साउन महिना लागेसँगै हरियो पहिरनमा सजिएका महिला भक्तजनको भिड शिव मन्दिरहरूमा खचाखच देखिने गरेको छ । मन्दिरको दर्शन गर्न जाँदा मात्रै होइन, अघिपछि पनि साउन महिनामा हरियो पहिरन लगाउने प्रचलन बढेको छ । धार्मिक दृष्टिले साउनलाई शिवजीको भक्ति गर्ने महिनाको रूपमा चिनिन्छ । तर शिवजीको भक्तिसँग हरियो पहिरनको संबन्धका सन्दर्भमा धार्मिक ग्रन्थमा केही कुरा उल्लेख छैन । साउन महिनामा नाडीभरी हरिया चुरा, गलामा हरियो पोते, हरियो साडी लगाउने प्रचलन पुरानो होइन, भारतमा करिब आधा शताव्दीअघि सुरु भएको यो प्रचलन नेपालमा भित्रिएको करिब एकदशक भएको छ ।
भदौ भरी रातो पहिरन लगाउने लहर नेपालमा भित्रिएको भने करिब तीन दशक अघिदेखि हो । रातो पहिरन महिलाको सौभाग्यको प्रतिक मानिएको छ । साउनमा हरियो पहिरन र भदौमा रातो पहिरनसँग धार्मिक मान्यता खासै जोडिएको पाइँदैन, तर प्राकृतिक रूपमा भने केही न केही साइनो छ । समाज विकासको सुरुआती चरणमा पहिरन भनेको शरीर ढाक्ने साधन मात्रै थियो, तर समाज विकासले फड्को मारेसँगै पहिरनलाई शरीर ढाक्ने साधनका रूपमा मात्रै नलिएर सौन्दर्यका रूपमा पनि लिन थालियो । कुन बेला कस्तो पहिरन लगाउ“दा सौन्दर्य बढ्छ ? भन्ने अध्ययनका साथ व्यापारीहरूले विभिन्न खालका फेसनहरू डिजाइन गर्न थाले । आफ्नो उत्पादनको बजार वृद्धिका लागि नयाँ नयाँ तरिका अपनाउन थालियो । पछिल्ला दशकहरूमा व्यापक बन्दै गएको साउनमा हरियो र भदौमा रातो पहिरन लगाउने प्रचलन व्यापारसँग संबन्धित हुन पुग्यो ।
नेपाल यसै पनि चाडपर्वको धनी मुलुक हो । चाडपर्वमा राम्रो लगाउने मीठो मसिनो खाने प्रचलन पुरानै हो । तर, साउने सक्रान्ति तथा साउनको सोमबारका दिन मात्रै मनाइने पर्व साउन महिनाभरी विस्तार भयो । तीजको तीन दिन मात्रै मनाइने हरितालिका पर्व भदौ महिना भरी विस्तार भयो । जसका कारण चाडपर्वहरू आर्थिक रूपले महँगा भए । आर्थिक गतिविधि त बढ्न थाल्यो, तर फाइदा भने विदेशी उत्पादनलाई भयो । पहिले पहिले हाम्रा चाडपर्वमा स्वदेशी उत्पादनहरू प्रयोग हुन्थे, अब प्रायः सबैजसो विदेशी उत्पादन मात्रै प्रयोग हुन थालेका छन् । चुरा, पोते, साडी लगायतका बस्तुहरू नेपालमा उत्पादन हुँदैनन् । नेपालमै उत्पादन हुने गरगहना लगाउने प्रचलनलाई विदेशी उत्पादनले विस्थापित गरेका छन् । स्वदेशी उत्पादन वृद्धि भएको छैन, तर उपभोग अत्यधिक वृद्धि भएको छ । जसका कारण बर्सेनि ठूलो परिमाणमा रकम बिदेसिएको छ । अत्यावश्यक बस्तुको तुलनामा विलासिताका बस्तुहरूको आयात ह्वात्तै बढेको छ । सौन्दर्य साधनहरूको आयात हरेक वर्ष करिब दोब्बर वृद्धि भइरहेको छ ।
सुन्दर देखिने चाहनासँगै महँगा बस्तुहरू प्रयोग गर्ने होडबाजी महिलाहरूमा बढ्दै जानुमा विविधि कारणहरू छन् । यी कारणहरूलाई नजरअन्दाज गर्न मिल्दैन । तर, मुलुकको अर्थतन्त्रले कतिसम्म धान्न सक्छ ? भन्ने प्रश्नको पनि महत्वपूर्ण छ । कुल जनसंख्याको करिव २० प्रतिशत गरिबीको रेखामुनि छन् । छोराछोरी पढाउने खर्च कटाएर वा ऋण गरेरै भए पनि चाडपर्व मनाउने संस्कृति छ हाम्रो । धनी वर्गले चाडपर्वलाई फेसन प्रदर्शनको रूपमा प्रयोग गरिदिँदा न्यून आय भएको वर्गलाई मनोवैज्ञानिक असर पर्नु स्वभाविकै हो । सौन्दर्य साधन किन्नका लागि देह व्यापार गर्न विपन्न वर्गका छोरी चेलीहरूलाई वाध्य पारिएको त छैन ? भन्ने कुरा उपल्लो वर्गका शिक्षित महिलाहरूले सोच्नै पर्छ । खास गरी नीति निर्माण तहमा पुगेका, समाजको अगुवाका रूपमा रहेका, अथवा समाजले सेलिब्रेटी मानेका महिलाहरूले यस विषयमा सोच्नु जरुरी छ । नेतृत्व तहमा रहेका महिलाहरूले भड्किलो पहिरन लगाइदिँदा त्यसको असर तलसम्म पर्छ । यो कुराको ख्याल नेपालको कम्युनिस्ट तप्काका महिला नेतृहरूले विगतमा आत्मसात गरेको देखिन्थ्यो ।
गहना, सिन्दुर, चुरा, पोते जन्जिर हुन्, स्वतन्त्र जीवन बाँच्न तिनबाट मुक्त हुनुपर्छ भन्ने सन्देश उनीहरूले समाजमा दिएका थिए । माओवादीले जनयुद्धका बेला मेकअप गर्ने, गहना पहिरिने महिला पुरुषका दास हुन् भन्ने सन्देश प्रवाह गर्दै गरिब जनताको मन जितेको थियो । त्यतिबेला माओवादी महिलाहरू अत्यन्त सामान्य पहिरनमा गरिब जनताको घरआँगनमा देखिन्थे । तर, अहिले तिनै पम्फा भुसालको तडकभडक तथा पहिरन कुनै फेसन मोडलको भन्दा कम छैन । सबैभन्दा उदाहरणीय बन्नुपर्ने राष्ट्रपति विद्या भण्डारीको फेसन पनि ०४८ सालअघिकोे तुलनामा आनको तान फरक छ ।
आप्mना सहकर्मी र कार्यकर्तालाई सादगीको प्रशिक्षण दिँदै एउटा मालाका साथ मुठ्ठी उठाएर विवाह गराउने कम्युनिस्ट नेताहरूले आप्mना छोरीहरूलाई बनारसी सारी र झरझुट्टै गहनामा अन्माएर पठाउने प्रतिस्पर्धाले समाजलाई गिज्याइरहेको छ ।
प्रतिक्रिया