागारमा राखेको छ ? दोषीलाई किन सार्वजनिक गरेको छैन ?’

छोरीको हत्यारा पत्ता नलाग्दै मर्छु होला : दुर्गा पन्त (निर्मलाकी आमा)

परिवारमा तीन वटी छोरी । निर्मला माइली । बिर्सनै नसक्ने घटना भयो । प्रशासन धेरै धाइयो । मेरा घरमा मिडिया, मानवअधिकारकर्मी, प्रहरी प्रशासन र छानविन समितिका ओइरो लागे । तर, उनीहरूले आफ्नो मात्रै काम गरे । खै त चार वर्ष बितिसक्यो ? मेरो छोरीलाई कसले बलात्कार गरेर मा¥यो ? अझै पत्ता लागेन । हुर्के बढेकी छोरीको विभत्स हत्याले अहिले पनि मेरो मन कुँडिन्छ । सरकारले देखावटी रूपमा राहत दियो । गएको फागुनदेखि मलाई कोही सोध्न आएको छैन ।

दुर्गा पन्त (निर्मलाकी आमा)

अनुसन्धानमा संलग्न प्रशासन पनि कोही आएनन् । मेरो परिवारमा जुन घटना घट्यो, त्यस्तो कसैलाई नहोस् । अहिले मलाई परेको छ । भोलि अरूलाई पनि होला । छोरी सम्झँदा खान मन लाग्दैन । निन्द्रा लाग्दैन । कति सम्झिउँ । दुई छोरी छन् । उनीहरूलाई पनि पढाउनु प¥यो । खुवाउनु प¥यो । पेट पाल्ने चिन्ता त छँदै छ । छोरी कसले मा¥यो त्यो पत्ता नलाग्दै मर्छु कि भन्ने चिन्ता छ ।

म गरिब परिवारको भएर पो सरकारले अनुसन्धानमा हेलचक्राई गरेको हो कि भन्ने पनि लाग्छ ? कसैले भनेको सुन्छु, छोरीको हत्यामा ठूलै मान्छेको संलग्नता छ रे ? तर, जो सुकै भए पनि कानुनभन्दा ठूलो के होला र ? आशा अझै मरेको छैन । सरकारले जतिसक्दो चाँडो पत्ता लगाएर मेरो छोरीको हत्यारा अगाडि उभ्याइदियोस् ।

चार वर्षमा के के भयो ?

० ०७५ साउन १० : कञ्चनपुर भीमदत्त नगरपालिकाका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको बलात्कारपछि हत्या

० साउन ११: निर्मलाको शव फेला

० भदौ २: घटनामा संलग्न भएको आरोपमा दिलीपसिंह विष्ट पक्राउ

० ०७५ भदौ ५: कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा छानविन समिति गठन

० भदौ ८: निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न आन्दोलनमा उत्रिएका १४ वर्षीय सन्नी खुनाको गोली हानी हत्या ।

० भदौ १०: पन्त र सन्नीको परिवारलाई क्षतिपूर्तिसहित १० लाख रुपैयाँ राहत दिने निर्णय

० भदौ २८: एसपी डिल्लीराज विष्ट, उनका छोरा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षण

० भदौ ३०: एसपी डिल्ली राज विष्टसहित पाँच जना प्रहरी निलम्बन

० भदौ ३१: एसपी उत्तमराज सुवेदीको नेतृत्वको समिति विस्तार गरि एआइजी धिरु बस्नेतको संयजकत्वमा नयाँ समिति गठन

० असोज १४: एसपी विष्टसहित अन्यको डिएनए मेल नखाएको पुष्टी

० असोज २२: घटनास्थलबाट प्रमाण नष्ट गरेको आरोपमा सई हरिहर सिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बन

० ०७६ माघ १७ : मा डिआइजी सुरज केसीको संयजकत्वमा पुनरावलोकन समिति गठन

० माघ १९ : निर्मला पन्तको घटनाबारे डिआइजी केसी नेतृत्वको गठित पुनरावलोकन समितिको प्रतिवेदन स्वीकार गरी यसअघि बस्नेत समितिको प्रतिवेदन खारेज गर्ने निर्णय

० ०७८ : एसपी डिल्लीराज विष्टसहित सबै प्रहरी निलम्बनबाट फुकुवा । बर्खास्तीमा परेका विष्टको जागिर पुनर्बहाली

० ०७९ असार : एसपी डिल्लीराज विष्ट एसएसपीमा बढुवा सिफारिस


याे पनि :

निर्मला हत्याकाण्डको ३ वर्ष : दोषीको कठालोमा अझै पुगेन प्रहरीको हात

निर्मला पन्तकाे हत्यारा चाँडाे पत्ता लगाउन प्रधानमन्त्री देउवाकाे निर्देशन

निर्मला पन्त हत्या प्रकरण तीन वर्ष : अझै पत्ता लागेन अपराधी

निर्मलाको परिवारले न्याय पाउने कहिले ?

दुई वर्ष बितिसक्दा पनि अझै समातिएन निर्मला पन्तको हत्यारा

निर्मला पन्त हत्या प्रकरणः डिल्लीराज विष्टसहित आठ प्रहरीलाई सफाइ

निर्मला पन्तलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

प्रतिक्रिया